राजनीति

ललितपुर तिनमा पम्फाको क्रेज : रिपोर्ट

ललितपुर,प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा देशैभर चुनावी माहोल बढेको छ । ठूला पार्टीका शीर्ष नेताहरु उम्मेदवार बनेको क्षेत्रलाई निकै चासोका साथ हेरिएको छ । त्यस्तैमध्ये एउटा क्षेत्र हो, ललितपुर क्षेत्र नम्बर ३ । यो क्षेत्रमा सत्तारुढ गठबनन्धनबाट नेकपा (माओवादी केन्द्र) की उपमहासचिव तथा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसाल चुनावी दौडमा छिन् । यसअघि सोही क्षेत्रबाट निर्वाचित उनी यसपटक पनि जितको नजिक छिन् । हामीले गरेको चुनावी स्थलगत रिर्पोटिङले पनि पम्फाकै जित पक्कापक्की देखिएको छ । हाम्रो टिम रामहरि कार्की, माधवप्रसाद घिमिरे, केशव घिमिरे, देवीदत्त पौडेल र राजु नेपालको सहयोगमा तयार पारिएको विशेष रिपोर्ट,कुपण्डोल र थापाथलीबीचमा काठमाडौं र ललितपुर जोड्ने बागमती पुल छ । काठमाडौंबाट गाडीमा आउँदा कुपण्डोलमा ओर्लिएर खोलाको दायाँ किनार हुँदै अघि बढ्दा गुरु नानक मन्दिर पुगिन्छ । त्यहाँ स्थानीय रञ्जित थापा भेटिए । उनले अहिलेसम्म राप्रपालाई भोट खसाउँदै आएका रहेछन् । यसपटक सत्तारुढ गठबन्धनलाई भोट हाल्ने तयारी उनले गरिरहेका छन् । राजावादी पहिला पनि दुईथरी नभएका होइनन् तर कमल थापा अध्यक्ष रहेको पार्टी दुई टुक्रा भएपछि उनले कुनै पनि राप्रपालाई मत नदिने आशय व्यक्त गरे ।

हामीले सोध्यौ– किन मत नदिने निर्णय गर्नु भयो ? उनले भने “पूर्व राजा ज्ञानेन्द्रलाई नै यो वा त्यो नेताले राजतन्त्र फर्काउलान् भन्ने विश्वास छैन, हामी जस्ता किन त्यसैमा टाँसिइरहनु ?”

कमल थापाले अध्यक्ष पदको चुनाव लड्दा पूर्व राजा ज्ञानेन्द्रले हराएको आरोप लगाएबाट यो पुष्टि हुन्छ भन्दै यतिको हेपाइ, पेलाइ परेपछि पनि पूर्व राजा ज्ञानेन्द्र यति संकीर्ण हुन्छन्, कमल थापा जस्ता आफ्ना वफादारलाई समेत समेट्न सक्दैनन् भने अरु पार्टी जो राजतन्त्रविरुद्ध छन्, तिनलाई कसरी समेट्छन ? कसरी अभिभावकत्व लिन्छन ? धेरै संघर्षबाट स्थापित भएको यो प्रणालीमा अब अस्थिरता ल्याउनु हुँदैन, आफूले दुःख पाए पनि अबका सन्ततीले थप दुःख नपाउन भन्ने उनको चाहना रहेछ ।

उनले यति भनेपछि हामीले फेरि सोध्यौं, त्यसो भए कसलाई दिनु हुन्छ मत ?

“हेर्नुस्, यसो हेर्दा कसैलाई नदिउँ भन्ने पनि लाग्छ । तर मत दिनुपर्छ भन्ने पनि लागेको छ । आफ्नो अधिकारको कुरा पनि हो । नेपालको समकालीन राजनीतिमा सबैभन्दा स्थापित, सक्षम, हाई प्रोफाइलकी महिला नेतृ पम्फा भुसाललाई दिउँ भन्ने लागेको छ । मेरो श्रीमती र छोराले यसपटक उनैलाई दिने भनेर सल्लाह गरिसकेका छन्,” उनले भने ।

