अर्थतन्त्रसमाचार

वीरगञ्ज भन्सारमा राजस्व छलीमा सुपारी, रक्सी, छोकडा र मरिच रहेको खुलासा

वीरगञ्ज भन्सारमा राजस्व छली गरेर ल्याइएका ठुलो परिमाणका सामान सुपारी, रक्सी, छोकडा र मरिच रहेको खुलासा भएको छ ।

केही व्यापारी र बिचौलियाले कर्मचारीसँग नै सेटिङ गरी ती सुपारी, रक्सी, छोकडा र मरिचहरू विभिन्न गन्तव्य स्थानतर्फ लैजान विभिन्न खाले प्रपञ्च गरिरहेको स्रोतको दाबी छ ।उच्च स्रोतका अनुसार वीरगञ्ज भन्सारको गोदाममा राजस्व छलेर ल्याइएका ३ सय ट्रक सुपारी, १० कन्टेनर रक्सी, ठुलो परिमाणका छोकडा, मरिचलगायतका मालसामानहरू गोप्य रूपमा राखिएका छन् । सेटिङकर्ताहरूले अर्बौ रुपियाँका ती सामानहरू कर्मचारीसँग सेटिङ मिलाएर राजस्व नै नतिरी बाहिर निकाल्ने प्रपञ्च गरिरहेको र त्यसो भएमा राज्य कोषमा करोडौंको राजस्व गुम्ने छ ।

भन्सार विभागले पनि वीरगञ्ज भन्सारस्थित गोदाममा ठुलो परिमाणमा राजस्व छलीका सुपारी, रक्सी, छोकडा र मरिच भएको अनुमान गर्दै त्यस सम्बन्धमा अनुसन्धान गर्न छानबिन टोली बनाएको छ ।भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले वीरगञ्ज नाकामा राजस्व छलीका मालसामान रहेको सूचना प्राप्त भएकाले अनुसन्धान गर्न छानबिन टोली बनाइएको जानकारी दिनुभयो ।

वीरगञ्जलगायत देशका अन्य विभिन्न भन्सार नाकाबाट अर्बौ मूल्यका सामग्रीहरू राजस्व छलेर बाहिर निकाल्न खोजिएको भन्दै छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ ।

Related Articles

Back to top button