बिचार

रातोघरको बुइँगल छिँडी र आँगन

बुद्धराम थिङ,ललितपुर –“रातो राम्रो गुलियो मीठो “यो नेपाली उखानले भन्न खोजे झै रातो घर , ललितपुर जिल्लाको कोन्ज्योसोम गाउँपालिका वडा नं ५ भारदेउ कुन्यकालीमा रहेको छ । माहांकाल गाउँपालिका हुँदै काभ्रेको बेथानचोक पुग्ने लेले चन्दनपुर मुलसडक अन्तरगत पर्ने भारदेउबाट बायाँ एक सय मिटरमा पर्छ रातोघर । हामी बागमती गाउँपालिका घुसेलबाट पुसको ३ गते २०७९ मा छिमेकी पालिका कोन्ज्योसोममा आन्तरिक पर्यटनलाई टेवा पुर्याउने उद्देश्यले हामीहरूको दुई दिने यात्रा शुरु भएको थियो ।

बर्थ डे अर्थात जन्मदिन हाम्रा केही साथिहरुको जन्मदिनको सेलिब्रेटले यो अवसर जुरेको हो । यो शब्द सुन्न साथ जो कोहिलाई पनि साँझको समयमा केक काटेर , झिलिमिली सोलिले कपाल छोपेर , बलेको दीप निभाएर , अनुहार बिग्रने गरि सेतो फिँजै फिँज छर्केर अनि वरिपरि घेरा मारेर ह्यप्पी बर्थ डे टु यु डियर .. के के भनेर फल्कदै जन्मदिनको उत्सव मनाउने चलनको चाल हर घर घरको दैलोभित्र पसिसकेको छ । आम मानिसलाई यसरी आफ्नो र नातेदारको जन्मोत्सव मनाउँदा अति खुशी भएर हर्षले मन चुमेको दृश्य हिजोआज नौलो छैन ।
तर नौलो जन्मोत्सवको उदाहरण हाम्रा केही साथीहरुले शुरु गर्ने मौका पाएका छन र सो कार्यको कार्यन्वयनका लागि नै हाम्रो मन मस्तिष्क र पाइला टिकाभैरव लेले हुँदै कोन्ज्योसोमको आँगन नल्लु र भरदेउमा पुगेको हो ।

जहाँ ढुङ्गा ढुङ्गामा देवताको वास छ , जहाँ थुम्का थुम्कामा स्वर्गको आभास छ त्यो देश मेरो हो , त्यो देश मेरो हो भने झै यहाँका हरेक पाइला पाइलामा आनन्द दिने मनमोहक धराहरु छन । हामीले पहाडका शिर कुना कन्तरालाई पवित्र बनाउँदै सजिएका देवदेवीहरुलाई पनि हाम्रो हाल सुनाउने जमर्को गर्यौँ । तदानुरुप लेलेको लेन भएर जब उकालो साँघुरा च्यात्तिएका बाटाहरुमा जोडेँ जसले यो देशको सिङ्गो व्यवस्था र मुखाकृतिलाई झल्काउँथ्यो। तर त्यसको कुनै पर्वाह नगरी नल्लु भज्याङ्ममा पुगेर सबै जम्मा भयौँ र पाथीभरा देविको पथ समाएर उतै कुदे हाम्रा मोटरसाइकलहरु ।
कुदेर जाँदा सहयात्री सबैको एउटै ल्याकत र तागत नहुँदो रहेछ । जसमा म अलि सुस्त सुस्त नै उकालो चढेँ । यात्राका पाइला बोकेर घुमेका रबरका गतिलाई नल्लुको सानो खोल्सा कटेपछि पाथीभराको पाउमा केही ढुङ्गाहरुले अल्झाउन गरेका प्रयत्नलाई पाथीभरा माताको शक्तिले छिचोल्न सफल भइ देवि माँ कोमा पुग्यौँ जय किशोर साह बाहेक हामी सबै जना ।

