समाचार

बालगोपालेश्वर मन्दिरमा भाईटीका

काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाईटीका लगाएको  छ । बुधवार बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा दिदि-बहिनी नहुनेहरुलाई भाईटीका लगाउन शुरु गरिएको हो। दिदि-बहिनी नहुनेका लागि वर्षमा (आज) एकदिन मात्रै बालगोपालेश्वर मन्दिर खुलाउने प्रचलन रहेको छ ।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ। दिदिबहिनी एवं दाजुभाइ नहुनेहरू भाईटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गर्ने र टीका लगाउने गर्दछन्। तिहारको पाँचौं दिन आज दिदिबहिनीहरुले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था निष्ठाका साथ दीर्घायु, आरोग्य ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पाअनुसार सप्तरङ्गी टीका लगाइदिने गर्दछन् । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका अनुसार यस वर्षको तिहारको भाईटीकाको उत्तम साइत १० बजेर ५१ मिनेटमा रहेको छ । दिदिबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाईले पनि दिदिबहिनीलाई टीका लगाइदिन्छन् । दिदिबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ ।

लक्ष्मी पूजाका दिन स्थापना गरिएको दीप, कलश र गणेशको पूजा गरी मुल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदि-बहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ । टीका लगाइदिएपछि दिदिबहिनीले दाजुभाईलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदिबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतिक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ । परापूर्व कालमा मृत्युका राजा यमराज आफ्नी बहिनी यमुनालाई पृथ्वी लोकमा भेट्न आएका र यमुनाले निमन्त्रणा गरी यमराजलाई भेट्न बोलाइ पृथ्वी लोकमा भाईटीका लगाएको पौराणिक कथा छ । त्यो बेलामा यमपञ्चक परेको र यमपञ्चकभर यमराज यमुनाकोमा बसेर भाईटीकाको दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिएर दाजुसँग आशिर्वाद लिएको कथा छ ।

Related Articles

Back to top button