समाचार

प्यूटारमा १६ हप्ते कृषक पाठशाला सम्पन्न

सुन कुमारी थिङ,ललितपुर –गोलभेडा खेतीमा बढ्दो बिषादीलाई न्यूनिकरण गर्न एवम् स्वस्थ बाली उत्पादन, वातावरण संरक्षण र पर्यावरण सन्तुलन लगायतका विषयमा कृषकहरुलाई सचेत गराउने उद्देश्यले आयोजित १६ हप्ते आई.पी.एम. कृषक पाठशाला सम्पन्न भएको छ । बागमती गाउँपालिका वडा नं ४ थाङ्सिङटार प्यूटारमा संचालित आई.पी.एम. कृषक पाठशाला २०७९ माघ २ गतेबाट शुरु भएको हो । २०८० जेठ ९ गते कृषक दिवसको अवसर पारेर पाठशालाको समापन गरिएको हो ।

तरकारीमा रोग किराहरुको व्यवस्थापनका लागि कृषकस्तरमा जथाभावी विषादीको प्रयोग बढ्दै गईरहेको देखिन्छ । विषादीको जथाभावी प्रयोगको न्यूनिकरणका लागि वडा कार्यालयको आयोजना कृषक पाठशालाको आयोजना गरिएको कृषि अधिकृत सुवास खनालले जानकारी दिनुभयो । खनालका अनुसार हाल खुला तथा संरक्षित संरचनामा गोलभेडा खेती गदै आएका कृषकहरुले आधुनिक खेती प्रविधि अवलम्वन गर्नका लागि समस्या भोगिरहेका तथा गोलभेडामा पात खाने किरा, डढुवा रोग, ओइलाउने रोग लगायतका विभिन्न समस्या भोग्दै आएको सन्दर्भमा पाठशालाले उत्पन्न समस्याहरुको स्वपहिचान तथा समस्याको दिगो व्यवस्थापनका उपायहरुको अवलम्वन गर्न प्रेरित गरेको छ । पूर्णतया प्रयोगात्कम पाठशालामा सहभागी कृषकहरुमा गोलभेडा खेतीको बेर्ना तयारी देखि फल उत्पादन सम्म विषयवस्तुको ज्ञान, नेतृत्व क्षमता विकास, संगठनात्मक विकास जस्ता आयामहरुको विकासमा टेवा पुगेको खनालको भनाई छ ।

कार्यक्रमका प्रमुख अतिथी वडा अध्यक्ष श्री राम कुमार लामाले कृषकलाई वडाबाट प्रत्यक्ष लाभ हुने र आय आर्जनमा टेवा पुग्न सक्ने किसिमका कार्यक्रमहरु सञ्चालन गर्दै अर्गानिक कृषि उपज उत्पादन गरेर वडालाई कृषिमा आत्मनिर्भर बनाउन लागेको बताउनु भयो । सहभागीको तर्फबाट ले कृषक पाठशालाले प्रयोगात्कम कक्षाबाट धेरै कुराहरु सिक्न पाएको र स्वस्थ वाली उत्पादन गर्न, शत्रुजीवको व्यवस्थापन गर्न साथै गोलभेडामा देखा पर्ने विभिन्न समस्याहरुको पहिचान गरि व्यवस्थापन गर्न सक्षम भएको बताए ।
कृषक पाठशालाका अध्यक्ष विमला लामाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सुनमाया घलानले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । स्वागत मन्तव्य प्राविधिक सहायक राम शरण सापकोटा र कार्यक्रमको संचालन आइ पि एम सहभागी उमेश बजगाइले गर्नुभएको थियो ।
समापन कार्यक्रममा सहभागीहरुले विषादीको प्रयोगबारे सचेतना दिने नाटक, आइ पि एम गीत प्रस्तुत गरेका थिए । उक्त कार्यक्रमको अवसरमा सहभागीहरुलाई वडा अध्यक्षबाट प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रममा वडा सदस्य सुनमाया घलान राकेश लामा वडा सचिब लोकराज ‍ओली रोमा जिम्बा कृषि अधिकृत अस्मिता तिम्सिना कृषि शाखा तथा वडा कार्यालयका कर्मचारी थाङ्सिङटारवासी लगायतको उपस्थिति रहेको थियो ।

Related Articles

Back to top button