राजनीति

गोदावरीको मेयरमा एमालेबाट ८ जनाको दावी, राना बलियो उम्मेदवार

नवराज कार्की,ललितपुर आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ललितपुरको गोदावरी नगरपालिकाको प्रमुख र उपप्रमुखका लागि नेकपा एमालेको तर्फबाट धेरै आकांक्षीहरुले दावी प्रस्तुत गरेका छन् । एमालेको चापागाउँमा शनिबार भएको नगर कमिटि पूर्ण बैठकमा नगरको मेयरको लागि ८ र उपमेयरको लागि ६ जनाले दावी प्रस्तुत गरेका हुन्।

मेयरको लागि दावी गर्नेहरुमा हाल प्रदेश सांसद रहेका चेतनाथ सञ्जेल, जिल्ला कमिटि सदस्य तथा गोदावरी सहइन्चार्ज गम्बीर बहादुर राना, जिल्ला कमिटि सदस्य तथा जिल्ला नगर इन्चार्ज ब्रह्मानन्द श्रेष्ठ,प्रदेश कमिटि सदस्य तथा राष्ट्रिय भूपू सैनिक तथा प्रहरी संगठनका केन्द्रिय उपाध्यक्ष मिठाराम केसी, जिल्ला कमिटि सदस्य तथा साविक चापागाउँ गाविसका पूर्व अध्यक्ष चरसुन्दर महर्जन, प्रदेश कमिटि सदस्य रघुनाथ महर्जन, पार्टी नगर कमिटि अध्यक्ष प्रभाकर थापा तथा सहकारीकर्मी तथा च्याउ कृषक चित्रराज तिमल्सिना रहेका छन्।

यसैगरी उपमेयरको दावेदारी प्रस्तुत गर्नेहरुमा पार्टी जिल्ला कमिटि सचिवालय सदस्य तथा अखिल नेपाल महिला संघ (अनेमसं) की जिल्ला अध्यक्ष अन्नपूर्ण बस्नेत,वडा नं १३ की वडा सदस्य तथा अनेमसंकी नगर कमिटि अध्यक्ष गौरी अधिकारी केसी,पार्टी जिल्ला कमिटि सदस्ता प्रेमदेवी देशा। नगर कमिटि सहसचिव रमी प्रधानाङ्ग, नगर सचिवालय सदस्य संगीता नापित र अनेमसं नगर कमिटि उपाध्यक्ष सबिना महर्जन रहेका छन्।

मेयरमा गम्बीर बलियो भएको चर्चा
नगरपालिकाको मेयर पदमा दावी प्रस्तुत गर्नेमध्ये चेतनाथ संजेल वहालवाला प्रदेश सांसद हुन्। गोदावरीको मेयरमा पार्टे जिताउनका लागि आफ़ो मात्र बलियो उम्मेदवार रहेको र आम कार्यकर्ताको भावना अनुरुप अगाडी बढ्ने बताएका उनले उनले मेयर पदको लागि उम्मेदवारी मनोनयन गर्दा सांसद पदबाट राजिनामा दिएर आउनुपर्ने हुन्छ। त्यसो हुँदा कार्यकाल कायमै रहेको अवस्थामा सांसद पद रिक्त हुनेछ।

सञ्जेल २०७४ मा आफू सांसद निर्वाचित भएपछी विकास निर्माण र जनताको सुखदुखमा अब्बल काम गरेको भन्दै सबैभन्दा धेरै जनताको मनमा बस्न सफल व्यक्ति हुन्। तसर्थ उनलाई दक्षिण ललितपुरका जनताले समेत ठूलो भरोसाको रुपमा लिएका छन्। गोदावरीका बासिन्दाको मात्र प्रतिनिधि रहँदा गाउँका जनताको भावना कदर नहुने दक्षिण ललितपुरका जनताको दावी छ। तसर्थ उनलाई फेरी प्रदेशमै जिताएर मन्त्री भएको हेर्ने गाउँपालिका बासी तथा अधिकांश गोदावरी नगरबासीको समेत चाहना छ।

यस्तो अवस्थामा मेयरको टिकट दावेदारको दोस्रो लाइनमा रहेका टिकाभैरवका गम्बीर बहादुर राना प्रबल र बलियो दावेदार रहेको दावी गरिएको छ। विगतमा तत्कालीन जिल्ला विकास समिति सदस्य समेत रहेका राना आफू चुनाब जित्ने सबैभन्दा बलियो व्यक्ति रहेको दावी गर्छन। नगरभरीका १४ वटै वडासंग आफ्नो राम्रो अति राम्रो र समानान्तर सम्बन्ध रहेको उनको दावी छ।

२०४८ बाट नेकपा एमालेको संगठित सदस्य भई राजनीतिक यात्रालाई अगाडि बढाएका गम्बीर राना सामाजिक क्षेत्रमासमेत उत्तिकै सक्रिय छन् । २०५४ सालमा जिल्ला विकास समिति ललितपुरको सदस्य भई कुशल जनप्रतिनिधिको रुपमा देखा परेका उनी आफु जिल्ला तथा स्थानीय क्षेत्रको विकासमा आफु कुनै पद र जिम्मेवारीमा रहँदा वा नरहँदा उत्तिकै सक्रिय रहेको बताउँछन् । गत जिल्ला समन्वय समितिको निर्वाचनमा पनि पार्टीको तर्फबाट समिति अध्यक्षको दावेदार रहेका उनको अबको निर्वाचनमा पार्टी तथा कार्यकर्ताको सर्वसहमतिबाट गोदावरीको प्रमुखमा टिकट लिने र जित्ने समेत पक्का रहेको दावी छ । आफू उम्मेदवारको रुपमा अगाडि बढ्दा सबै वडाका मतदाताले कुनै राजनीतिक दलको उम्मेदवार भन्दा पनि कुशल,विकासप्रेमी र योग्य उम्मेदवारको रुपमा भोट दिने उनको दृढ विश्वास छ।

राना भन्छन,” विगत ३० वर्षदेखि म ललितपुरको भूगोलमा रही राजनीतिक यात्रामा छु,यहाँको विकास निर्माणका समस्या तथा सम्भावनाको विषयमा समेत म पूर्णरुपमा अभ्यस्त छु । तसर्थ आसन्न स्थानीय निर्वाचममा स्थानीय सरकारको जिम्मेवारीमा रहेर जनताको पक्षमा उत्कृष्ट काम गर्ने मेरो योजना छ।”

साथै उनले चुनावी अभियान तथा प्रचारको क्रममा अन्य उम्मेदवार तथा दलका बेताले जस्तो विपक्षीलाई गाली गरेर मत नमाग्ने भन्दै असल र जनमैत्री योजना सहित जनताको मनमा बस्ने बताए । उनीनिकट पार्टीका एक कार्यकर्ता पनि राना आफु उठेको चुनावी मैदानबाट कहिल्यै हार्न नजानेको र सबैलाई खुसी राख्न समेत खुबी भएको नेता गम्बीर राना भएको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button