समाचार

ललितपुर महानगरकी उपप्रमुखले फिर्ता गरिन् सरकारी साधन

ललितपुर, ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्यालले आफूले प्रयाेग गर्दै आएकाे सवारी साधन ललितपुर महानगरपालिकालाई फिर्ता गरेकी छिन् । उपप्रमुख सत्यालले आफूले प्रयाेग गर्दै आएकाे बा २ झ ३६८२ नम्बरको सवारी साधन चैत ३० गते बुधबार महानगरपालिकालाई नै फिर्ता गरेकी हुन् ।

उपप्रमुख सत्यालकाे सवारी चालक हिरेन्द्र महर्जनले महानगरकाे जिन्सी शाखामा जानकारी गराएर बुधबार नै सवारी साधन फिर्ता गरेको ललितपुर महानगरपालिकाका प्रशासन महाशाखा प्रमुख तथा बरिष्ठ अधिकृत सागर थापाले पुष्टि गरे । जिन्सी शाखाकाे समेत जिम्मेवारी सम्हालिरहेका थापाले भने, ” निर्वाचनमा भएर उम्मेदवारी दर्ता नगरेसम्म उहाँले याे सवारी उपभाेग गर्न पाउनु हुन्थ्यो । उम्मेदवार नभएको खण्डमा निर्वाचन नभएसम्म उहाँले प्रयाेग गर्न पाउने हाे। तर उहाँले आफ्नै खुसीले प्रयाेग गर्न पाउने समय अघि नै सवारी फिर्ता गर्नु भएको छ ।”

बुधबारबाट नै उपप्रमुख सत्यालले आफ्नै निजी सवारी साधन उपयाेग गरिरहेकी छिन् । उपप्रमुखमा निर्वाचित भएपछि सत्याललाई महानगरले सरकारी नम्बर प्लेट भएको सवारी साधन उपलब्ध गराएकाे थियाे । चुनावी अभियान सुरु हुनै लाग्दा उपप्रमुख सत्यालले सरकारी सुविधाको सवारी फिर्ता गरेकी हुन् । उपप्रमुख सत्यालले भनिन्, “सरकारी नम्बर प्लेटकाे महानगरकाे सवारी प्रयाेग गरेर पार्टीका चुनावी कार्यक्रममा जानु उपयुक्त पनि हुँदैन, फेरि एक महिना पछि भएपनि मैले उक्त सवारी फिर्ता गर्नैपर्छ । त्यसकारण किन ढिलासुस्ती गरेर बस्ने भन्ने लाग्याे र फिर्ता गरें।”
पाएसम्म सरकारी सुविधाकाे सवारी साधनकाे उपयाेग र दुरुपयोग गर्ने परिपाटी रहिरहेकाे अवस्थामा ललितपुर महानगरपालिकाकी उपप्रमुख सत्यालले भने आफ्नो सुविधाको सवारी फिर्ता गरेर सकरात्मक सन्देश दिन खाेजेकी छिन् । राज्यको सम्पत्ति दुरुपयोग गर्न हदैसम्मको निकृष्टता देखाउनेहरुका लागि एक महिना पदावधि बाँकी रहँदै सवारी साधन बुझाएकाे कुरा स्मरणीय र उदाहरणीय हुन पनि सक्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button