मतदाता पछ्याउँदै हामी कुपण्डोल हाइटमा पुग्यौं । त्यहाँ चिया पसलमा पाँच/सात जनाको बीचमा चुनावी गफ चल्दै रहेछ । एक जना करिब ३५–४० वर्षको देखिने एक युवाले निकै जोडमा भन्दै थिए– हुन त एमाले हुँ, मैले यसपटक निर्वाचनमा मत कसलाई दिने भन्ने निर्णय गरिसकेको छैन । जनताबाट, कार्यकर्ताबाट अनुमोदित भएकाभन्दा नेतृत्वका वफादारलाई उम्मेदवार लाद्ने कुराको सबक नेतृत्वले सिक्नुपर्छ ।

हामीले उनीहरुको एकछिन छलफल सुन्ने योजना बनायौं र चिया माग्यौं । हाम्रो उपस्थितिले उनीहरुको गफमा कुनै विराम लागेन । त्यहीमध्ये अर्का ३८–३९ वर्षका जनजाति अनुहार जस्ता देखिने युवाले भने– स्वतन्त्रलाई त मत दिदैंनौ ?

उनको प्रश्न झर्न नपाउँदै पहिलो व्यक्तिले भने– दिन पनि सकिन्छ । दोस्रोले तुरुन्तै जवाफ फर्काए– अहिले छिचिमिन्द्रा जसरी आएका धेरै स्वतन्त्र भनेको पानीको फोकामात्र हुन् । तिनीहरुले एकाध ठाउँमा जित्लान् तर न तिनले सरकार बनाउन सक्छन्, न ऐन, कानुन परिवर्तन गर्न सक्छन् । एकछिनको आवेग, असन्तुष्टि र कुण्ठामात्रै त हो नि ।

जनजाति अनुहारका ती युवाको हामीले परिचय सोध्यौं । उनको घर वडा नम्बर दुई झम्सिखेलमा रहेछ । नाम राम श्रेष्ठ रहेछ । उनको गाःवहालमा स्टेशनरी पसल रहेछ । उनले सत्तारुढ गठबन्धनकी नेतृ पम्फा भुसालप्रति इंगित गर्दै परिवर्तनको अजेण्डा बोक्नेलाई आफू र आफ्नो परिवारको मत खसाल्ने बताए । उनले त्यहाँ बोलिरहँदा अरुले पनि सकारात्मक भाव र संकेत देखाइरहेका थिए ।

एकैछिनपछि हामी धोवीघाटको हाँसको छोइला खाने योजनाका साथ श्याम दाइको हाँसको छोइला होटलमा पस्यौं । होटलको भुइँतलामा हामी एउटा टेबलमा बस्यौं । अर्काे टेबलमा चुनावकै चर्चा चलेको रहेछ । त्यहाँ २५–३० वर्षको एक युवाले आफूले तोसिमा कार्कीलाई मत दिने र उनको प्रचारमा लागेको बताए । त्यही रहेका अर्का त्यही उमेर समूहका युवा भन्दै थिए– आफ्नो मत एमालेका अमृत खड्कालाई दिने हो । त्यही टेबुलमा बस्ने अर्का युवाले पहिलोलाई जिस्किदै भने– तैंले काठमाडौं ४ को कपनबाट तोसिमालाई मत दिन सक्छस् र…? त्यो टेबुलमा एकछिन हाँसोको फोहोरा छुट्यो । उनीहरुको हल्लाखल्लाले वरपर पनि ध्यान राम्रैसँग खिचेको थियो । ३०–३५ को उमेरका क्षेत्री–वाहुनको अनुहार देखिने एक युवाले भन्दै थिए– हामीले पार्टी होइन, उम्मेदवारको इतिहास, उसको निस्ठा, त्याग अनि यो क्षेत्रलाई विकास, समृद्धिमा जोड्नसक्ने, भोलि विकासे मन्त्री तत्काल बन्नसक्ने पात्र हेरौं, लहडमा हिड्ने होइन । हामीले अहिले गरेको सानो गल्तीले भोलि पछुताउने अवस्था नबनोस् । उनले बोलिरहँदा त्यहाँ हल्लाखल्ला गरिरहेका युवाहरु पनि शान्तपूर्वक कुरा सुनिरहेका थिए ।

