काठमाडौं - दशैंको पहिलो दिन घटस्थापना, नेपालीको घरघरमा जमरा राखिएको छ । विधिपूर्वक घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले यस दिनलाई घटस्थापना भनिएको हो । घटस्थापनाको दिन पूजाकोठा, दसैंघर अथवा कोतमा दियो कलश र गणेश थापी नवदुर्गाको स्थापना गर्ने चलन छ । घटस्थापनाका दिन पूजा कोठामा घडामा जलभरि माथिपटि आँप, चाप, वरपिपलको पात राख्ने परम्परा छ । यो घडा वरिपरि गाईको गोबर टाँसेर त्यहाँ जौ उमार्ने चलन छ ।
कहीँकहीँ मकै र गहुँको प्रयोग भए पनि अधिकांश स्थानमा जौ छर्ने प्रचलन रहेको छ । जमरा आयुर्वेदिक औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ । स्वास्थ्यको लागि पनि सुपाच्य, भोक लगाउने भएकाले जमरालाई महत्वका साथ लिइन्छ ।
यसैबीच काठमाडौंको हनुमान ढोकास्थित दशैँघरमा पनि विधिवत रुपमा जमरा राखिएको छ । उक्त अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाइँ गरिएको थियो । नियमपूर्वक मन्त्रोच्चारण गरी दशैघरमा घटस्थापना र जमरा राखिएको हो ।
जौं को अङ्कुर दुर्गा देविको प्रिय वस्तु भएकोले दुर्गालाई चढाएर दशमी अर्थात विजयादशमी को दिन टिका प्रसादसंगै समृद्घिको प्रतिकको रुपमा जमरा धारण गर्री मान्यजनबाट आर्शिबाद लिने प्रचलन छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ घटस्थापनासँगै सुरु भएको हो । बडादशै आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन विभिन्न शक्तिपीठमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।
बिहानैदेखि भक्तपुरको ब्रह्मायणी मन्दिर सहित अन्य धार्मिक स्थानमा दर्शनार्थीको भीड लागेको छ । भक्तपुरका नौ शक्तिपीठमा नवरात्रिभरि मेला लाग्ने गर्दछ । नवरात्रि मेलामा पहिलो दिन ब्रह्मायणी, दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौँ दिन बाराही, छैटौँ दिन इन्द्रायणी, सातौँ दिन महाकाली, आठौँ दिन महालक्ष्मी, नवौँ दिन त्रिपुरासुन्दरी र अन्तिममा विजयादशमीको दिन पुनः ब्रह्मायणीमा भव्य मेला गर्दै दशैँ समापन गर्ने प्रचलन छ ।
नवमीको दिन राति भक्तपुरमा महिषासुरु दैत्यको प्रतीकका रुपमा लिइने खमेय जात्रा मनाउने गरिन्छ । नवदुर्गा मन्दिरबाट मदिरा सेवा गराई पूजा गरेको खमये राँगोलाई दौडाउँदै ल्याएर ब्रह्मायणीमा बलि दिने प्रचलन छ । नवमीको दिन रातिभरि र दशमीको दिन ब्रह्मायणीमा हजारौँको भीडमा मेला भर्ने गरिन्छ । यस्तै बडादशैंको पहिलो दिन घर घरमा घटस्थापना गर्नका माटो लिन भक्तपुरको च्यामासिंहमा भने भीड लाग्ने गरेको छ ।