समाचारस्वास्थ्य

स्वास्थ्य मन्त्रालयले गर्‍यो २१ प्रतिशत बजेट खर्च

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २१ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को अर्धवार्षिक समीक्षामा स्वास्थ्य मन्त्रालयको कुल बजेट ४८ अर्ब ५४ करोड ९८ लाखबाट रुपैयाँबाट १० अर्ब ६२ करोड ३ लाख रुपैयाँ खर्च भएको हो ।

सरकारले आगामी पाँच वर्षका लागि चिकित्सा क्षेत्रका विभिन्न विधामा मुलुकलाई आवश्यक पर्ने जनशक्तिको आँकलन गरी चिकित्सा शिक्षा आयोगमा सिफारिस गरिएको उल्लेख गरेको छ । स्वदेशमा उत्पादन हुने आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक औषधि तथा स्वास्थ्यजन्य सामग्रीको सूची तयार भएको अर्धवार्षिक समीक्षामा उल्लेख छ ।

विशिष्टिकृत स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउने उद्देश्य अनुरूप यस अवधिमा विभिन्न सरकारी अस्पतालबाट अन्तरंगतर्फ २८६ वटा मुटुको, ३२४ वटा फोक्सोको, ७८८ वटा रक्तनलीको शल्यक्रिया तथा १ हजार ३९८ वटा क्याथल्याब सेवा प्रवाह भएको जनाएको छ ।

ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, हरिवन, लालवन्दी, मलंगवा, ईश्वरपुर, परोहा, चन्द्रपुर, औरही रम्भा गाउँपालिका र रामपुर नगरपालिकामा एचपीभी/डिएनए विधिबाट पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सुरुवात गरिएको अर्धवार्षिक समीक्षामा उल्लेख छ ।

समीक्षा अवधिमा पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणको लागि खोप अभियान तथा नियमित खोपमा खोप सुरुवात सम्बन्धी कार्य सञ्चालन निर्देशिका, २०८० स्वीकृत भएको छ ।

 

Related Articles

Back to top button