समाचार

दुधको मूल्य बढाउन सरकारलाई माघ मसान्तसम्मको अल्टिमेटम

ललितपुर ,पछिल्लो समय हरेक दैनिक उपभोग्य वस्तु, पेट्रोलियम पदार्थ लगायतमा २० देखि ३० प्रतिशतभन्दा मूल्यवृद्धि हुँदा पनि किसानले पाउने दुधको मूल्य वृद्धि हुन नसकेको भन्दै सरोकारवालाहरु विरोधमा उत्रन थालेका छन्। केन्द्रिय दुग्ध सहकारी संघ लिमिटेडको अगुवाईमा माघ महिनाभरमा दुधको मूल्य नबढाए उद्योगी व्यवसायीहरु संग छलफल गरी आफैं मूल्य बढाउने निर्णय गर्ने भन्दै सरकारलाई अल्टिमेटम नै दिएका छन्।

संघले गत पौष ३ गते सम्पन्न गरेको २८ औं साधारण सभाबाट पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका संघ संस्थाका प्रतिनिधिहरुबाट दुधको मूल्य अविलम्ब वृद्धि गर्ने निर्णय गरेको अवस्थामा पौष १६ गते विज्ञप्ति जारी गरी प्रधानमन्त्री कार्यालयमा दुधको मूल्य वृद्धि गर्न पौष २१ गते पत्राचार गरी पटकपटक ध्यानाकर्षण गर्दा समेत हालसम्म सरकारी निकाय गम्भीर नभएको भन्दै कृषि मन्त्रालयलाई फागुन १ गतेसम्ममा दुधको मूल्य वृद्धि गर्ने निर्णय गर्न अल्टिमेटम दिँदै उक्त मितिसम्ममा पनि मूल्यवृद्धि नभएमा डेरी उद्योगी व्यवसायीहरुको समन्वयमा संयुक्त घोषणा गरी दुधको मूल्य वृद्धि गर्ने घोषणा गरेको छ। यसैबीच केन्द्रिय संघको अनुरोधमा शुक्रबार ३६ जिल्लामा आन्दोलनका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन आयोजना गरिएको संघका महासचिव राम आचार्यले जानकारी दिएका छन्।

शुक्रबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा महासचिव आचार्यले दुधको मूल्यवृद्धि विषयमा प्रधानमन्त्री, विषयगत मन्त्रालय तथा बोर्डमा पनि आफूहरुले छ;लाफल गरिसके तापनि यसबारेमा अझै निर्णय हुन नसकेको बताए। अन्य सबै चिजवास्तुमा २० देखि ३० प्रतिशतसम्म मूल्यवृद्धि भईसक्दा समत दुधको मूल्य यथावत रहनु, पशु आहार, औषधी, सबै महँगो हुनुले किसानहरुको अवस्था दयनीय हुँदै गएको कारण यस विषयमा गम्भीर हुनुपर्ने अवस्था आएको उनको भनाई छ। उनले ललितपुर जिल्लामा दैनिक ७० हजार लिटरसम्म दुध उत्पादन हुने गरेको तर किसानको हक अधिकार, सहुलियतका विषयमा सम्बन्धित निकायले वास्ता नगर्दा कृषकहरु पेसाबाट नै पलायन हुनुपर्ने जोखिम बढेको बताए। साथै किसानको अवस्था सुधार गर्नका लागि सरकारले दिने ऋण ५ वर्षे अवधिबाट कम्तीमा १५ देखि २० वर्ष बढाउनुपर्ने र ऋण तथा सहुलियत रकमको दायरा बढाउनुपर्ने उनको भनाई छ।

ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष कृष्ण प्रसाद सापकोटाले दक्षिण पहाडी ललितपुर लगायत जिल्लाभारबता उत्पादन हुने दुधबाट वार्षिक करिब २ अरब रुपयाँ शहरबाट किसानसम्म पुग्ने बताए। यद्यपि गाइभैंसी, दाना, ढुटो, औषधीको मूल्यवृद्धि, कृषि कामदारको अभाव, व्यवसायिक पशुपालनका लागि स्रोत साधन र लगानीको अभाव आर्थिक मन्दी,व्यवसायिक सीप तथा तालिमको अभाव जस्ता समस्याले गर्दा वर्षेनी विदेशबाट ठुलो मात्रामा पाउडर तथा दुग्धजन्य पदार्थ आयात गर्नुपर्ने बाध्यता रहेको बताए। यस्तो अवस्थामा दुधको उत्पादन लागत घटाउने कार्यक्रमहरु संचालन नहुने र तत्कालको लागि दुधको मूल्य वृद्धि नगर्ने हो भने दुग्ध व्यवसायमा लागेका आम किसानहरु पलायन हुने निश्चित रहेको उनको भनाई छ।

संघले शनिबार एनडीए, डीआईए तथा, डेरी उद्योगी तथा ठुला व्यवसायीसंग छलफल समेत गर्दैछ। फागुन १ गतेसम्म पनि सरकारल्रे दुधको मूल्य बढाउने निर्णय नगरे आफूहरु नै अवस्था हेरेर मूल्य बढाउने निर्णय गर्ने तथा थप आन्दोलनका कार्यक्रमहरु समेत घोषणा गर्ने संघले जानकारी दिएको छ।

Related Articles

Back to top button