गत असोज १० गतेदेखि परेको अविरल वर्षाले देशका विभिन्न भागमा जनधनको ठुलो क्षति भएको छ । तथापि दक्षिण ललितपुरको स्थिति भने निकै गम्भीर बनेको छ।
विशेष गरी दक्षिण ललितपुरको महाङकाल गाउँपालिकामा ठुलो मानवीय र भौतिक क्षति हुन पुगेको छ। बागमती गाउँपालिका र कोन्ज्योसोम गाउँपालिका सहित गोदावरी नगरपालिकाको दक्षिणी भेगका क्षेत्रहरू चापागाउँ, लेले, टिका भैरव, र देबिचौरले पनि अकल्पनीय हानि बेहोर्नु परेको छ। ती क्षेत्रहरूमा रहेको जनजीवन अझै सामान्य अवस्थामा फर्कन सकेको छैन।
बाढी र पहिरोको असर
महाङकाल गाउँपालिकामा मात्र हालसम्म दर्जनौँ घरहरू पूर्ण रूपमा भत्किएका छन्। कृषियोग्य जमिनहरू बाढीले बगाएर बगरमा परिणत भएका छन्। चापागाउँ र लेले क्षेत्रमा पहिरो गएका छन्, जसले गर्दा बस्तीहरू जोखिममा परेका छन्।
टिका भैरव क्षेत्रमा पनि ठुलो क्षति भएको छ। केही स्थानमा बाढीले पुरै गाउँ नै बगाएको छ भने कतिपय गाउँहरू पहिरोका कारण विच्छेद भएका छन्। बागमती गाउँपालिकाको बागमती तटीय क्षेत्र प्युटार आश्राङ गिम्दीको खेती योग्य जमिन बागमतीले बगरमा परिणत गरेको छ भने कोन्ज्योसोम गाउँपालिका भित्रका सबै वडा प्रभावित भएका छन्।
कान्तिलोकपथ पूर्ण रूपमा बन्द भएको थियो भने खानि खोला हाइड्रोपावर पुरिएको छ। दक्षिण भेगमा सञ्चार बिद्धुत पूर्ण बन्द भएको थियो ।प्रभावित क्षेत्रहरूमा बाँच्न सङ्घर्ष गरिरहेका मानिसहरूका लागि सरकारबाट तत्काल राहत र पुनर्स्थापनाको व्यवस्था आवश्यक छ। तर, सरकारको राहत वितरणमा पनि प्रभावकारी योजना नदेखिएको जनगुनासो तीव्र रूपमा बढ्दै छ।
बन तथा भू संरक्षण विभागका महानिर्देशक शिव कुमार वाग्ले भन्नू हुन्छ " जमिनमा खन्दा वा जमिन माथि चोट पुर्याउदा जमिन हल्लिन्छ त्यसले गर्दा जमिनको टेक्सस(जमेर बसेको माटो) घट्छ त्यसो हुँदा पानी पर्दा चिरा परेको जमिन भित्र पानी छिरेपछि पहिरो निम्त्याउँछ भन्ने कुरालाई आधार मान्ने हो भने सडक वा खानिको कारणले पनि हो भनेर भन्न सकिन्छ यद्यपि आजको मिति सम्म कुनै पनि डाटा वा तथ्याङ्क नभएको हुँदा यही मात्र कारण हुन भनेर भन्न सकिन्न।"
अव्यवस्थित बिकास र बिनास
स्थानीय तह हरूले डोजर विकासको नाममा जथाभाबी रूपमा बाटो खन्ने, जग्गा प्लानिङ गर्ने,खानी क्रसर र खोला किनाराका बस्तीहरूलाई सहज अनुमति दिने जस्ता कार्यले पनि विनाशलाई निम्त्याएको विश्लेषण गरिएको छ। दक्षिण ललितपुरका विभिन्न क्षेत्रमा स्थानीय सरकारको अव्यवस्थित र पूर्वानुमानबिना भएका विकासका गतिविधिहरू बाढी र पहिरोको कारण बन्न पुगेको कुरालाई नकार्न सकिन्न।