त्यहाबाट हामी खाजा खाएर भैसेपाटीतिर लाग्यौं । प्रहरी चौकी अगाडि रहेको चौताराबाट केहिबेर चुनावी माहोल नियाल्यौं । त्यहाँ सात जना बूढाबूढीहरु गफिँदै थिए । एमाले अध्यक्ष केपी ओली चुनावी अभियानमा आएर गएकोबारे गफगाफ भइरहेको थियो ।

हामी उनीहरुको गफमा जोडियौं । त्यहाँ रहेका ७०–७५ वर्षका श्याम मगरले यसअघिका चुनावमा एमालेलाई मत दिएको बताए । २०५४ सालको स्थानीय निर्वाचनमा मत दिएर गाविस अध्यक्षमा जिताएका अमृत खड्काले मतको सम्मान नगरी नौ महिनामा नै विदेश पलायन भएका कारण यसपटक उनलाई मत नदिने मगरको निश्कर्ष छ ।

फेसबुकसहित सामाजिक सञ्जाल अनि अनलाइनमा निकै प्रचारमा आएकी तोसिमा कार्कीको त नामै सुनेका रहेनछन् । पहिला वामगठबन्धनमा मत दिएर जिताएकी पम्फा भुसाललाई नै मत दिने उनले निष्कर्ष थियो । त्यही चौतारामा बसेकी मैयाँ खड्काले ऊर्जामन्त्री पम्फा भुसालले २० युनिट बत्ती निःशुल्क दिएकाले उनलाई मत दिने आसय जनाइन् । भुसाललाई नै भोट दिनेबारे घर छिमेकमा छलफल भएको उनको भनाइ थियो ।

त्यहाँबाट हाम्रो रिर्पोटिङ टिम ललितपुरको ऐतिहासिक संस्कृति बोकेको खोकना र बुंगमतीतिर मोडियो । चुनावी माहोल बुमm्न केहीसँग कुराकानी गर्यो । यहाँको सम्पदा तथा भूकम्पपछिको पुननिर्माणको काममा नेतृ भुसालको स्थानीयले खुलेर प्रशंशा गरे । यो क्षेत्रमा परिवर्तनको अजेण्डा बोक्नेको आधार क्षेत्र जस्तै रहेछ । यहाँ सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई बलियो समर्थन देखियो ।

बुधबार हाम्रो टोली ठेचो पुग्यो । त्यहाँ सत्तारुढ गठबन्धनको घरदैलो चलिरहेको थियो । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आचारसंहिताका कारण आफ्नो महानगरपालिकाको घरदैलो कार्यक्रममा जान नपाएको दुःखेसो व्यक्त गर्दै पम्फा भुसाल जस्तो समकालीन राजनीतिको माथिल्लो पंक्तिमा रहेकी महिला नेतृलाई जिताउँदा यस क्षेत्रको समृद्धि हुने, ठूलो संघर्षबाट बनेको संविधान, अहिलेको प्रणाली सुदृढ हुने बालमन्दिरको प्रांगणबाट उद्घोष गरे । पम्फा भुसालसहित गठबन्धनका उम्मेदवारको घरदैलो कार्यक्रममा ठेचोबासीको उत्साहजनक सहभागिता थियो ।

यसपछि हामी जावलाखेलतिर आयौं । त्यहाँ पनि सत्तारुढ गठबन्धनका तर्फबाट प्रदेश ३ ख का उम्मेदवार जितेन्द्र कुमार श्रेष्ठ निकै ठूलो हुलसहित उत्साहपूर्वक प्रदेशमा रुख चिन्ह र संघमा गोलकारभित्रको हँसिया हथौडामा स्थानीयसँग मत मागिरहेका थिए ।

मतदाताकै मनसाय बुझ्ने क्रममा हामी मानभवनतिर मोडियौं । एमालेका चार–पाँच जनाको एक समूहले अमृत खड्को पक्षमा मत माग्दै घरदैलो अभियान चलाइरहेका थिए । बीसौं वर्षदेखि पार्टीमा इमान्दारपूर्वक काम गरिरहेका निष्ठावान नेतालाई टिकट नदिएको, नवधनाढ्यलाई माथिबाट उम्मेदवार थोपरेकाले कमरेडहरु त्यति उत्साही हुनुहुन्न– एक जनजाति अनुहारका कार्यकर्ताले हामीलाई बताए । हामीले पत्रकार भनेपछि नाम भन्न र फोटो खिच्न भने उनले इन्कार गरे ।

