घट्यो खसी च्याङ्ग्राको मूल्य: प्रतिकिलो २ सय ५० रुपैँया कम

भक्तपुरको सल्लाघारीमा दसैँका लागि ल्याइएका च्याङ्ग्रा, भेडा, बोका, खसी बिक्री कम भएपछि व्यपारीले मूल्य घटाएका छन् ।
दसैँका लागि मात्रै बजार लाग्ने भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी चौरमा भक्तपुर, काठमाडौँं, काभ्रेपलाञ्चोकदेखिका उपभोक्ताको भीड लागे पनि अपेक्षित रुपमा बिक्री कम भएपछि व्यापारीले आजबाट मूल्य घटाएका हुन् ।दसैँको विजयादशमी सकिएपछि व्यापारीले मूल्य घटाएका हुन् । दसैँको लागि मुस्ताङ हुदैँ ल्याइएको च्याङ्ग्रा आजबाट किलोमा रु दुई सय ५० घटाएको छ । सबै व्यापारीको सल्लाहअनुसार नै च्याङ्ग्राको मूल्य घटाएर प्रतिकिलो एक हजार १०० मा बिक्री गरेको व्यापारीहरुले बताए ।
बझाङबाट ल्याइएको नेपाली च्याङ्ग्रा प्रतिकिलो रु ९०० मा बिक्री भइरहेको र चिनियाँ च्याङ्ग्रा प्रतिकिलो रु एक हजार १०० मा बिक्री भइरहेको छ । चीनबाट ल्याइएको च्याङ्ग्रा नेपाली व्यापारीले मुस्ताङबाट खरिद गर्दा किलोमा नभइ प्रति गोटा रु ३५ हजारदेखि ४० हजारसम्म तिुर्न परेकाले यसवर्ष च्याङ्ग्रा महँगो भएको हो ।