समाचार

हट्ने भो लगनखेल बसपार्क,श्रावण देखि बस स्टप मात्र

ललितपुर ,ललितपुर महानगरपालिकाले लगनखेल बसपार्कलाई अब बसस्टपका रूपमा मात्रै बनाउने भएको छ । धेरैवटा रुटका सवारीसाधन एकै ठाउँमा पार्किङ र यात्रुहरूको बढ्दो भिडभाड व्यवस्थापन गर्न महानगरले यसलाई बसस्टपका रूपमा मात्रै विकास गर्न लागेको हो ।

यो नियम १ साउनदेखि लागू हुने महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथूले जानकारी दिए । उनका अनुसार अहिले यो बसपार्कबाट दैनिक विभिन्न रुटका पाँच सय ५६ वटा सवारीसाधन छुट्छन् । ‘लगनखेलबाट धेरै रुटमा सार्वजनिक सवारीसाधन चल्छन्, यो क्षेत्रमा किनमेल गर्ने बजार पनि छ,’ हाछेथूले भने, ‘सवारीसाधनको घुइँचोले दुर्घटनाको जोखिम, पकेटमार तथा होहल्ला हुने गरेको छ । अब रातको समयमा यहाँ कुनै पनि सवारीसाधन वास बस्न नपाउने नियम बनाउँदै छौँ । यो ठाउँलाई बसस्टप मात्रै बनाउन लागेका छौँ ।’

यहाँबाट ललितपुरका ग्रामीण एवं सहरी क्षेत्रहरू धापाखेल, झरुवारासी, गोदावरी, दमैटार, बडिखेल, लुभु, मानेदोभान, लेले, गौशाला, चक्रपथ दायाँ–बायाँ, चापागाउँ, दक्षिणकाली, रत्नपार्क, बल्खु, डल्लु, बुङमती, छम्पी, चुनिखेल, टीकाभैरव, फर्सीडोल, खोकना, भैँसेपाटी मगरगाउँ, सुनाकोठी, डल्लु, भक्तपुर थिमी, च्यामासिंह, टीकाथली, बज्रबाराही, सानागाउँ, हेटौँडा, कलंकीलगायत ३७ वटाभन्दा बढी रुटमा सवारीसाधन छुट्ने गर्छन् । सानो ठाउँमा धेरै सवारीसाधन र ओहोरदोहोर गर्दा सास्ती भएको महानगरको भनाइ छ ।

हाछेथूका अनुसार जुन रुटमा चल्ने सवारीसाधन पनि साँझका वेला यहीँ वास बस्न आउँदा बसपार्क थप अस्तव्यस्त हुने गरेको छ । अब आ–आफ्नो सवारीसाधन पार्किङको जिम्मा स्वयं धनी हुनुपर्नेछ । ललितपुर महानगरले यहाँ केही समयअघि स्मार्ट शौचालय पनि निर्माण गरिसकेको छ । त्यस्तै, लगनखेलमा रहेको मन्दिरलाई पनि महानगरले व्यवस्थित गर्ने योजना अघि सारेको छ । आगामी वर्षको नीति तथा कार्यक्रममा महानगरले लगनखेल बसपार्कलाई व्यवस्थित बनाउने योजना पनि अघि सारेको छ ।
नयाँ पत्रीका बाट 

Related Articles

Back to top button