काठमाडौं - गत आर्थिक वर्ष २०८०/८१ को नाफाका आधारमा हालसम्म लाभांश घोषणा गरेका १४ सामूहिक लगानी कोष योजना (म्युचुअल फन्ड) मध्ये अधिकांशले १० प्रतिशतभन्दा कम नगद लाभांश वितरण गर्ने भएका छन् ।
पाँचओटाले १० प्रतिशत वा त्योभन्दा बढी लाभांश घोषणा गरेका छन् । खुलामुखी प्रकृतिका ७ र बन्दमुखी प्रकृतिका ३६ सामूहिक लगानी कोष सञ्चालनमा रहेको अवस्थामा ३ खुलामुखी योजनासहित १४ सामूहिक लगानी कोष योजनाले हालसम्म लाभांश सार्वजनिक गरेका छन् । एनआईसी एशिया सेलेक्ट ३० ले सबैभन्दा बढी १४ प्रतिशत लाभांश घोषणा गरेको छ । सन्राइज फोकस्ड इक्विटी फन्ड र लक्ष्मी भ्यालु फन्ड २ ले सबैभन्दा कम ४ दशमलव ५ प्रतिशत लाभांश घोषणा गरेका छन् ।
एनआईसी एशिया क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित एक खुलामुखीसहित पाँच योजनाले नै लाभांश सार्वजनिक गरिसकेको अवस्था छ । एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित खुलामुखी प्रकृतिको एनआईसी एशिया डायनामिक डेप्ट फन्डले यस वर्ष करसमेत १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस योजनाले गतवर्ष पनि १० प्रतिशत नै लाभांश वितरण गरेको थियो ।
त्यस्तै एनआईसी एशिया सेलेक्ट ३० र एनआईसी एशिया फ्लेक्सी क्याप फन्डले यस वर्षदेखि लाभांश वितरण गर्न शुरू गरेका छन् । गतवर्षको मुनाफाबाट एनआईसी एशिया सेलेक्ट ३० ले १४ र एनआईसी एशिया फ्लेक्सी क्याप फन्डले १० दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
यीबाहेक एनआईसी एशिया ब्यालेन्स्ड फन्डले गतवर्ष १० प्रतिशत नगद लाभांश वितरण गरेकोमा यस वर्ष शून्य दशमलव ७५ प्रतिशत बिन्दु कम, ९ दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको छ । एनआईसी एशिया क्यापिटलकै व्यवस्थापनमा सञ्चालित एनआईसी एशिया ग्रोथ फन्डले गतवर्ष १० दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेकोमा यस वर्ष १ प्रतिशत बिन्दु कम, ९ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको छ ।
धितोपत्र बजारमा लगानी गर्ने प्रमुख उदेश्यसहित सञ्चालित यी दुई योजनाको लाभांश गतवर्षभन्दा यस वर्ष कम देखिन्छ । गत आवको असार १७ गतेदेखि धितोपत्रको दोस्रो बजार बढ्न शुरू गरेको थियो । असार मसान्तसम्मको मुनाफाका आधारमा लाभांश वितरण गर्नुपर्ने अवस्थामा बजार बढे पनि धितोपत्रमा भएको लगानी नबढाएकाले वास्तविक नाफा कम भएकाले लाभांश पनि कम हुन आएको एनआईसी एशिया क्यापिटलका मर्चेन्ट बैंकिङ प्रमुख दामोदर रायमाझीले जानकारी दिए ।
यस वर्ष एनआईसी एशिया क्यापिटलअन्तर्गतका १ बाहेकका सबै योजनाका एकाइधनीको हात खाली नगराएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि एकाइधनीलाई निराश नबनाउने गरी योजना सञ्चालनमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरे । यस क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनआईसी एशिया ग्रोथ फन्ड २ ले २०८० मङ्सिरमा एकाइ जारी गरेको हो । लक्ष्मी क्यापिटल लिमिटेडअन्तर्गतका तीनओटै योजनाले लाभांश सार्वजनिक गरिसकेका छन् । खुलामुखी प्रकृतिको शुभलक्ष्मी कोषले ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । उक्त योजनाले यसै वर्षदेखि लाभांश वितरण शुरू गरेको हो । त्यस्तै लक्ष्मी उन्नति कोषले गतवर्ष ९ दशमलव ५ प्रतिशत लाभांश वितरण गरेकोमा यस वर्ष २ प्रतिशत बिन्दु कम, ७ दशमलव ५ प्रतिशत वितरण गर्न लागेको छ । लक्ष्मी भ्यालु फन्डले पनि यसै वर्षदेखि नगद लाभांश वितरण गर्न शुरू गरेको छ । यसले ४ दशमलव ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
सिद्धार्थ क्यापिटलअन्तर्गत सञ्चालित १ योजना सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३ ले यस वर्षदेखि लाभांश वितरण गर्न शुरू गरेको छ । यसले ७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सन्दीप कार्कीले २०८० वैशाख १७ देखि सञ्चालित उक्त योजना पहिलो वर्ष नै लाभांश दिन सफल भएको बताए ।
योबाहेक अन्य योजनाका लागि भने आगामी वर्ष राम्रो लाभांश दिने क्यापिटलको योजना रहेको कार्कीले बताए । म्युचुअल फन्डको संख्या बढ्दै जाँदा धितोपत्रमा लगानी गर्ने प्रमुख उद्देश्यसहित सञ्चालित योजनाहरूले गर्ने लगानीमा समेत विविधता आवश्यक रहेको उनले बताए । सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा १ खुलामुखी योजनासहित चार योजना सञ्चालनमा छन् ।
यीबाहेक कुमारी क्यापिटलको व्यवस्थापनमा सञ्चालित १ खुलामुखीसहित तीन योजनाको लाभांशसमेत सार्वजनिक भइसकेको छ । कुमारी इक्विटी फन्ड र कुमारी धनवृद्धि योजना दुवैले समान ९ दशमलव ५ प्रतिशत र खुलामुखी प्रकृतिको कुमारी सुनौलो लगानी योजनाले १० दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । गतवर्ष कुमारी इक्विटी फन्डले १० प्रतिशत र कुमारी धनवृद्धि योजनाले ६ प्रतिशत लाभांश वितरण गरेका थिए । यस वर्ष दुवै योजनाको लाभांशमा कमी आएको छ । कुमारी सुनौलो योजनाले भने पहिलो वर्ष लाभांश वितरण गर्न लागेको हो । सन्राइज फोकस्ड इक्विटी फन्डले ४ दशमलव ५ प्रतिशत लाभांश पहिलो वर्ष वितरण गर्न लागेको छ भने सन्राइज फस्र्टले गतवर्ष १६ प्रतिशत लाभांश वितरण गरेकोमा यस वर्ष १२ प्रतिशत वितरण गर्न लागेको छ ।