राजनीति

गोदावरीमा गजेन्द्रको पाँच बर्ष

ललितपुर ,ललितपुरको गोदावरी नगरपालिकाले पछिल्ला पाँच वर्षमा पूर्वाधार निर्माणमा योजना अनुसारको लक्ष्य हासिल गर्न सफल भएको बताएको छ । नगरपालिकाका अधिकांश क्षेत्रहरु भौगोलिक रुपमा विकट रहेकोले ती ठाउँमा सडक तथा भवन निर्माणलाई प्राथकिमतामा राखिएको थियो । जनप्रतिनिधिले भौतिक पूर्वाधारलाई नै मुख्य योजनाको रुपमा अघि सारेका थिए । पछिल्लो पाँच वर्षमा भित्री तथा मुख्य सडक व्यवस्थापन र कार्यालयको सेवा प्रवाह गर्नको लागि चाहिने आवश्यक भवन निर्माण गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले उपलब्ध गराएको तथ्यांक अनुसार पर्यटन, कृषि, सम्पदा संरक्षण , खानेपानीको व्यवस्थापनमा योजना अनुसारकै प्रगती हासिल गरेको छ । त्यस्तै, स्वास्थ्य क्षेत्रको पूर्वाधारमा उल्लेखनीय काम भएको छ ।
नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि गोदावरी नगरपालिकाले ठाउँ र आवश्यकता हेरेर सडक निर्माण र स्तरउन्नतिको काम गरेको थियो । भित्री सडक ६, ८ र १० मिटर हुनुपर्ने मापदण्ड तय गरेको थियो । उक्त मापदण्ड अनुसार सडक पछिल्लो समय फराकिलो पारिएका छन् । त्यस्तै पाँच वर्षको अवधिमा नगरपालिकाले प्रशासनिक भवन निर्माण गरेको बताएको छ । करिब २५ करोडको लगानीमा उक्त भवन निर्माण भएको हो ।
खानेपानीको सहज व्यवस्था
चार वर्ष अघिसम्म गोदावरी क्षेत्रमा हाहाकार थियो । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि निरन्तरको एक वर्षको प्रयासबाट नगरपालिका क्षेत्रमा खानेपानीको प्रबन्ध मिलाइएको छ । हाल गोदावरीमा खानेपानीको लागि भौंतारिनुपर्ने अवस्था छैन् । केयूकेएलले गरेको मापन अनुसार यहाँ दैनिक ८० लाख लिटर पानी वितरण हुन्छ । यसअघि ४०/५० लाख लिटर मात्रै वितरण हुन्थ्यो । पानीको आपूर्ति वृद्धि गर्नका लागि नगरपालिकाले मुहान संरक्षण र मर्मत, पाइप लाइन विस्तार, चुवाहट रोक्न पाइप मर्मत गरेको छ ।  त्यस्तै मुहान नभएको ठाउँमा र मुहानको पानी अपुग हुने वडाहरुमा डिप बोरिङ मार्फत पानीको व्यवस्था गरिएको छ। नल्लु खोलामा थप पाइपलाइन विस्तार, नगरपालिकाभित्र नौ ठाउँमा डिप बोरिङ, चारघरेमा खानेपानीको पाइप लाइन विस्तारको काम पनि भइसकेको नगरपालिकाले जनाएको छ । यसबाहेक मकवानपुरको सिस्नेनी कोगटे खोलाको पानी ललितपुर ल्याउनका लागि सम्भाव्यता अध्ययनको काम सुरु भएको छ । एशियाली विकास बैंक र केयुकेएलसँग सहकार्य गरी सुरु भएको यो परियोजनाबाट ४ वर्षभित्र ललितपुरमा पानी ल्याइने छ । गोदावरी नगरपालिका ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकाले सिस्नेरीको मुहानबाट पानी ल्याउन संभाव्यता अध्ययनका लागि समेत बजेट विनियोजन गरिएको छ । त्यसको अध्ययन यो वर्षभित्र सकिने छ ।
पर्यटकीय क्षेत्र निर्माण र पहिचान
गोदावरी नगरपालिका धार्मिक पर्यटकीय क्षेत्र समेत हो । यहाँ थुप्रै धार्मिक पर्यटकीय स्थलहरु छन् । उपत्यकाका चारबाराहीमध्ये बज्रबाराही र श्वेतबाराही यही नगरपालिकामा पर्छन् । नगरपालिकाले पर्यटक आकर्षित गर्न सक्ने पूर्वाधार निर्माणमा गएका वर्षहरुमा धेरै काम सम्पन्न गरिसकेका जनाएको छ । सोहि अनुसार फुल्चोकी पदमार्ग निर्माण, देवी चौर र गोदावरीमा भ्यूटावर निर्माण, वडा नं. ९ मा आर्ट भिलेज निर्माण भइरहेको छ । आर्ट भिलेज नेपालकै नमूना आर्ट भिलेज हुने बताइएको छ ।  त्यस्तै, नगरपालिकाले वडा नं ५, १०, ११, १२, १४ लाई सम्पदा क्षेत्र घोषणा गरी त्यहाँको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वका सम्पदा संरक्षण गरेको छ । जीर्ण भएका अन्य मठमन्दिरको पुनर्निर्माणको काम पनि अघि बढाएको जनाएको छ । गोदावरी कुण्ड पुनर्निर्माणको काम सुरु भइसकेको छ । लामकुण्डको पुनर्निर्माण भइरहेको छ । सन्तानेश्वर मन्दिर पुरातात्विक शैलीमा पुनर्निर्माणाधीन अवस्था छ । नवदुर्गा मन्दिरको पुनर्निर्माण चरणमा छ ।
