समाचार

बजारमा चिनी अभाव : कोही लुकाउँदै, कोही मौका छोप्दै

चाडबाडलाई लक्षित गरी सञ्चालन गरिएका सुपथ मूल्य पसलमा चिनी नपाएको गुनासो आमउपभोक्ताले गरेका छन् ।

चाडपर्वमात्र नभई दैनिक चिया कफीलगायतका पेयपदार्थ, मिठाइ आदिमा प्रयोग हुने चिनी, व्यापारीले अभाव भएको भन्दै लुकाउँदा बजारमा उपभोक्ताले पाउन छाडेका छन्। केही व्यापारीले भने मौका छोपेर महँगोमा बेच्न थालेका छन्।व्यापारीहरु भने आफूहरुले नै बढी मूल्यमा चिनी खरिद गर्नु पर्ने भएकाले बेच्न छाडेको भन्दै आक्रोश व्यक्त गर्छन्। ९० रुपैयाँ प्रतिकेजीमा बिक्री वितरण हुँदै आएको चिनी अहिले १५० पुगेको ललितपुरको कुपन्डोलका एक व्यापारीले बताए।

खाद्य व्यवस्था कम्पनीद्वारा ४२ जिल्लाका ४८ स्थानमा सञ्चालित सुपथ मूल्य पसलमा चिनी सकिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसअघि साल्ट ट्रेडिङ कर्पोरेसनबाट थोरै–थोरै परिमाणमा चिनी ल्याएर बिक्री गरिरहेको थियो । साल्ट ट्रेडिङमै मौज्दात न्यून भएपछि चिनी ल्याएर बेच्न नसिकएको हो।

अहिले कम्पनीमार्फत चिनी खरिदका लागि ४५ दिनको अवधि राखेर अन्तर्राष्ट्रिय बोलपत्र आह्वान प्रक्रिया अघि बढाइएको छ । सार्वजनिक खरिद ऐनको व्यवस्थाअनुसार बोलपत्र आह्वान, छनोट, स्वीकृति र त्यसपछि चिनी आपूर्तिको प्रक्रिया सुरु गर्दा दसैँ, तिहारलगायत चाडबाडको समयमा चिनी आइपुग्ने अवस्था देखिँदैन ।

Related Articles

Back to top button