अर्थतन्त्र

सुस्तायो अर्थतन्त्र,आकासियो महङ्गी

ललितपुर,२९ मङ्सिर ०७८/ देशको अर्थतन्त्रका धेरै सूचक नकारात्मकतर्फ रहेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । नेपाल राष्ट्र बैंकले आज बुधवार सार्वजनिक गरेको कात्तिक महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार धेरै सूचक नकरात्मकतर्फ रहेको देखिएको हो ।

देशभित्रको उपभोक्ता मूल्य वृद्धि बढेको छ । कात्तिकमा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य वृद्धि पाँच दशमलव ३२ प्रतिशत पुगेको छ । मूल्य वृद्धि अघिल्लो वर्षको यही अवधिमा चार दशमलव शून्य पाँच प्रतिशतमा सीमित थियो ।

यस्तै अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स सात दशमलव सात प्रतिशतले घटेको छ । असोजमा पनि रेमिट्यान्स सात दशमलव ५ प्रतिशतले घटेको थियो । चालु खाताको घाटा दुई खर्ब २३ अर्ब १९ करोड पुगेको छ ।

यस्तै गएको वर्षको यही अवधिमा देशको चालु खाता १९ अर्ब एक करोड रुपैयाँले बचतमा थियो । देशमा भित्रिने र बाहिरिने रकमबीचको अन्तर अर्थात शोधनान्तर स्थिति एक खर्ब ५० अर्ब ३८ करोड रुपैयाँले नोक्सानीमा पुगेको छ । असोजमा यस्तो घाटा ७६ अर्ब १४ करोड रुपैयाँ थियो ।

यस्तै विदेशी विनिमयको सञ्चिति १० अर्ब ४७ करोड डलर बराबरमा झरेको छ । यो असोजको तुलनामा ५१ करोड डलर कम हो । यस्तै कात्तिकसम्ममा सरकारले विकासका लागि छुट्याएको पुँजीगत खर्चमध्ये २० अर्ब ७९ करोड रुपैयाँमात्रै खर्च गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २९ दशमलव चार प्रतिशतले कमी हो । उज्यालो नेटवर्क

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button