नवराज कार्की ( ललितपुर ) दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट चार किलोमिटर पूर्वतर्फ भीमेश्वर मन्दिर अवस्थित छ । सो मन्दिरभित्र रहेको भीमसेनको मूर्ति ‘दोलखा भीमसेन’ का नामले चर्चित बनेको हो ।
चिल्लो खरीको पत्थर बाट बनेको उक्त शिला मूर्ति त्रिभुजाकार छ । यसलाई भीमेश्वर, भीमसेन वा भैरवको रूपमा पनि पुजिन्छ । भिनसेन पाँच पाण्डवमध्येका माहिला भाइ हुन् । महाभारत युद्धमा महत्त्वपूर्ण भूमिका खेलेका उनी साहसी र पराक्रमी योद्धाका रूपमा चिनिन्छन् ।
भीमसेनलाई भगवान् शिवकै अवतारको रूपमा समेत मान्ने गरिएको छ । त्यसैले यहाँ पशुपतिको रूपमा रुद्री पूजा गर्ने गरिएको छ । साथै, भीमसेन, भैरवको रूपमा बली पूजा समेत गरिन्छ । यो प्रचलन कहिलेदेखि चलिआएको भन्ने यकिन छैन । बली पूजाको बेला महादेव शिव चूडामणिमा (दोलखा भीमसेन चूडामणि) गएर बस्नुहुन्छ र भीमसेन भैरवले मात्र बली पूजा गर्नुहुन्छ भन्ने कथन छ ।
भीमसेनलाई व्यापारीको इष्टदेवताको रूपमा समेत पुजिँदै आएको छ । सो मन्दिरमा पूजा गर्दा व्यवसायमा विघ्न–बाधा हट्ने र सफलता प्राप्त गर्न सकिने मान्यता छ । यहाँ भीमसेनको सामान्यदेखि ठुला पञ्च वलीका पूजासमेत गरिन्छ ।
[caption id="attachment_31207" align="aligncenter" width="300"]
भिमेश्वर मुर्ति[/caption]
पाँच पाण्डव एक वर्ष गुप्त बास बस्ने समयमा मन्दिर नजिकै बसेर गौरीशंकरको प्रार्थना गरेको किम्बदन्तीसमेत छ । त्यस समय पाँच पाण्डवले प्रयोग गरेको साङ्केतिक भाषा नै दोलखाका नेवार समुदायको स्थानीय भाषा भएको बताइन्छ ।
यो भीमेश्वर भीमसेनको मूर्ति कहिले र कसले स्थापना गरेको हो भन्ने तथ्य पत्ता लागेको छैन । भीमसेनको मूर्तिसँगै उनकी आमा कुन्ती, पत्नी द्रौपदी, भाइहरू नकुल र सहदेवका शिलाहरू छन् । पाँच पाण्डवमध्येका युधिष्ठिर र अर्जुन भने यहाँ अनुपस्थित देखिन्छन्।
दोलखाको भीमेश्वर मन्दिरभित्र रहेको भीमसेनको अश्वेत मूर्ति बेलाबखत देशव्यापी चर्चामा आउने गर्छ । चर्चाको विषय एउटै हुन्छ– मूर्तिमा ‘पसिना’ आउनु।
पछिल्लो पटक गत श्रावण ५ गते मूर्तिमा पसिना आएको खबर फैलियो ।यससँगै सरकारी निकायसमेतको संलग्नतामा राष्ट्र प्रमुख बाट क्षमा पूजा गर्ने तयारी भइरहेको बेला फेरि ९ गते दिउसो पसिना आएको खबर बाहिरियो। दोलखा भीमसेनलाई पसिना आउँदा देशमा ‘अनिष्ट’ हुन्छ भन्ने पुरातन विश्वास चली आएको छ। मूर्तिको दायाँ भागमा पसिना आए राज्य पक्ष र बायाँ भागमा पसिना आए प्रजा पक्षलाई हानी नोक्सानी पुर्याउने जनविश्वास रहेको छ।
[caption id="attachment_31208" align="aligncenter" width="300"]
भिमेश्वर मन्दिर[/caption]
मूर्तिमा आएको पसिनालाई पुजारीहरूले कपासले पुछी उक्त कपासलाई अन्य फूल–प्रसादसहित राष्ट्रपति, प्रधानसेनापति र पर्यटन मन्त्रीलाई पठाउने र राष्ट्रप्रमुख बाट क्षमा पूजा गर्ने पुरानो प्रचलन छ।यद्यपि राजतन्त्र कालमा यसरी भीमसेनलाई पसिना आउँदा दरबारले पञ्च वली पठाउने प्रचलन थियो । गणतन्त्रपछि त्यो परम्परा भने तोडियो । अहिले राष्ट्रपतिलाई महाप्रसाद पुर्याउने, राष्ट्रपतिले भेटिघटी दिने तथा साइत निकालेर राष्ट्रपतिकै नाममा क्षमा पूजा लगाउने प्रचलनले भने निरन्तरता पाई रहेको छ।
दोलखा भीमसेनमा पसिना आएको यो २१ औँ पटक हो । पछिल्लो कालखण्डमा वि. सं. १९९०,१९९७, २००७, २०१७, २०३६, २०४६ र २०५७ सालमा भीमसेनको मूर्तिमा पसिना आएको थियो । त्यस समयको आसपासमा भएका विभिन्न ठुला राजनीतिक परिवर्तन, प्राकृतिक विपत् र अन्य दुःखदायी घटनाहरूलाई भीमसेनको पसिनाले पूर्वसंकेत गरेको भन्ने मान्यता चली आएको छ।२०७२ को भूकम्प जानू अगाडि २०७७ कोरोना महामारी हुनु अगाडि र २०८१ श्रावण ५ गते पसिना आएको कहिदिन बित्न नपाउँदै विमान दुर्घटना र विमान दुर्घटना भएकै दिन पुन पसिना आउनु लगायतको घटनाक्रम हरूलाई हेर्दा अनिष्टको पूर्व सङ्केत हो भन्ने कुरा नकार्न सकिँदैन।
धर्मको कुरा, भगवानको कुरा आफ्नो ठाउँमा छ, तर मूर्तिलाई पसिना आउँदा विपत्ति आउँछ भन्ने कुरा विज्ञानको युगमा विश्वास गर्न सकिन्न। पृथ्वीको सतहमुनि भएको ताप कुनै तरिकाले लिकेज भएर मूर्तिबाट पानी रसाएको पनि हुन सक्छ। यद्यपि, निष्कर्षमा पुग्न भने वैज्ञानिक अनुसन्धान नै गर्नुपर्ने देखिन्छ ।दोलखा भीमसेन एउटा सामान्य पत्थरको मूर्ति हो । पत्थर एउटा निर्जीव वस्तु भएकाले यसमा ‘पसिना’ आउनु आफैँमा एउटा वैज्ञानिक खोजको विषय हुन सक्छ । तर, अहिलेसम्म सरकारी वा गैरसरकारी निकायबाट यसका लागि कुनै तत्परता देखाएको पाइँदैन । परम्परादेखि जे चलिआएको छ, अहिले पनि त्यसैलाई निरन्तरता दिइएको छ ।
(यो विभिन्न सञ्चार मध्यमहरूमा आएको विषयवस्तु हरूलाई समेटेर तयार पारिएको सामग्री हो।)