हामी रातो घरमा पुग्दा पश्चिम क्षितिजमा घामले पनि आफ्नो घर रातै बनाउँदै जून र तारालाई स्वागत गर्न तम्तयार थिए ।
कोन्ज्योसोमको रातो घरमा शिशिर यामको शान्त वातावरणमा थियो । यस्तै मौसमको छेको पारेर धर्तिमा शिर उठाउँदै आमाको कोख सजाएका हाम्रा आधा दर्जन मित्रहरु उमाशंकर यादव, जितलाल थिङ, श्रीकृष्ण तिमल्सिना, कृष्ण प्रसाद न्यौपाने, जयकिशोर शाह र दिनेश शर्माको सामुहिक जन्मोत्सवलाई महोत्सव बनाउने उदेश्य हो । साथ साथै संयोगले चार चार वर्षमा आउने महाकुम्भ विश्वकप फुटबलको फाइनल दिन पनि आजै थियो ।

त्यसैले रातोघरको आँगनमा कतार र त्यहाँ भैरहेको फुटबलको फुल मज्जा लिन निकै हतार र आतुर थिए रातोघरमा भेला भएका दाजुभाइ दिदिबहिनिहरु । यता फुटबलका समर्थकहरुलाई जोड्न प्रोजेक्टरको पर्दा पुसको तुसारोको कुनै फिक्री नलिइ ठडिसकेका थिए । छेवैमा दाउरालाई काँचुली फेर्न आगोका लप्का उस्तै दन्किरहेका थिए । जसले रातो घरको रात रङ्गिन हुने संकेत आइसकेको थियो।
बिहानको ब्रेकफास्टमा समार्पित चना , अन्डा र जाम पाउरोटी साँझमा टुप्लुक्क आएको देखेर दंग थिए दिनेश शर्मा । वरिपरि मुस्कुराउँदै पाउरोटी मुखमा पुर्याउन सबै जना हातका औंला नचाउँदै थिए । अठ्ठार जनाको टोलिमध्ये केही साथीले रातोघरको छिँडिमा रातै दरिमाथि रातै टेबुलमा रातो तातो केही
लिएर जन्मदिनको सेलिब्रेट गरे ।

रातोघरको छिँडिबाट दोस्रो तल्लाको दायाँबायाँ सुकिला ओछ्यान प्रतीक्षारत थिए हामीलाई सुताउन । पुरानो घर भए पनि ढुङ्गा माटोको घरको बुइगलमा अर्को तेस्तै बिछ्यौना र फुटबल उफार्ने रंगशाला झै धुमबल पछार्ने दरिशाला पनि रहेछ।
आज रातोघरको रस बुइगलदेखि चोटा कोठा हुँदै आँगनसम्मै छरपस्ट थियो स्पष्ट थियो । फुटबल यहाँ होइन पर..देशमा पर भुमिमा अर्जेन्टिना र फ्रान्सका फुटबल हिर्काउने खेलाडी पनि आफनो भूमिमा हैन विदेशमा नै छ्न । तिनीहरुले उफ्रिने बल उफार्ने निश्चित समय नेपाली समय अनुसार रातको ८ बजेर ४५ मिनेटमा थियो।
यता दुवै पक्षका पक्षधर दर्शकहरुबिच हाम्रो टिमको गोजिमा न्यानो भएर बसेका एउटा एउटा बाघ अंकित नोट झिकेर म.. फ्रान्स र अर्कोले म.. अर्जेन्टिना भन्दै बाजी राख्ने नोटको जिम्मा मैले पाएँ । सो जिम्मेवारी मैले सहर्ष जिम्मा लिँदै बाजीमा सहभागी सबैको नाम र दाम टिपेँ ।

मलाई कवि अर्जुन पराजुलीका समसमायिक कविताहरु मन पर्छ । ती कविताले भने झै म कुनै पनि फुटबल टिमको खुलेर समर्थन नगरी मौन थिएँ।
आइफेल टावर र लामखुट्टे नपाइने देश भनेर फ्रान्ससित म जत्ती परिचित थिएँ अर्जेन्टिना सित थिएन । मौन समर्थन फ्रान्सलाई गर्दै केही साथीहरूको इच्छालाई नकार्न सकिन। मैले कपिमा दुवै टिमका समर्थकको नामावली र रुपियाँ राखेँ।
खेल शुरु भए सङ्गै आ आफ्नो टिमका खेलाडीलाई यहिबाट कतारसम्मै सुनोस पुगोस भन्ने हेतुले समर्थकहरुको जोश कम्ती थिएन । खेल कतारको मैदानमा जत्ती रौनक र उमंगका बिच चलिरहेको थियो त्यो भन्दा बढ्ता यता थियो । रातो घर वरिपरिका मान्छेहरु र हाम्रा टिमका तेह्र जना साथीहरू गरेर हो हल्ला र रमाइलो भैरहेको थियो। तर विडम्बना यो दृश्य र माहोलमा हामी पाँच जनाको प्रत्यक्ष सहभागी थिएन, मात्र रातो घरको बुइगलसम्म आएको कर्कश आवाज र हो हल्लाले मात्रै यो बयान गरेको हुँ ।

