समाचार

बरिस्ठ पत्रकार दिपेन्द्र दोङ तामाङ्को निधन

बाबुलाल स्याङ्तान, तामाङ, ललितपुर –

तामाङ पत्रकार संघका सल्लाहकार एवं पुर्व उपाध्यक्ष दीपेन्द्र दोङ तामाङ्को हिजो चैत ११ गते शनिबार असामयिक निधन भएको छ । काभ्रेको तिमालस्थित कल्लेरीमा २०३६ चैत ९ गते जन्मनुभएका उहाँको ४३ वर्षकै उमेरमा ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । दुई साता अघि ब्रेन स्ट्रोक भई उहाँलाई अस्पताल भर्ना गरिएको थियो।

उहाँले नेपाल समाचारपत्र, रेडियो सगरमाथा, रेडियो एचबिसी, टाइम्स एफएम, इमेज च्यानल, सिटिजन एफएम, सहयात्री मासिक, तामाङ टाइम्स, सिनेयात्री मासिक, न्युज २४ टेलिभिजन, जनता रेडियोको स्टेसन मेनेजर, जनता टेलिभिजनमा एक्ज्युकेटिभ प्रोड्युसरका रुपमा काम गरिसक्नुभएका उहाँ पछिल्लो समय मध्यान्ह दैनिकको प्रमुख कार्यकारी अधिकृत तथा सम्पादक (२०७९ माघ १ बाट), सरलरेखा डट कममा प्रधानसम्पादक रुपमा कार्यरत हुनुहुन्थ्यो । विगत २५ वर्षदेखि पत्रकारितामा सक्रिय तामाङले पत्रकारितामा स्नातक र समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको थियो ।

साहित्यमा कथा, गीत, गजल, कवितामा प्रशस्त कलम चलाउनुभएका उहाँको ‘नाम्सारी’ तामाङ उपन्यास(२०५९), ‘हिमपुत्री’ उपन्यास (२०५४), ‘मध्यरातको घाम’ नेपाली गीति संग्रह (२०५४), ‘वेदनाका लहरहरु’ नेपाली गीति संग्रह (२०५२), ‘शंका’ नेपाली एकांकी नाटक (२०५१), ‘जेसुम’ तामाङ गीति नाटक, २०६९ प्रकाशित छन् ।

तामाङ चलचित्र लेखन तथा निर्देशनसमेत गर्नुभएका उहाँले अभिनयसमेत गर्नुभएको थियो । उहाँले मयुङ बुरिङ(तामाङ चलचित्र २०५८) र चाङ्छार (तामाङ चलचित्र) लेखन तथा निर्देशन गर्नुभएको थियो । पत्रकारितामा विभिन्न पुरस्कारसमेत प्राप्त गर्नुभएका उहाँ पछिल्लो समय अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा)को एसिया च्याप्टरका महासचिव चयन हुनुभएको थियो ।

संघको स्थापनादेखि संगठन विस्तार तथा विभिन्न कार्यक्रम सफल बनाउन उहाँले पुर्‍याउनुभएको योगदान अविष्मरणीय छ । उहाँको असामयिक निधनबाट संघले एक सशक्त योद्धा गुमाएको र यो समग्र पत्रकारिता क्षेत्रकै लागि ठूलो क्षति भएको महसुस गरेको छ।

उहाँको बौद्ध धर्म परम्पराअनुसार आज काठमाडौंको स्वयम्भूमा अन्त्येष्टि गरिने भएको छ । काठमाडौंको बौद्धस्थित तामाङ गुम्बामा उहाँको पार्थिव शरीर रहेको र आज विहान ९ बजे गुम्बाबाट २ घण्टा श्रद्धाञ्जलीका लागि राष्ट्रिय नाचघर जमलमा राखिने कार्यतालिका रहेको छ ।
मृतक तामाङको श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।

Related Articles

Back to top button