राजनीति

टुहुरेको सम्झना : धरानमा

ललितपुर –जनगायक जेवी टुहुरेको प्रथम वार्षिकीको अवसर पारेर आगामी भदौ १० गते धरानमा ‘जेवी टुहुरे स्मृति सन्ध्या तथा स्रष्टा सम्मान कार्यक्रम २०७९’ हुने भएको छ । धरानको खड्की समाजमा शनिबार एक कार्यक्रमको आयोजना गरी जेवी टुहुरे फाउण्डेसनले स्थानीय बुद्धिजीवी, स्रष्टा, कलाकार, विभिन्न राजनीतिक दलका नेता, समाजसेवी लगायतको उपस्थितिमा कार्यक्रमको जानकारी गराइएको हो । टुहुरेको जन्म नगरी धरानमा हुने कार्यक्रमको लागि मूल आयोजक समितिसँगै १६ वटा विभिन्न उपसमिति गठन गरिएको छ ।
फाउण्डेसनकी अध्यक्ष निर्भिका टुहुरेका अनुसार कार्यक्रममा गायक जीवन शर्मा, शम्भु राई, नन्दकृष्ण जोशी, भिषण मुकारुङ, दीपक लिम्बू, बाबु बोगटी, प्रदेश लिम्बू, सबिन लिम्बू, रुपक डोटेल लगायतका कलाकारको सांगीतिक प्रस्तुति रहनेछ । उनीहरुलाई वाद्यवादनमा मनोहर सुनाम (सेक्सोफोन), बलराम समाल (बाँसुरी), भरत नेपाली (सारंगी), भरत बुढाथोकी (तबला), राम सुस्लिङ्ग र पोषण घर्ती मगर (मादल), नारायण जर्घा (हार्मोनियम), भागिरथ सुस्लिङ्ग (ढोलक), देव चाम्लिङ (बेस गिटार), दिवस श्रेष्ठ (रिदम गिटार), दुर्गा डंगोल (अक्टोप्याड), राहुल भुजेल (किबोर्ड) लगायतले साथ दिने जनाइएको छ । ‘म यो कार्यक्रमलाई लिएर एकदम उत्साहित पनि छु । अलि भावुक पनि भा’छु, बुवालाई सम्झिरहेको छु,’ निर्भिकाले भनिन्, ‘उहाँ बितेको कति चाँडो एक वर्ष पुग्यो । यो एक वर्षमा मैले उहाँलाई नसम्झेको कुनै दिन छैन । उहाँको आशिर्वाद सँधै होस् । यस कार्यक्रमलाई साथ र सहयोग दिने सम्पूर्णमा आभार व्यक्त गर्दछु ।’
यसैगरी, फाउण्डेसनले टुहुरेको स्मृति ग्रन्थ, वृत्तचित्र तथा आत्मकथा पनि प्रकाशनको तयारी गरिरहेको छ । वि.सं २००१ साल कार्तिक १५ गते धरानको पुरानो बजारमा जन्मिएका टुहुरेको २०७८ साल भदौ १० गते निधन भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button