तल आँगनमा शरदको शीतसँगै पर्दामा विश्व कप फुटबलको मज्जा लिइरहेका भिडमा म लगायत अरु चार जना थिएन । अरु फुटबलप्रेमी साथीहरू दृष्टिकोणमा हामी अजिबको पात्रमा गनिए होला भन्ने बोध भयो ।
तर जे भए पनि जसले जे भने पनि हामी पनि मैदानमा खेल शुरु गर्दै थियौँ। र खेल हेर्द तर जे भए पनि जसले जे भने पनि हामी पनि मैदानमा खेल शुरु गर्दै थियौँ। र खेल हेर्ने होइन। खेल खेल्ने हो । हो …त्यसैले हामी पाँच जना रातोघरको बुइगलमा खेल खेलिरहेका थियौँ । तल आँगनमा फुटबल, दृश्य पर्दामा सिमित थियो । तर हाम्रो धुमबल प्रत्यक्ष थियो ।तल मेस्सीलाई छुन पाइदैनथ्यो तर हामीले बुइगलमा तिनै मिस्सिलाई पछार्दै थियौँ । फुटबलमा अनेक फाउलहरु भए होलान तर हाम्रोमा कुनै फाउल थिएन । फुटबल हेर्न दर्शक थिए तर हाम्रो कुनै दर्शक थिएन । रेफ्री बिनाको खेल निकै रोमाञ्चक थियो बुइगलको रातो दरिमा । तल गोल .. गोल भनेर निकै भयंकर आवाज बुइगलसम्म निकै बेर आउँदै फर्किरहेको थियो तर हामी पाँचलाई कुनै पर्वाह थिएन । हामी स्वयं नै गोल गर्दै नगद सट्टापट्टा गरेर मनोरञ्जनको चरम बिन्दुमा पुगिरहेकै थियौँ ।

दुई देशबीचको खेल निकै रस्साकस्सी बिच चलेको आभास त्यहाँ रातोघरको आँगनमा भएको कोलाहलले बुइगलसम्म धाएर उक्लिदै ओर्लदै सुनाउँदै थियो । एघार एघार जना गरि बाइस जना मिलेर जाबो एउटा हावाको डल्लालाई गुडाउदै थिए भने हामीले बाउन्न त्रिपन्न पत्तीलाई सुम्सुम्याउँदै थियौँ । फुटबलमा निर्धारित समय जत्ती हो त्यत्ती नै समय हामिले नि हाम्रो खेलमा समयसीमा छुट्याएका थियौँ।
अन्त्यमा एउटा अर्जेन्टिना एक इन्चले बिजेता र अर्को फ्रान्स पनि एकै इन्चले उपबिजेता भएछ । अनि “हार्नेको आँसु र जित्नेको हाँसो मेरो भन्नू छैन कुनैलाई गुनासो “भन्दै हाम्रो धुमबललाई पनि इतिश्री गर्यौँ अनिश्चित कालखण्डसम्म्लाई । मध्यरातमा स्वादिलो भोजन भोग गर्दै दिनभरिको केही क्षणभरिको तितामिठा सबै सबै यादलाई निन्द्रादेबीको काखमा समर्पित गर्यौँ । रातोघरको कुना कन्तरा र बुइगलमै लस्करै आधा दर्जन आङहरु असरल्ल पल्टियो । साथै बाघको गर्जनमा पनि क्रमशः बढ्दै गयो बिहानी सम्मै यसको प्रत्यक्षदर्शी भएर उक्त रात बिताइयो ।