हामी यसबाट लगनखेल हुँदै सुमेरु मार्टभित्र रहेको अर्गानिक रेष्टुरेण्टमा चिया पिउन पस्यौं । हामी बसेको अर्काे टेबुलमा ललितपुर महानगरपालिका वडा नम्बर १५ का जनप्रतिनिधिसहितको टोली रहेछ । तिनीहरु सबै सत्तारुढ गठबन्धनका उम्मेदवारलाई जिताउने रणनीति बनाउँदै थिए ।

हामीले ललितपुर तीनलाई केन्द्रित गरेर दुई सय ५१ जनालाई कुराकानी गर्यौं । त्यसमध्ये एक सय ३७ जनाले पम्फा भुसाललाई मत दिने हामीलाई बताए । यसमध्ये ६३ जना यसअघि कांग्रेसको रुख चिन्हमा मत दिएका रहेछन् । माओवादी केन्द्रको गोलाकारभित्रको हँसिया हथौडालाई मत दिएका ४१ जना भेटियो । एमालेको सूर्य चिन्हमा यसअघि मत दिएका १७ जनाले पम्फा भुसाललाई मत दिने निष्कर्ष सुनाए । यसअघि राप्रपालाई मत दिएका छ जनाले पम्फालाई मत दिने बताए । पहिलो पटक मतदानमा सहभागी हुने १० जनाले पम्फासहितको गठबन्धनलाई मतदान गर्ने बताए ।

यस क्षेत्रमा डुल्दा हामीले एमाले दोस्रो रहेको पायौं । एमालेमा ६१ जनाले मतदान गर्ने बताए । त्यसमध्ये पहिला एमालेलाई मत दिएका ५७ जनाले एमालेलाई नै मत दिने बताए भने चार जना नयाँ मतदाता भेटिए ।

बाहिर सामाजिक सञ्जाल, केही स्थापित अनलाइनले तोसिमा कार्कीको प्रचार गरे जस्तो फिल्डमा हिड्दा पाइएन । उनीप्रति सामाजिक सञ्जालको प्रभावमा रहेका पहिलो पटक मतदान गर्ने युवाहरु बढी भेटिए । हामी दुई दिन हिड्दा उनको चुनावी अभियान पनि कतै देखिएन । आफ्नो पार्टी र नेतृत्वप्रति निराश भएका केही राजनीतिक कार्यकर्ताहरुले बदला लिने सोंचका साथ उनलाई मत दिने योजना बनाएको बुझियो । उनलाई २३ जनाले मतदान गर्ने सुनाए । यसमा नयाँ मतदाता १४ जना, यसअघि कांग्रेसलाई मत दिएका तीन जना, एमालेलाई मत दिएका तीन जना र राप्रपालाई मत दिएका एक जनाले उनलाई दिने सुनाए ।

बाँकी नखुलेका ३० जना भेटिए । उनीहरुमध्ये धेरै जनाले कसलाई मत दिएर के हुन्छ र आफ्नो दुःख आफैसँग छन् भने । तीसमध्ये एक जनाले मत नहाल्ने निश्कर्ष सुनाए भने २९ जनामध्ये १३ जनाले अन्तिम समयसम्ममा सत्तारुढ गठबन्धनतिर जानसक्ने संकेत गरे । उनीहरुको केही असन्तुष्टिलाई सत्तारुढ गठबन्धनका उम्मेदवारले सम्बोधन गर्नुपर्ने आसय व्यक्त गरे । बाँकी १५ जनाको मत एमाले र स्वतन्त्रमा बाँडिन सक्ने सम्भावना देखियो । बाँकी रहेका १५ जना सबैले तोसिमातिर मत दिए पनि उनी अमृत खड्काभन्दा पछाडि नै हुन्छिन ।

हामीले गरेको चुनावी प्रक्षेपण रिर्पोटिङले ललितपुर ३ को निर्वाचनमा सत्तारुढ गठबन्धनबाट पम्फा भुसालसहित गठबन्धनको उम्मेदवारले जित्ने पक्का जस्तै देखिन्छ ।

 

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button