कृषिसमाचार

किसानका लागि खेतसम्मै प्रसारण लाइन विस्तार गर्दै सरकार

सरकारले कृषि उपजको उत्पादनमा अभिवृद्धि गर्दै आत्मनिर्भर बनाउने उद्देश्यका साथ थप कृषि मिटर उपलब्ध गराउने विषयमा छलफल सुरु गरेको छ । सिँचाइका लागि कृषि मिटर जरुरी भएको र किसानको मागअनुसार खेतसम्म ग्रीड विस्तार गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन लागिएको हो ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा मन्त्रालयमा राष्ट्रिय किसान आयोग, नेपाल विद्युत् प्राधिकरणका उच्च नेतृत्वसँग सो विषयमा छलफल गर्नुभयो ।

छलफलमा सहज रुपमा कृषि मिटर वितरण गर्ने, ग्रीड विस्तारलाई विशेष प्राथमिकतामा राख्ने र सिँचाइको सहज उपलब्धताका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग मिलेर काम गर्ने सहमति भएको छ ।

मन्त्री बस्नेतले कृषि मन्त्रालय र आवश्यक सरोकारवाला निकायसँग छलफलपछि ठोस रुपमा कामको रुपरेखा तयार हुने बताउनुभयो । कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउनका लागि सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्यका साथ सरकार लागिपरेको, ठूला सिँचाइका आयोजनालाई विशेष प्राथमिकतामा साथ कार्यान्वयनमा लगिएको जानकारी दिँदै मन्त्री बस्नेतले नेपाल विद्युत् प्राधिकरणलाई थप लाइन विस्तारका लागि आवश्यक निर्देशन दिइसकेको उल्लेख गर्नुभयो ।

सरकारको पछिल्लो विवरणअनुसार १५ लाख हेक्टरमा सिँचाइ सुविधा पुगिसकेको छ ।

Related Articles

Back to top button