शिक्षा

जिजीविषामा छन् राणाकालीन विद्यालय

प्रकृति अधिकारी ,नेपालको शिक्षाको इतिहासलाई राणाकालभन्दा अघिको, राणाकालीन र राणाकालभन्दा पछिको गरी तीन कालमा वर्गीकरण गर्न सकिन्छ । राणाकाल र त्यसपछि हालसम्मको समयभन्दा राणाकालअघिको समय लामो भए पनि शैक्षिक इतिहासको विकासक्रमको अवस्था हेर्दा तीनवटै काललाई अन्याय हुँदैन । प्रारम्भिक अवधि अर्थात् राणाकालभन्दा अघि शिक्षाको जग बस्यो ।राणाकालमा औपचारिक वा आधुनिक शिक्षाको सुभारम्भ भयो । राणाकालको अन्त्यपछि शिक्षाले फड्को मा¥यो । २००७ सालअघिसम्म मुलुकमा साक्षरको जनसङ्ख्या तीन प्रतिशत पनि पुगेको थिएन । तिनताका रोजगारीका लागिभन्दा आफू साक्षर हुने मान्यता प्रमुख थियो । राणाकालको अन्त्यपछि २०७२ सालसम्म आइपुग्दा ६५ वर्षमात्र गुजारिएको छ । तुलनात्मक रुपमा यो अवधि निकै संक्षिप्त हो । त्यसपछिका वर्षमा सरदर एक प्रतिशतका दरले साक्षर जनसङ्ख्या बृद्धि हुँदै गए पनि शिक्षाको आधुनिकीकरण, प्रविधिको प्रवेश, जनलहर र चासो लगायतका कुराले भलै संक्षिप्त कालखण्ड किन नहोस् यसको इतिहास एउटा अलग भाग बन्न सक्दछ र बन्नुपर्दछ ।

राणाकालअघिको चर्चा प्राचीन नेपालमा शास्त्रीय (वैदिक) शिक्षा थियो । मानवले ब्रह्मचर्य अवस्था अर्थात जीवनको एक चौथाइ समय शिक्षामा खर्चिनुपर्ने मान्यता थियो गुरुकुल शिक्षा पद्धतिको विकास भएको थियो।ब्राह्मणले शास्त्रविद्या लिने गर्दथे भने क्षत्रीले शास्त्रका साथमा शस्त्रविद्या पनि आर्जन गर्नुपर्ने हुन्थ्यो।अन्य जातजातीका लागि शिक्षाभन्दा काम र सेवाप्रतिको दक्षता हासिल गर्नुपर्थ्यो।

दलित जातिलाई शिक्षामाथि प्रतिवन्ध नै थियो ।गुरुकुलमा वेद, नीति, दर्शन, ज्योतिष, साहित्य,न्याय, व्याकरण जस्ता शास्त्रको अध्यापन हुन्थ्यो।गुरुकुल शिक्षाको अवशेष पछिसम्म नेपालमा रह्यो । पछिल्लो अवस्थामा आइपुग्दा गुरुकोआश्रममा बस्ने नभई घरबाटै गुरुको आश्रममा शिक्षा लिन जाने चलन थियो ।

पूर्व प्रधानसेनापति रकमाङ्गत कटवालको आत्मकथाको पृष्ठ ५२ मा लेखिएको यस प्रसङ्गले पनि प्रष्ट पार्दछ,
“त्यसबेलासम्म गुरुकुलको अवशेष बाँकी थियो । अन्न र खर्च बेसाएर औपचारिक स्कुल जाने हैसियत नभएकोले म गुरुकहाँ पढ्न थालेँ । मलाई गुरुको नाम हेक्का छैन । सबैले ‘पोखरेल गुरु’ भन्थे । म ठूला केटाकेटीको पछि लागेर झण्डै झण्डै एक घण्टा हिँडेर पोखरेल गुरुकहाँ पुग्थें । रित्तो कटेरोजस्तो कक्षाकोठा थियो । हामी गुरुलाई ढोगेर गच्छेअनुसार चामल, दाल, तिउनको भेटी चढाउँथ्यौँ । विद्यार्थीको स्वैच्छिक दानमा गुरुले चित्त सानो पार्नुभएको मलाई हेक्का छैन ।”

