राजनीतिसमाचार

सत्य निरूपण विधेयक संसदमा पेस गर्नुपर्छ :रमेश लेखक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आगामी अधिवेशनको पहिलो दिन नै सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक (टिआरसी) संसदमा पेस गर्नुपर्ने बताउनुभएको छ । बिहीबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

प्रमुख सचेतक लेखकले पीडितको कुरा पनि अब सुनिसकेकाले पीडितमैत्री हुनेगरी विधेयक संसदमा प्रस्तुत गर्नुपर्ने बताउनुभयो । उहाँले पीडितहरूले अब धैर्यता गर्न नसकिने भनिरहेकाले संसद् सञ्चालन हुनु भन्दा पहिला नै सहमति जुटाएर संसदमा पेस गर्न आवश्यक रहेको जानकारी दिनुभयो ।उहाँले पीडितहरूले टिआरसी विधेयकमा शब्दमा खेलेर राजनीति नगर्न चेतावनी दिइरहेका र विश्वमञ्चले पनि बारम्बार जिज्ञासा राख्ने गरेकाले यो विषयलाई चाँडै टुङ्गो लगाउनुपर्ने बताउनुभयो । उहाँले सहमति नजुटे प्रक्रियामा जानुपर्ने र प्रक्रियामा जानका लागि कुनै डर मान्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

प्रमुख सचेतक लेखकले कुनैपनि विधेयकलाई अनावश्यक रोकिरहने कुरा राम्रो नहुने बताउनुभयो ।

Related Articles

Back to top button