अर्थतन्त्र

नेपाल श्रीलंका जस्तै टाट पल्टने अवस्थामा, मुद्रा संचिति घट्दै

ललितपुर ,नेपाल श्रीलंकाको जस्तै टाट पल्टने अवस्थामा पुग्ने खतरा बढेको छ । अत्याधिक आयातले विदेशी मुद्राको संचिती घट्दै जाँदा अर्थतन्त्रमा विस्तारै संकटको खतरा बढेको हो ।

अर्थविदहरुले कुनैपनि बेला संकटको खतरा औल्याइसकेका छन् । मङ्गलबार रिपोर्टर्स क्लब नेपालमा अर्थविद्हरु चन्द्रमणि अधिकारी, डा. डिल्लीराज खनाललगायतले देशमा ठूलो आर्थिक संकट आउने खतरा औल्याएका छन् ।

पेट्रोलियम पदार्थ र सवारी साधनका अलावा पाटपूर्जामा मात्र वर्षेनी २ खर्बभन्दा बढी विदेशी मुद्रा बाहिरिने गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले साउन देखि माघभित्र मात्र डेढ खर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा विदेशिएको छ । इन्धनको मूल्य झन् बढ्दै जाँदा अझ बढी विदेशी मुद्रा बाहिरिने अवस्था छ ।

देशमा उत्पादन हुने चामल, गहुँ, भटमास, खाने तेल पनि आयात हुन थालेको छ । यी सामाग्रीमा मात्र अरबौं रकम बाहिरिने क्रम बढेको छ ।
परनिर्भरताको क्रम बढेसँगै देशबाट वार्षिक झण्डै १० खर्ब रुपैयाँ बराबरको रकम बाहिरिने प्रक्षेपण आएको छ । यति नै रकम देशमा विदेशबाट भित्रने अवस्था भने छैन । रेमिटेन्सको भरमा निर्भर अर्थतन्त्र कुनैपनि बेला धराशाही हुन सक्छ ।

विश्वमा आएको चरम आर्थिक संकटले रेमिटेन्समा समेत असर पर्न सक्छ । यसले विदेशी मुद्रा संचिती घट्न गई पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य सामाग्री समेत खरिद गर्न नसक्ने अवस्था आउन सक्छ ।

अर्कोतर्फ, नेपालले विदेशी ऋणहरु लिएको छ । पूर्वाधार विकासका लागि लिएका ऋणहरुको भारले नयाँ संकट आउन सक्छ । श्रीलंका विदेशी ऋणको भारले थिचिएको छ । नेपालमा पनि महत्वाकांक्षी आयोजनाहरु विदेशी ऋणले बनाइएका छन् । ऋणको ब्याज र साँवा तिर्नुपर्ने वाध्यता नै छ । त्यसले पनि विदेशी मुद्रोको संचिती घट्न सक्छ । यसकारण नेपाल श्रीलंकाको बाटोमा जानसक्ने खतरा बढेर गएको छ ।

अर्थविद् डा. चन्द्रमणि अधिकारीले बेलायत जस्तो देश नै आत्तिएको अवस्था रहेको तर्क गरेका छन् । नेपाल विश्व अर्थतन्त्रसँग परनिर्भर भइसकेकाले राम्रो संकेत नभएको बताए । नेपालको वैदेशिक ऋण बढेको तथ्यांक सुनाउँदै अर्थतन्त्रमा खतरा बढेको बताए । तर, श्रीलंकाको अवस्थामा पुगिहाल्छ भन्न नमिल्ने तर्क गरे ।

अर्थविद् डा. डिल्लीराज खनालले आर्थिक संकट आउँछ भनेर सुरु देखि भन्दै आएको बताए । उनले यसबारे बेवास्ता गरेमा श्रीलंकाको जस्तो हालतमा पुग्ने खतरा औल्याए ।रिपोटर्स नेपाल

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button