दक्षिण ललितपुरका पहाडी भू-भागमा उचित योजना बिना गरिएको डोजर विकासले जमिनको सतहलाई कमजोर बनाएको छ, जसले गर्दा बाढी र पहिरोको जोखिम अत्यधिक बढेको हो। "खेतबारीको भूमिमा बनेका अव्यवस्थित सडकले पानीको उचित निकास बन्द गरिदियो, जसले गर्दा स्थानीय बस्तीहरू डुबानमा परे। स्थानीय तह हरुले विकास भनेकै सडक निर्माण हो भन्ने सोचेर गरिएको यस्तो प्रकारको विकासले न त गन्तव्य पायो न स्थानीयले सुख फगत क्षणिक लाभ मात्र देखियो।
स्थानिय सरकारको भुमिका
स्थानीय सरकारले विकासका नाममा वातावरणीय जोखिमको पर्याप्त अध्ययन नगरी जथाभाबी बाटो खन्ने र खोला किनारामा बस्ती बसाउन अनुमति दिने काम गरेका छन्। यसले विपत्तिको मात्रा बढाएको हो। कतिपय स्थानमा बाटो निर्माणकै क्रममा नदीहरूको स्वाभाविक बहावलाई रोक्ने काम भएको छ, जसले गर्दा पानीको बहावमा अवरोध उत्पन्न भएको छ।
महाङकाल गाउँपालिका, गोदावरी नगरपालिकाका दक्षिणी भेग, बागमती र कोन्ज्योसोम गाउँपालिकाका विभिन्न क्षेत्रमा यस्ता अव्यवस्थित विकासका कारण प्राकृतिक विपत्तिहरू थप गम्भीर बन्न पुगेका छन्। पहिरो र बाढीको पूर्वानुमान नगरी विकासका कार्यहरूलाई प्राथमिकता दिने प्रवृत्तिले स्थायी रूपमा जनजीवनलाई जोखिममा पारेको हो।
डिभिजन बन कार्यालय ललितपुरका अधिकृत हेम बहादुर थापा भन्नू हुन्छ "जमिनको अनुकूल काम गर्नु पर्नेमा हामिले आफू अनुकूल काम गरेऊ।हाम्रो भू धरातललाई नबुझी जथाभाबी सडक संन्जाल लगायत जमिनलाई कम्पन दिने खालको गतिविधि गर्दा प्राकृतिक प्रकोप तुलनात्मक रूपमा बढिनै हुन्छ "
बिपद ब्यबस्थापन
अबको चुनौती भनेको पीडितहरूको उद्धार, राहत वितरण, र पुनर्स्थापना मात्र नभई भविष्यमा यस्ता विपत्तिहरूको पुनरावृत्ति रोक्नका लागि वैज्ञानिक र दिगो विकासका नीतिहरूलाई अवलम्बन गर्नु हो। स्थानीय सरकारले समावेशी र पूर्वनिर्धारित योजना बिना गरिएको विकासका कार्यहरूलाई पुनःमूल्यांकन गर्नु अपरिहार्य भएको छ।
विकासका कार्यहरू दिगो हुनका लागि स्थानीय भौगोलिक अवस्थाको अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन र विपद् पूर्वानुमानसम्बन्धी नीति र योजनाहरू अनिवार्य हुनुपर्छ।" यसमा मात्र होइन, अव्यवस्थित रूपमा बसोबास भएका बस्तीहरूलाई पनि पुनः व्यवस्थापन गर्नुपर्ने देखिन्छ।
दक्षिण ललितपुरमा डोजर विकासले ल्याएको विपत्तिको एउटा ज्वलन्त उदाहरण हो, जसले अव्यवस्थित विकासको परिणामलाई स्पष्ट रूपमा देखाएको छ।
ब्यानर तस्बिर - केदारनाथ दहाल