राजनीतिसमाचार

ललितपुर तिनमा भुसालको एकलौटी बिजयी सुनिश्चित

ललितपुर , झण्डै तीन दशकदेखि ललितपुरमा रहेर राजनीतिकर्म गर्दै आइरहेकी पम्फा भुसाल यसपटक पनि प्रतिनिधिसभाको उम्मेदवार बनेर चुनावी दौडमा छिन् । यसअघि २०७४ को चुनावमा यस क्षेत्रबाट सहजै जितेकी भुसाललाई चुनाव जित्न यसपटक पनि कठिन छैन । अघिल्लो चुनावमा भन्दा यो पटक बढी मतान्तरले भुसालले जित्ने जिल्लामा विश्लेषण गर्न थालिएको छ । तर केही स्वतन्त्र उम्मेदवारको चर्को हल्लाले झिनो भोट काट्न सक्ने अनुमान गरिएपनि भुसालको जितमा कोही तगारो बन्ने देखिँदैन । गठबन्धनको भोट संख्या निकै धेरै भएकोले भुसाल यो क्षेत्रमा सबैभन्दा सुरक्षित छन् ।

लामो समय ललितपुुरमा बसेर राजनीतिक गर्दै आएकी भुसालले यस क्षेत्रको विकास तथा पूर्वाधार निर्माणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेकी छन् । ललितपुरको सम्पदा संरक्षण, पार्टी पौवा निर्माण तथा नेवार समुदायका मौलिक परम्परा जोगाउन भुसालको महत्वपूर्ण भूमिका रहेको देखिन्छ ।

भुसालसँग चुनाव लड्नु ढुंगाको चिउरा चपाउनुजस्तै
यस पटकको चुनावमा उनै भुसालसँग नेकपा (एमाले) का अमृत खड्का चुनावी मैदानमा छन् । तर खड्कालाई भुसालसँग चुनाव लड्नु ढुंगाको चिउरा चपाउनुजस्तै कठिन देखिन्छ । भुसालले यसअघि सरकार र संसद्को लामो अनुभव बोकेकी छन् । उनलाई माओवादीभित्र शक्तिशाली नेतृकोे रूपमा पनि लिने गरिन्छ । भुसाल यसअघि चार पटकसम्म मन्त्री र दुई पटक सांसद बनिसकेकी छन् । यो चुनावपछि उनी तेस्रोपटक सांसद बन्नेछन् ।

ललितपुर–३ वाम–लोकतान्त्रिकहरूको किल्ला नै मानिन्छ । यहाँको धेरै भुभाग शहरीमा पर्छ भने थोरै भुभाग ग्रामीण भेगमा पर्छ । ललितपुर क्षेत्र ३ ललितपुर महानगरपालिका– १, २, ३, ४, ५, १०, १३, १४, १५, १८, २० २१, २२, २३, २४, २५, २६, २७, २८, २९ र गोदावरी नगरपालिकाका १२ र १४ गरी २२ वटा वडाहरू पर्छन् । यहाँँ मतदाता संख्या ९४ हजार ११६ रहेको छ ।

खड्का र कार्कीको झिनो र असफल राजनीतिक यात्रा
भुसालका प्रतिस्पर्धी बनेका खड्का हल्का उम्मेदवार हुन् । उनलाई जित्न भुसाललाई कठिन हुनेछैन । २०५४ सालमा तत्कालीन सैँबु गाविस अध्यक्ष बनेपछि केही समय व्यवसाय र समाजसेवामा बिताएका खड्काको यो पहिलो उम्मेदवार अनुभव हो । उनले जनताले दिएको म्यान्डेड नै पूरा नगरी बीचैमा अध्यक्षको जिम्मेवारी छोडि हिडेको स्थानीय जनताले आरोप लगाएका छन् । उनी यसपाली मात्रै प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका हुन् । तर जिल्लामा लामो समय राजनीतिक सङ्घर्ष र सफलता हासिल गर्दै आएकी भुसालसम्म चुनाव जित्न उनलाई निकै कठिन हुनेछ । २०७४ मा वामगठबन्धनबाट चुनाव जितेकी भुसाललाई यसपटक सत्ता गठबन्धनको दरिलो साथ रहेको छ । राजनीतिक हिसाबले हेर्ने हो भने यो क्षेत्रमा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसको राम्रो उपस्थिती रहेको छ । यसबाहेक खड्का जिल्लामा अपरिचिति नेताको रूपमा रहँदै आएका छन् । उनले भन्दा बढी भोट स्वतन्त्र तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले ल्याउन सक्ने आकलन समेत गरिएको छ । कार्की पनि राजनीतिक हिसाबले नयाँ हुन् । उनको घर सानेपामा रहेपनि उनी अपरिचित जस्तै मानिन्छ । चिकित्सा क्षेत्रमा काम गरेको हिसाबले भने केहि युवाहरूले उनलाई साथ दिएको देखिएपनि कार्कीले झिनो मत मात्रै ल्याउने आकलन गरिएको छ ।

को हुन् भुसाल ?

