राजनीतिसमाचार

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम ४७ जना सांसदको समर्थनबाट शनिबार मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीले नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) पार्टी र जनता समाजवादी पार्टीको समर्थनसहित विश्वासको मत पाउनुभएको हो ।

मुख्यमन्त्रीले प्रदेश सभामा प्रस्तुत गर्नुभएको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा ८६ र विपक्षमा पाँच मत परेको थियो । मुख्यमन्त्री कार्कीको प्रस्तावको विपक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच जना सांसदले मतदान गर्नुभयो । बुधबारको बैठकमा उपसभामुख बाहेक ९१ सांसद उपस्थित हुनुहुन्थ्यो भने राष्ट्रिय प्रजातन्त्र पार्टीका एक सांसद अनुपस्थित रहनुभएको थियो ।

बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्नुहुँदै मुख्यमन्त्री कार्कीले प्रदेशलाई मध्यावधि निर्वाचनमा जानबाट रोकेर स्थिर सरकार बनाउन नयाँ परिस्थितिबाट मुख्यमन्त्री बन्नुपरेको बताउनुभयो । विकास र सुशासनसहित प्रदेशमा स्थिर सरकार दिनका लागि सबै दलहरूका सांसदहरुबाट आफूले विश्वासको मत प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले सरकारको कामकारबाहीलाई निरन्तर निगरानी गर्न, खबरदारी गर्न, सरकार र मुख्यमन्त्रीको निर्भीकतापूर्वक आलोचना गर्न र सरकारलाई सही मार्गदर्शन गर्न आग्रह गर्नुभयो । उहाँले निरन्तर निगरानी र खबरदारीबाट सरकारले बाटो बिराउन नपाउने विश्वास व्यक्त गर्नुभयो ।

Related Articles

Back to top button