भोलि पल्ट निलो आकाश ओढेर हरियाली बनपाखालाई अंगालेर शान्त र सुन्दर वातावरणमा भारदेउ र चौघरे मुस्कुराइ रहेको थियो । त्यहि मुस्कान अलिकती पैंचो मागी तात्तातो पानी , कफी र चियामा मिसाएर कोन्ज्योसोमको त्रिमुर्ती भएको धार्मिक पदयात्रा सुरु भयो । सबै जनामा उत्सुकता रमाइलो खुसी एकसाथ झल्किरहेको थियो । ढुंगाको सिँढी उकालो बाटोमा गफिदै सबै जना गुप्तेस्वोर मन्दिर र गुफामा पुगेर दर्शन र बिचरण गर्योँ । त्यहाँ पुग्दा भोक र प्यासले नि पर्दा खोलेर चियाउन थालेको थियो । हामीलाई उक्त त्रिमुर्ती भएको स्थान यत्ती टाढा छ भन्ने ज्ञात भएको भए सायद अलि सहज हुने थियो । नयाँ भएकोले हामी छिट्टै पुगेर फर्किने हुटहुटिले उक्लेका थियौँ । तर सोचे भन्दा विपरित समय धेरै लाग्यो । बिच बिचमा वनबाट दाउरा , पतकर र स्याउलालाई घर, गोठ, चुलो भेटाउन सकि नसकी बडेमानको भारी बोकेर ओर्लिदै गरेका तामाङ दाजुभाई र दिदिबहिनीहरुसित पनि बात मार्दै हामी अघि बढिरहेँ ।
बल्ल तल्ल गन्तव्यमा पुग्दा कोन्ज्योसोमका त्रिमुर्तिले हाम्रो थकान , भोक प्यास सबै हटाइदियो । हामी सबैजना पुनः खुशिले बुर्कुसि मार्दै ” ॐ माने पेमे हुँ ” ” ॐ आ हुङ बज्र गुरु पेमे सिद्धि हुङ” ” ॐ तारे तुरे तुतारे ” मन्त्रोच्चारण गर्दै दस औंला जोडदै कोन्ज्योसोमसित मोलम माग्यौँ ।

फुल्चोकीको आमनेसामने भएको उक्त ठाउँबाट काठमाडौ, मकवानपुर , काभ्रेपलाञ्चोक, ललितपुरकै अग्ला ठाउँहरु , हिमाल लगायत टाढा टाढासम्मका सुन्दर मनमोहक दृश्यले मन आनन्दित बनायो । पर्यापर्यटनको सम्भावना र आयामहरु यस भेगमा प्रशस्तै रहेको छ । उपत्यकाबाट धेरै नजिक रहेर पनि ओझेलमा परेको पर्यटकिय गन्तव्यलाई स्थानीय सरकारले गरेको प्रयास सराहनीय र गर्व गर्न लायकको छ । छिमेकि पालिका वाग्मती र महाँकाल अनि गोदावरी नगरपालिकाका सरोकारवालाहरुले अर्जुनदृस्टी दिएर योजना अघि सार्ने हो भने यी आसपासका भुगोल, प्राकृतिक सम्पदा , संस्कार संस्कृति, कला धर्म रितिरिवाज र खानपान जस्ता मौलिक पहिचानले दुर दुरसम्म पुगेर साइनो गाँस्न सक्ने कुरामा कुनै दुई मत छैन । गोदावरि नगरपालिकाको देबिचौर देउराली बागमतिको राडर कोन्ज्योसोमको दलचोकी चौघरे , त्रिमुर्ती स्थल हुँदै फुल्चोकीबाट गोदावरी निस्कने पदमार्गको प्रचुर सम्भावना छ । त्यस्तै यहि रुटको दायाँबायाँ लाग्ने हो भने अर्को छुट्टै सुन्दर आकर्षक मनमोहक गन्तव्य प्रशस्तै छन ।
फलोस फुलोस ती हाम्रा सहकर्मीहरुको जीवन , जय जय होस मंगल होस । जन्मेको दिनको सम्झनामा यसरी एउटा उदाहरणीय सेलिब्रेट गरि प्राकृतिक छटा र मनमोहक दृश्यहरु संगाली खुशी साटने अवसरका लागि पुनः आभार धन्यवाद

Back to top button