भुसालको राजनीतिक यात्रा र सङ्घर्ष निकै लामो छ । उनी २०३३ सालमा विद्यार्थी राजनीतिबाट राजनीतिकमा प्रवेश गरिएकी थिइन् । २०५१ सालमा भुसाल माओवादीकी केन्द्रीय सदस्य बनेकी थिइन् । त्यसपछि उनी पार्टीमा सक्रिय रहँदै आएकी छन् । उनी गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा महिला, बालबालिका तथा समाज कल्याण, प्रचण्ड नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री बनेकी थिइन् । त्यस्तै झलनाथ खनाल नेतृत्वको सरकारको पालामा भुसाल शान्ति तथा पुनर्निर्माण मन्त्रालयको नेतृत्वमा थिइन् भने हाल ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको रूपमा रहँदै आएकी छन् । भुसाल जिल्लामा लामो समय राजनीति गरेकोले चर्चित छन् । उनलाई झण्डै ९० प्रतिशत मतदाताले चिन्छन् ।

स्थानीय तह निर्वाचनमा ती वडाका मत परिणामलाई आधार मान्ने हो भने यहाँ गठबन्धनको अग्रता देखिन्छ । यस क्षेत्र अन्तर्गतका वडामा कांग्रेसको १८ हजार ५४५, एमालेको १७ हजार ७०९, माओवादी केन्द्रको ७ हजार ७२७, नेकपा (एकीकृत समाजवादी) को ५ हजार १२९ र राप्रपाको ४ हजार ३४२ मत छ ।

स्थानीय तह निर्वाचनमा को बलियो ?

स्थानीय तह निर्वाचनमा हेर्ने हो भने क्षेत्र ३ मा गठबन्धन नै बलियो छ । गएको स्थानीय निर्वाचनमा ललितपुर महानगरको ४, १०, १४, २०, २८ को वडा कांग्रेस विजयी भएको छ । महानगरको २१, २६ र २७ वडा माओवादी केन्द्र विजयी भएको छ भने २ र ३ वडा एकीकृत समाजवादीले हात पारेको थियो । त्यस्तै महानगरको १ र १३ मा स्वतन्त्रले जितेका थिए । थोरै वडाहरू ५, १५, १८, २२, २३, २४, २५, २९ मा एमालेले चुनाव जितेको छ । २२ वटा वडामध्ये जम्मा ८ वटामात्रै एमालले जित्नुले पनि यसपटकको चुनावमा गठबन्धनले नै जित्न सक्ने अनुमान गर्न सकिन्छ ।

मन्त्री बनेपछि भुसालको ह्याट्रिक

भुसाल मन्त्री बनेपछि विद्युत परियोजनाको प्रभावकारी ढंगले भएको छ । हाल २० युनिटसम्म विजुली खपत गर्ने गरीव नेपालीलाई निःशुल्क बिजुली दिने काम उनकै नेतृत्वमा सम्पन्न भएको हो । कुनै बेला दैनिक १८ घन्टासम्म लोडसेडिङ भोग्नुपर्ने देशले बिजुलीको बढी खपतका लागि जनतालाई उत्साहित अवस्था भुसालकै कारण आएको हो । यसबाहेक भुसालले ललितपुर क्षेत्रमा पनि थुप्रै विकास निर्माणका काम गरेकी छन् । उनले यहाँका सडक पूर्वाधारदेखि शिक्षा, स्वास्थ्य र सम्पदा क्षेत्रमा पनि महत्वपूर्ण भूमिका निभाउँदै आएकी छन् ।

एमालेभित्र विस्फोट र अन्तरघातको खतरा

भुसालको प्रतिस्पर्धीका रूपमा एमालेले खड्कालाई अगाडि सारेपछि पार्टीभित्र तिब्र असन्तुष्ट छ । २० औं वर्ष पार्टीबाट बाहिर रहेर वा पार्टी विरोधी गतिविधि समेत गरेर बसेका वैदेशिक व्यापारी खड्का अकस्मात सङ्घीय सांसदका उम्मेदवारका रूपमा देखापरेपछि एमालेको एउटा पंक्ति आक्रोशित र निरास छ ।
स्थानीय पार्टीले बाबुराम थापालाई टिकट दिन चाहेको थियो । शिक्षक संगठनका केन्द्रीय अध्यक्ष भइसकेका थापा जिल्ला र उक्त निर्वाचन क्षेत्रमा बौद्धिक नेताका रूपमा समेत चिनिन्छन् । तर, टिकट खड्काले पाए । यसले एमालेको एउटा पंक्ति आक्रोसित र निरास मात्र होइन, सम्पूर्ण रूपमा निस्क्रिय समेत बनेको छ ।

‘जहाँ गएपनि कार्यकर्तालाई सम्बोधन गर्दा कार्यकर्ताको भावना विपरीत बोल्ने गर्दा उहाँले भोट बढाउने भन्दा पनि घटाउने गर्नु भएको छ ।’ भैसेपाटीका एमालेका एक कार्यकर्ताले दैनिकीन्युजसँग दुखेसो पोखे ।

दैनिक न्युजका प्रधान सम्पादक रामहरि कार्की द्वारा तयार पारिएको कभर स्टोरी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button