संस्कृति संरक्षणमा पनि अगाडि
त्यस्तै गोदावरीमा लाग्ने १२ वर्षे कुम्भमेला, ठेचोको नवदुर्गाको बाह्र वर्षे मेला, गोदावरी नगरपालिकामा देखाइने प्रमुख नाचहरुमध्येको नवदुर्गा नाच लगायत अन्य नाच, जात्रा, पर्व र बाजा संरक्षणको लागि नगरपालिकाले अक्षय कोष स्थापना गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्र पर्ने अक्षयकोषले जात्रा, नाच जस्ता अमूर्त सम्पदाको निरन्तरताको लागि आर्थिक सहयोग गर्दै आइरहेको छ ।
साइकल लेन र खेल मैदानी निर्माण
गोदावरीबाट बडिखेल हुँदै लेले आउने रुटमा साइकल लेन निर्माण भइरहेको नगरपालिकाले जनाएको छ । पालिकाका निवर्तमान प्रमुख गजेन्द्र महर्जनका अनुसार एक वडा एक खेलमैदानको नीति अनुसार प्रत्येक वडामा स्थानको उपलब्धता अनुसार खेल मैदान निर्माण पनि भइरहेको छ । नगरपालिकाको वडा नं १० मा एक सय १० रोपनी क्षेत्रफलमा गोदावरी खेलमैदान निर्माण भइरहेको छ ।
सरकारी स्कूल क्याम्पसलाई अनुदान
हाल गोदावरी नगरपालिकाले नगरभित्र चार वटा सामुदायिक क्याम्पसहरु  छन् । ती क्याम्पसलाई अनुदानको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । आर्थिक संकट झेलिरहेका ती क्याम्पसहरुले उक्त अनुदानका दिइएको हो । प्याङगाउँस्थित जनभावना क्याम्पस, बज्रबाराही क्याम्पस, फुल्चोकी क्याम्पस, किटिनी क्याम्पसलाई अनुदान वितरण गरिएको हो । त्यस्तै गोदावरी नगरपालिकाले वडा नं २ विशंखुनारायणमा प्राविधिक कलेज निर्माणको काम सुरु गरेको नगरपालिकाले छ । अहिले कलेज पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ । यसका साथै फुल्चोकी कलेजले सिटिइभिटिइको कक्षा संचालन गरिरहेको छ । उक्त कक्षा  संचालनका लागि गोदावरी नगरपालिकाले अनुदान सहयोग गरेको थियो । यसबाहेक शैक्षिक गुणस्तर सुधारको लागि शिक्षकलाई तालिमको व्यवस्थालगायतका काम नगरपालिकाले गरेको थियो ।
जेष्ठ नागरिक दिवा सेवा केन्द्र निर्माण
नगरपालिकाले १४ वटै वडामा जेष्ठ नागरिक दिवा सेवा केन्द्र निर्माण गर्ने योजनालाई अघि बढाएको बताइएको छ । जसअन्तर्गत वडा नं १४ मा यो केन्द्र निर्माणको काम सम्पन्न भइरहेको हो । त्यस्तै ११, १२, १३ वडामा पनि जेष्ठ नागरिक दिवा सेवा केन्द्रको निर्माण भइरहेको छ ।
पशुपालन व्यवसायमा लागेका युवाहरुलाई अनुदानको व्यवस्था
नगरपालिकाले  पशुपालन व्यवसायमा लागेका युवाहरुलाई व्यवसाय संचालनका लागि  अनुदानको व्यवस्था गरेको जनाएको छ । नगरपालिकाले कृषि औजार खरिदमा अनुदान प्रदान गर्दै आइरहेको छ । नगरपालिकको वडा नं ५ लेलेमा चिस्यान भण्डारण केन्द्र निर्माण गरिएको छ । यो केन्द्रमा ललितपुरका अन्य स्थानीय तहमा उत्पादन हुने तरकारीलाई भण्डार गरिने बताइएको छ ।
राजकूलो व्युँताउने प्रयास
नगरपालिकाले पाँच वर्षको अवधिमा अर्को ऐतिहासिक काम गरेको जनाएको छ । जसमा पुरानो राजकुलो पुनर्निर्माण गरिएको हो । उक्त राजकूलाले गोदावरीको मात्रै होइन, ललितपुरको पुल्चोकसम्मका पोखरी र ढुंगेधारा यी राजकुलोकाका कारण रिचार्ज हुने बताइएको छ । नयाँ सडक अन्लाईन बाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button