समाचार

कोन्ज्योसोम गाउँपालिकाले गर्यो सार्वजनिक सुनुवाइ

ललितपुर दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को चैत्र मसान्त सम्म सम्पादन गरेको कार्यहरु तथा सेवा प्रवाहको प्रभावकारीता विषयक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। सुशासन व्यवस्थापन तथा सन्चालन ऐन बमोजिम गाउँपालिकाका ५ वटै वडामा समेत सार्वजनिक सुनुवाई सन्चालन गरेको गाउँपालिकाले मंगलबार गाउँपालिका स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो।

गाउँपालिकाले सन्चालन गरेका कार्यक्रम तथा प्रदान गरेको सेवा प्रवाहको बारेमा पारदर्शिता, जवाफदेहिता र मितव्ययिताको प्रवर्धन गरी सुशासनको प्रत्याभूति गराउने तथा नागरिक अभिमत बमोजिम सेवा प्रवाहलाई थप प्रभावकारी र लक्षित वर्ग मैत्री बनाउने उद्देश्यका साथ् सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको गाउँपालिका प्रमुख कृष्णमान लामाले बताए। उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बूढथापाले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म भएगरेका कार्यहरुको फेहरिस्त प्रस्तुत गर्दै नागरिक अभिमत बाट प्राप्त भएको नागरिक प्रतिवेदन तथा बहिर्गमन अभिमत सर्वेक्षणको नतिजा प्रस्तुत गरी सुनाए।

सार्वजनिक सुनुवाईमा सहभागीले गाउँपालिकाको विकास निर्माण तथा सेवा प्रवाहको विषयमा विभिन्न असन्तुष्टि तथा प्रतिक्रिया जनाएका छन्। विशेष गरी योजना छनोट तथा सन्चालन, सार्वजनिक सेवा प्रवाह, प्रशासनिक झन्झट, जनप्रतिनिधि तथा कर्मचारीको व्यवहार लगायतका कुरामा सुनुवाइमा प्रश्न उठेका हुन्। सुनुवाईमा सहभागी अनुप घिमिरेले गाउँपालिकामा कार्यरत कर्मचारीहरुको दोहोरो सुविधाको विषयमा प्रश्न गर्दै राज्यले दिएको सुविधा सहित आवश्यकता भन्दा बढी इन्धन तथा यातायात सुविधाबारे प्रश्न गर्दै गाउँपालिकाले कर्मचारीका लागि आवास राखेको सुनिए तापनि कर्मचारीहरु उपत्यकाबाट नै किन ओहोरदोहोर गर्छन भनी प्रश्न गरे। यसैगरी सरोकार र उपभोक्ता भन्दा बाहिरका मानिसहरु नेता र जनप्रतिनिधिको रोजाई अनुसार उपभोक्ता समितिमा राखेको,गाउँपालिकाभित्र जुवातास, मदिरासेवन, कौडा जस्ता सामाजिक विकृतिहरु बढीरहंदा प्रहरी प्रशासन मौन रहेको,कर्मचारी संख्या अनुसारको सेवा प्रवाह नभएको जस्ता गुनासो घिमिरेले व्यक्त गरे।

यसैगरी अर्का सहभागी राजेन्द्र मोक्तानले गाउँपालिकाले आवधिक योजना बनाउँदा प्रत्यक्ष जनतासंगको छलफलबाट बनाउनुपर्नेमा जनप्रतिनिधि र कर्मचारीहरुले राजधानीका होटलमा गएर बनाउने गरेको गुनासो पोखे। साथै उनले वडा नं ५ अझैसम्म वडा सचिवविहीन रुपमा राखिएको भन्दै अब गाउँपालिकाले नताते स्थानीय जनता आफैं सचिव नियुक्तिको लागि तात्नुपर्ने बताए। मोक्तानले विर्खेधारा दलाचोकी शंखु सडक निर्माणमा ढिलाई भएको समेत असन्तुष्टि व्यक्त गरेका छन् ।

चौघरेकी डोल्मा लामाले गाउँपालिका भित्रका विद्यालयमा अनुगमन फितलो भएको र फेल भएका विद्यार्थीलाई विद्यालयमा ल्याउन गाह्रो भएको गुनासो पोखिन। लामाले एसईइको केन्द्र रहेको कोञ्ज्योसोमको एक मात्र वाघभैरव माविमा कक्षा १२ सम्म सन्चालन गर्नको लागि गाउँपालिकाको ध्यानाकर्षण गराएकी छन्। साथै उनले गाउँपालिकामा रहेको सानिमा बैंकले भरपर्दो र छरितो सेवा दिन नसकेको भन्दै सेवा सन्तोषजनक बनाउनुपर्ने नभए अर्को बैंक ल्याउनुपर्ने बताईन। स्थानीय राजनीतिकर्मी सरोज घलानले सामुदायिक विद्यालयमा अंग्रेजी भाषाको पढाईलाई प्रोत्साहान गर्नुपर्ने भन्दै गाउँपालिकाले स्थानीय पाठ्यक्रममा समावेश गर्न लागेको तामाङ्ग भाषाको अध्ययन अध्यापनको लागि विषयविज्ञ शिक्षकको आवश्यकता औंल्याए।

यस्तै सुनुवाईमा कर्मचारी दरबन्दी अनुरुप उपस्थिति र हाजिर नभएको भन्दै विद्युतीय हाजिरीको आवश्यकता रहेको, गाउँपालिकाले योजनाहरुको रकम भुक्तानीमा ढिलाई गरेको, स्थानीय श्रोत र साधनको प्रयोग बढाउन नसकिएको, नल्लुमा दर्ताबिना वडाध्यक्षकै मिलेमतोमा खानी सन्चालन भएको,इसिडी शिक्षक तथा विद्यालय कर्मचारीको सुविधा न्यून रहेको, सार्वजनिक जग्गाहरुमा भुमाफियाहरुको चलखेल बढेको, सार्वजनिक यातायात सेवा नपाईएको, कर्मचारी नियुक्तिमा राजनीतिक चलखेल बढेको जस्ता असन्तुष्टिहरु व्यक्त भएका छन्।

उठेका प्रश्न र सवालको जवाफमा गाउँपालिका प्रमुख कृष्णमान लामाले सबै सवालको शाखा प्रमुख तथा जनप्रतिनिधि र कर्मचारी सबै बसेर नयाँ योजनाका साथ समास्याको सामाधानका लागि अघि बढिने बताए। वडा सचिव विहीनताको सवालमा सचिव पठाउने अधिकार स्थानीय सरकारको नभएको हुँदा आफूहरुले खाली भएको दिन नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई खबर गरेको उनले बताए । यसैगरी गोष्टि सेमिनार हरु गाउँमा नहुने भन्दै लामाले ५ वर्षअघि बनाएका योजनाहरुलाई संशोधन गर्दै वार्षिक योजना, मध्यकालीन खर्च संरचना र आवधिक योजनाको विषयमा तालमेल मिलाउनु पर्ने भएकाले त्यसलाई विशेष बैठक आवश्यक भएको उनको भनाई छ। राजनीतिक रुपमा उठेका सवालहरुलाई राजनीतिक रुपमा नै समाधान गरिने अध्यक्ष लामाले बताए।

Related Articles

Back to top button