ललितपुर // समाज परिवर्तनका संबाहक हुन शिक्षक।कुनै समय यो भनाइमा शतप्रतिशत सत्यता थियो।समाज र शिक्षक एक अर्काका परिपुरक थिए भन्दा फरक नपर्ला।तर आज- भोली यो सत्यताको खम्बा ढलिसकेको छ।केही दशक अघिका समयलाई फर्केर हेर्ने हो भने शिक्षक समाजको वकिल , डाक्टर , इन्जिनियर र पत्रकार भएर समुदायलाई सुसूचित गरेको प्रमाण प्रशस्तै छन।मान सम्मान इज्जतको त भारी बोकि नसक्नु हुन्थ्यो त्यतिखेरका शिक्षक तथा गुरु हरुलाइ।
हाल यी सबै क्रियाकलापमा कमि आएको छ।यसरी कमि आउनुमा केहि स्वयम् शिक्षकको पनि दोष छ भने केही समाजको,अनि केही राज्य चलाउन गएका चालकहरूको पनि दोष देखिन्छ।
शिक्षाको शक्ति कत्ती हुन्छ ? शिक्षालाई कसरी परिचालन गर्नु पर्छ शिक्षाले राष्ट्र निर्माणमा कस्तो भुमिका निर्वाह गर्छ भन्ने बिषय अहिले गौण हुँदै गइरहेको छ।
शैक्षिक सत्रको अन्त्यतिर वा कुनै बोर्ड परिक्षाको नतिजा आएपछि शिक्षाको गुणस्तरको चर्चा परिचर्चा अलि बाक्लै हुन्छ । तर त्यो केही समयपछि बिस्तारै सेलाएर जान्छ।सरकारी कर्मचारीहरुका छोराछोरी सामुदायिक विद्यालयमा पढाउने नीति आउनुपर्छ ,बनाउनुपर्छ , भन्छ फेरि सेलाउछ । सामुदायिक विद्यालयमा शिक्षण गर्ने शिक्षक कुनै पनि राजनितिक दलको सदस्य हुन पाइदैन भन्छन फेरि सेलाउछ। यस्ता दर्जनौं शिक्षा र शिक्षकसँग सम्बन्धित बिषयलाई
नजरअन्दाज गर्दै शिक्षकलाई तल्लो दर्जाको कर्मचारीको रुपमा हेर्छन् राज्यको बागडोर सम्हाल्ने हरुले।
यी यस्ता भलाकुसारीका बिच अहिलेको शैक्षिक क्रियाकलाप चलिरहेको छ । झन अहिलेको कोरोना महामारीले त यसलाई थङ्थिलोनै बनाएको छ । देशमा जस्तो सुकै संकट आए पनि मिठा मिठा सपना बुनि हवाई जहाज चढेर डलरदेखि रिङ्गेट टिप्न जानेहरुले सुनसान बनाएर गएका गाउँ बस्तीमा डाँडा माथिको घाम जूनको साहारा अनि कलिला बोटहरु हुर्काउने जिम्मा शिक्षकहरुकै काँधमा छ तिनै शिक्षकले कयौं आरोह अवरोहका बीच देशलाई आवश्यक जनशक्ति उत्पादन गरेको छ । जस्तो सुकै संकटमा पनि गाउँ रुँगेर बस्ने शिक्षक नै हो । मैले यहाँ यसो भनिराख्दा यिनले त शिक्षकको मात्रै गुनगान गरे भन्ने आरोपको पनि ख्याल गर्नै पर्छ भन्ने मलाई लागेको छ ।
शिक्षकले समाजमा रहेर के गर्न मिल्छ,के गर्न मिल्दैन फलानो मास्टरले त आज बिहेमा बियर पियो नि ! देख्यौ , छिलानो मास्टरले त हिजो तास खेलेको मेरै आँखाले देखें , त्यो सामाजिक पढाउने मास्टरले त धूम्रपान गर्दो रहेछ । अस्ति भर्खर आएको नयाँ सर चाहिँ फेसबुकमा झुन्डेर केटिहरुसित खुब च्याट गर्दो रहेछ । हाम्रो गाउँको धने मास्टर त झगडा गर्दै थियो छिमेकीसँग भनेर गाउँको चिया पसल र भट्टी पसलमा यस्ता आदि इत्यादी धेरै गफ हुन्छ र आरोप लगाइन्छ।हो मास्टर अर्थात् शिक्षक देशका राष्ट्रसेवक अनि भबिस्यका कर्णधार लाई सत्मार्ग देखाउने पथप्रदर्शक पनि हो । तर समय मिलाएर बेला बखतमा आफ्नो कुण्ठित केही इच्छालाई खोलेर मनोरञ्जन तथा जमघटलाई अझ रोमाञ्चक बनाउन माथी उल्लेखित कार्य गर्दा के तिनले पढाएका कुरा खेरै जान्छ त? के ती मास्टरहरुलाई चाहिँ खाने ,पिउने ,खेल्ने , मजाक लिने अधिकार छैनन् र ? के उनीहरु सधैं खान मन लागेको चीज नखाइकन ,नपिइकन , नखेलिकन एकोहोरो लगाम लागेको घोडा झै दौडिनु पर्छ भन्ने छ ?पक्कै छैन यसमा आ- आफ्नो रहर र हैसियत हेरेर शिक्षकले पनि मद्यपान गर्न मिल्छ तास खेल्न पनि मिल्छ धूम्रपान गर्न पनि मिल्छ तर फेरि यी सबै इस्तिहार सुनाइ राख्दा मास्टरसाहेबहरुले चाहिँ के भुल्नुहुँदैन भने , आफ्नो कर्तब्य , जिम्मेवारी , उत्तरदायित्व र जवाफ देहीताको पथबाट भने एक सिन्को यताउती हुन पनि छुट छैन । खाँदा ,पिउँदा अनि खेल्दा त्यसलाईनै पेशा वा आदत बनायौ भने समाजको लागि राष्ट्रको लागि त्यो जत्ती कलंक अरु कोहि हुनै सक्दैन ।
त्यस्तै शिक्षकहरु कोहि जग्गा दलाली,कोहि दलको झण्डा बोक्ने,कोहि एनजीओ चलाउने,कोहि व्यबसायी अनेक थरिका छन तर सबै शिक्षक त्यसता छैनन् । कोहि यस्ता शिक्षक पनि छन आफ्नो घरपरिवारलाई समेत समय दिन नभ्याइ आफ्नो पेशालाई नै धर्म सम्झेर अहोरात्र खट्ने पनि नभएको होइनन यसमा सम्बन्धित निकायले दण्ड र पुरस्कारको व्यवस्थालाई व्यवस्थित गर्ने हो भने सबै सामुदायिक विद्यालय अब्बल र राम्रो हुने थियो।नत्र हजार थरीका ऐन नियम नियमावलीले केहि पनि लछारपाटो लाउन सकिँदैन । नेपाली उखान "हिड्दै छ, पाइला मेट्दैछ" र " रातभरी करायो , दक्षिणा हरायो " भने झै भइरहन्छ । हुनेखाने बर्गको छोराछोरी निजि स्कुलमा पढि हाल्छ्न । अनि हुँदा खाने बर्गका छोराछोरी खाडीको प्लेन चढछ्न । परिवर्तन हुने यत्ती नै हो । बश फरक यत्ती नै हो
प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८ १७:१०