लिच्छवीकालमा प्रशासनको एक अंगका रुपमा रहेको अग्रहारको कार्यक्षेत्र शिक्षा थियो ।यसकालमा हिन्दूका साथै बौद्ध शिक्षाको विकास सुरु भइसकेको थियो । मल्लकालमा विशेष गरी राजप्रासाद सेवकहरु शिक्षित नभएमा काम चल्दैन थियो । त्यस्ता सेवकहरुले दरबारभित्रको लेखापढी वा वहीखाता दुरुस्त पार्नेदेखि राजाहरुका प्रसस्ती लेख्नेसम्मका काम पनि गर्दथे ।पृथ्वीनारायण शाहको उदयसँगै नेपालमा कुटिल राजनीति सुरु भइसकेको थियो ।

पाठ्यक्रम शास्त्रीय शिक्षामा आधारित थियो । साक्षर भइसकेकाहरु सबैलाई सरकारी सेवा सम्भव हुँदैन थियो । गाँउघरमा जजमानी गर्ने, प्रवचन दिने लगायतका कामबाट आफूले प्राप्त गरेको शिक्षालाई प्रयोग गर्ने गरेका थिए । धार्मिक ग्रन्थ तथा चिठीपत्र लेख्न पढ्न सक्ने र लेनदेनका साधारण हिसाबकिताब राख्नसक्ने भए पुग्ने अवस्था थियो । फेरी पूर्व प्रधानसेनापति कटवालले लेख्नुभएको अर्काे प्रसङ्ग उल्लेख गर्नु सान्दर्भिक ठानियो, “पछि काठमाडौँबाट थिरप्रसाद कोइराला गुरु आउनुभयो । पोखरेल गुरुजस्तै उहाँको पनि औपचारिक पाठ्यक्रम थिएन । दुनोट, रामायण, महाभारत, चण्डी, व्याकरण, अमरकोष,कोमुदी आदि घोकाउनुहुन्थ्यो । त्यसबेला रामायण, महाभारतका श्लोक भट्याउन र भर्पाइ, तमसुक लेख्न जान्ने भए विद्वानमै कहलिन्थ्यो ।”ब्राह्मण वा क्षेत्रीबाहेकका पनि शिक्षित थिए भन्ने प्रमाणका लागि पृथ्वीनारायण शाहको दिव्योपदेश पर्याप्त हुन्छ । त्यसमा लेखिएको “अदालथमा पनि ठकुरि जाचि डिष्ठा राष्नु, मगर जाचि विचारि थाप्नु, कचहरि पिछे यक्यक् पण्डित राषी निञासास्त्र बमोजिम् अदालथ चलाउनु” भन्नेबाट तत्कालीन अवस्थामा मगरहरु पनि शिक्षित थिए भन्ने प्रष्ट हुन्छ । इतिहास शिरोमणि बाबुराम आचार्यले पृथ्वीनारायण शाहको सो कथनका बारेमा यस्तो टिप्पणी गरेको पढ्न पाइन्छ, “लेखपढ जान्ने ठकुरीको कमी हुँदैनथ्यो तर त्यस्ता मगरहरुको कमी हुन्थ्यो। विचारीले घरबार छोडेर टाढाटाढा पुग्नुपर्ने हुनाले धनको लोभ नभएका मानिस विचारीमा नियुक्त हुन राजी हुँदैनथे । यसकारण यो कमी पूरा गर्नाका निमित्त जैसीब्राम्हणलाई नियुक्त गर्नुपर्दथ्यो । यिनीहरुमा फलित ज्योतिषको काम गर्ने वृत्ति लिएका पनि निकै पाइन्थे र लेखपढमा पनि कुशल हुनाले यिनीहरु विचारीका पदमा नियुक्त हुन अघि सर्दथे”।
क्रमश…….

( शिक्षा पत्रकार तथा लेखक प्रकृति अधिकारी बाट खोजमुलक यो लेख केही बर्ष अगाडि अमर रास्टृय मासिक बाट प्रकासित भैसकेको छ)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button