शिक्षासमाचार

जनविकास स्कुलका विद्यार्थीलाई प्रणामी युवा परिषद द्वारा पोसाक तथा स्टेसनरी सामग्री वितरण

ललितपुर गोदावरी नगरपालिका १३ झरुवारासीमा अवस्थित श्री जनविकास माध्यमिक विद्यालयमा अध्ययनरत २५ जना अति विपन्न वर्गका विद्यार्थीहरुलाई विद्यालय पोसाक (ट्रयाक सुट) तथा स्टेसनरी सामग्री वितरण गरिएको छ। श्रीकृष्ण प्रणामी युवा परिषद ललितपुर जिल्ला समितिको आयोजना तथा विशेष सहयोगमा मंगलबार विद्यालयमै उक्त सामाग्रीहरु विद्यार्थीलाई वितरण गरिएको हो।

गोदावरी नगरपालिकाकी उपप्रमुख मुना अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष भाष्कर थापा, श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका केन्दिय अध्यक्ष जगदीशचन्द्र शर्मा, पूर्व केन्द्रिय अध्यक्ष मात्रिका प्याकुरेल,जिल्ला समितिका अध्यक्ष कृष्ण खड्का तथा पदाधिकारी र सदस्यहरु, बाईजुराज महिला समिति, श्रीकृष्ण प्रणामी सेवा समितिका पदाधिकारी लगायतको उल्लेख्य सहभागिता रहेको थियो। सोही कार्यक्रममा श्रीकृष्ण प्रणामी बाईजुराज महिला समितिका केन्द्रिय उपाध्यक्ष उषा लामिछाने र नवातानाधम सेवा समितिका सदस्य भुवानमान प्रधानले विद्यालयलाई ५०/५० हजारको अक्षयकोष निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रम तथा संस्थाको बारेमा जानकारी गराउदै श्रीकृष्ण प्रणामी युवा परिषद ललितपुर जिल्ला समितिका अध्यक्ष कृष्ण खड्काले संस्थाले दुर्व्यसन त्यागौं, सेवामुखी बनौं भन्ने पवित्र नारालाई आत्मसात गर्दै देशका विभिन्न स्थानमा धर्म जागरणको साथै सामाजिक कार्यहरु गर्दै आएको बताए। कुनै देश विदेशका दाताहरुबाट सहयोग लिएर नभई संस्थाकै सदस्य तथा पदाधिकारीको व्यक्तिगत सहयोगबाट विद्यालयलाई पोसाक तथा स्टेसनरी सामग्री सहयोग गरिएको उनको भनाई थियो। विद्यालयका प्रधानाध्यापक यज्ञ प्रसाद अधिकारीले विद्यालयमा व्विपन्न वर्गका विद्यार्थीलाई सहयोग गर्दा सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढ्ने भन्दै सहयोग प्रदान गर्ने संस्थालाई धन्यवाद ज्ञापन गरे। युवा परिषदका केन्द्रिय अध्यक्ष जगदीशचन्द्र शर्माले देशैभर युवा परिषद सामाजिक कार्यमा अग्रसर रहेको भन्दै विद्यार्थीहरुको उज्जवल भविष्यको कामना गरे। गोदावरी नगरपालिकाकी उपप्रमुख मुना अधिकारीले पवित्र उद्देश्य सहित विपन्न विद्यार्थीलाई सहयोग गर्ने संस्था लाई धन्यवाद ज्ञापन गरेकी छन्।

Related Articles

Back to top button