शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको अकाट्य प्रमाणका रूपमा अशोक स्तम्भलाई लिइन्छ ।ई.प.२४९ मा सम्राट अशोकले स्थापना गरेको अशोक स्तम्भमा कुँदिएको शिलालेख  नै बुद्ध जन्मस्थल लुम्बिनी हो भन्ने ऐतिहासिक प्रमाणिक तथ्य हो। लुम्बिनीलाई बुद्धजन्मस्लका रुपमा चिनाउने मुख्य आधार अशोक स्तम्भका पुरातात्विक संरचनामा नकरात्मक असर पर्न थालेपछि नजिकै बालिने बत्तीलाई परिसर बाहिर सारिएको छ। यूनेस्को, पुरातत्वविद्हरूले दिएको सुझाव अनुसार नै लुम्बिनी विकास कोषले अशोक स्तम्भ नजिकै बालिँदै आएको दियो सेड हटाएर बाहिर निर्माण गरिएको उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले बताए। यूनेस्कोले सन् २०११ मा गरेको अध्ययनमै लुम्बिनी वरिपरि निर्माण भएका उद्योगहरुको धुवाँ, धुलो, सिमेन्टका कण र स्तम्भ नजिकै बालिएको बत्तीको धुँवाले अशोकस्तम्भको पुरातात्विक संरचनालाई नकरात्मक असर परेको देखाएको थियो। एकै पटकमा ८ हजार बत्ती बाल्न सकिन्छ। कोषले दैनिकरूपमा एक लाख दियो बाल्न मिल्ने गरी दीर्घकालिन योजना बनाएको छ। माघ १२ देखि फागुन मसान्तसम्म १३ लाख ९ हजार ८ सय रुपैयाँ बराबरको बत्तीबाट आम्दानी भएको कोषको लेखा शाखाले जनाएको छ।