कृषि

गोदावरी तरकारी तथा फलफुल व्यवसायी संघको कार्यालय उद्घाटन

ललितपुर , गोदावरी नगरपालिकाको चापागाउँमा अत्याधुनिक सुविधा र शीतभण्डार सहितको तरकारी बजार संचालनका लागि माग बढेको छ। शुक्रबार गोदावरी तरकारी तथा फलफुल व्यवसायी संघको कार्यालय उद्घाटन कार्यक्रममा उपस्थित सरोकारवालाहरुले दक्षिण ललितपुर बाट उत्पादित तरकारी तथा फलफूलको व्यवस्थित संकलन र बजारीकरणका लागि सिंगो दक्षिण ललितपुरको केन्द्रको रुपमा रहेको चापागाउँमा कालिमाटी तथा लगनखेलकै जस्तो तरकारी बजार अत्यावश्यक रहेकोमा जोड दिएका हुन्।

दक्षिण ललितपुरमा उत्पादित प्राङ्गारिक तरकारी तथा फलफुल सिधै कालिमाटी तथा राजधानीका अन्य ठूला बजारमा पुग्ने र चापागाउँ लगायतका व्यवसायीहरुले त्यही तरकारी कालिमाटी बाट खरिद गरेर ल्याउँदा उपभोक्तालाई महँगो पर्ने, गुणस्तरीय नपाउने लगायतका समस्या समाधानका लागि चापागाउँमा विगत देखि नै तरकारी बजार निर्माणको माग भई आएको चापागाउँका स्थानीय कृष्ण प्रसाद घिमिरेले बताए। विगत ३० वर्ष देखि नै स्थानीय स्तरमा उत्पादित तरकारी तथा फलफूलको एकीकृत बजारीकरणका लागि पहल भएको उनले बताए।

यसैगरी जिल्ला कृषि सहकारी संघका कोषाध्यक्ष चित्रराज तिमल्सिनाले केही वर्षअघि तत्कालीन चापागाउँ गाविससंगको समन्वयमा चापागाउँमै रहेको तर उपयोगमा आउन नसकी फोहोर फाल्ने स्थानको रुपमा रहेको सार्वजनिक जग्गामा सानो तरकारी बजारको स्थापना गरिएको स्मरण गरे। साथै उनले कृषि उपज बजार सञ्चालक समितिले यहाँका किसान र व्यवसायीको हकहितको लागि निरन्तर आवाज उठाउँदै र सरकारको ध्यानाकर्षण गराउंदै आएको समेत बताए। अहिले पनि किसान तथा व्यवसायीहरुको हकहितको लागि समितिले निरन्तर आवाज उठाईरहेको र सम्बन्धित निकायमा खबरदारी गरिरहेको तिमल्सिनाको भनाई छ।

प्रयोगमा नआई उपयोगविहीन अवास्य्थामा रहेको १५ रोपनी सार्वजनिक जग्गामा आफूहरुको निरन्तर पहल र खबरदारीमा सानै भए तापनि तरकारी बजार स्थापना गरिएको उनले बताए। अन्य व्यक्तिहरुले उक्त स्थानमा पार्क , बसपार्क तथा खेल मैदान बनाउने भनी दबाब दिँदा समेत आफुहरुले व्यवसायी तथा किसानको सर्वोपरी हितको लागि तरकारी बजारको स्थापना गरेको उनको दावी थियो। साथै अहिलेको अवस्थामा सानो बजारले यहाँको माग धान्न नसकेको अवस्था तथा शीतभण्डारको लागि बालाजु सम्म पुग्नुपर्ने भएका कारण चापागाउँमा नै व्यवस्थित शौचालय, अन्डरग्राउण्ड पार्किङ्ग सहितको व्यवस्थित शीतभण्डार र तरकारी बजार स्थापना गर्नका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने तिमल्सिनाको माग छ।

यसैगरी कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष तथा ललितपुर तरकारी तथा फलफुल व्यवसायी संघका अध्यक्ष कृष्ण प्रसाद संजेलले चापागाउँमा तरकारी तथा फलफुल बजार स्थापना गरी स्थानीय उत्पादनको प्रवर्धन र बजारीकरणमा स्थानीयको तदारुकताका साथै स्थानीय सरकारको सहयोग हुनुपर्ने माग गरे। साथै गोदावरी नगरपालिकाले उक्त स्थानमा तरकारी बजारको स्थापनाका लागि १ करोड रुपयाँ विनियोजन गरिसकेको भन्दै उक्त कार्यक्रम सफल बनाउन सबै लाग्नुपर्ने उनको भनाई छ।

कार्यक्रमको विशेष अतिथि रहेका गोदावरी उद्योग वाणिज्य संघका अध्यक्ष जगन्नाथ महर्जनले भर्खरै गठन भएको नयाँ गोदावरी तरकारी तथा फलफुल व्यवसायी संघलाई सफलताको शुभकामना व्यक्त गर्दै उद्योग वाणिज्य संघले पनि कृषिको विस्तार गर्दै साना व्यवसायी र किसानको उत्पादन प्रवर्धनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै यस क्षेत्रको कृषि उत्पादन तथा प्रवर्धनमा महिलाहरुको अतुलनीय योगदान र भूमिका रहेको भन्दै महर्जनले उद्योग वाणिज्य संघले पनि बिजिनेस क्लिनिकमार्फत व्यवसायीलाई सक्षम बनाउने कार्यक्रमहरु संचालन गरिरहेको बताए। यसैगरी संघले गोदावरी नगरपालिकासंगको सहकार्यमा महिला उद्यमशीलता कार्यक्रम संचालन गरिरहेको महर्जनको भनाई थियो । महर्जनले गोदावरी नगरपालिकाभित्र चापागाउँ र गोदावरीमा गरी २ वटा तरकारी बजारको आवश्यकता रहेकोमा जोड दिएका छन्।

गोदावरी तरकारी तथा फलफुल व्यवसायी संघको नयाँ कार्यालय उद्घाटन गर्दै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले आफ्नो चाहना र योजना बमोजिम नै व्यवसायी र किसानको हितका लागि तरकारी बजार स्थापनाको प्रकिया अगाडी बढ्नु गौरवको विषय भएको र यसले नगरको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गरे। दक्षिण ललितपुर तथा चापागाउँमा उत्पादन भएका तरकारीलाई स्थानीय स्तरमै संकलन र बजारीकरण गर्नुपर्ने र त्यसबाट बाँकी रहेको सामग्री मात्र अन्य बजारमा पठाउनुपर्ने उनको भनाई थियो। साथै तरकारी बजार स्थापनाको लागि आफ्नो र नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता नगरप्रमुख महर्जनले गरेका छन्।

भर्खरै स्थापना भएको गोदावरी तरकारी तथा फलफुल व्यवसायी संघले किसन तथा व्यवसायीको हितका लागि व्यवस्थित तरकारी बजार स्थापनाको लागि समन्वय गर्ने र यस क्षेत्रको विकासमा सहयोग पुर्याउने संघका अध्यक्ष खोमप्रसाद दाहालले जानकारी दिएका छन्।प्रणाम खबर बाट

Related Articles

Back to top button