ललितपुर - ललितपुरको बागमती गाउँपालिका–७, गिम्दीस्थित बाल भैरव आधारभूत विद्यालयमा शैक्षिक सत्र सुरु भएदेखि प्रधानाध्यापक उपेन्द्र स्याङ्तान विद्यालयमा अनुपस्थित रहेको पाइएको छ।
गत शैक्षिक सत्रको माघ फाल्गुन देखि अनुपस्थित रहेको यो शैक्षिक सत्र सुरु भएयता विद्यालयमा नआएका स्याङ्तानले विद्यालयको जिम्मेवारी भीम घलानलाई सुम्पिएको खुलेको छ। तर, घलानले अध्यापन गराएबापत पाउनुपर्ने झन्डै ४० हजार रुपैयाँ तलब समेत नपाएको गुनासो घलानले स्थानीय सँग गुनासो गरेको छन्।
विद्यालयमा हाल १७ जना विद्यार्थी अध्ययनरत छन्। प्रधानाध्यापकको अनुपस्थितिले नियमित पठनपाठनमा अवरोध मात्र होइन, विद्यालयको आर्थिक व्यवस्थापनमा पनि प्रश्न खडा भएको छ। स्थानीय बासिन्दाहरूले दिवा खाजाका लागि आउने रकम समेत दुरुपयोग भएको दाबी गरेका छन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर स्याङ्तानका अनुसार, पटक–पटक जानकारी गराउँदा पनि प्रधानाध्यापकले विद्यालयमा उपस्थिति जनाएका छैनन्।“विद्यालयमा देखिएको यो लापरबाहीले विद्यार्थीहरूको भविष्य अन्योलमा पारेको छ,” अध्यक्ष स्याङ्तानले बताए। स्थानीय बासिन्दा अर्जुन सन्जेलले विद्यालयमा प्रधानाध्यापकको गैर जिम्मेवारीले यहाँको शैक्षिक वातावरण बिग्रिएको बताउँदै तुरुन्त सुधारात्मक कदम चाल्नुपर्ने माग गरेका छन्।
यस विषयमा बागमती गाउँपालिकाका शिक्षा शाखा प्रमुख प्रेम पुरीले आफूले भर्खरै मात्र जानकारी पाएको बताए। “तुरुन्तै घटनाको वास्तविकता बुझ्न टोली पठाउनेछौँ र आवश्यक कदम चाल्नेछौँ,” पुरीले प्रतिक्रिया दिए।
विद्यालयमा देखिएको यो खाले लापरबाहीले विद्यार्थीहरूको पढाइ प्रभावित हुनुका साथै व्यवस्थापकीय जिम्मेवारीप्रति गम्भीर प्रश्न उठाएको छ। स्थानीय बासिन्दाहरूले प्रधानाध्यापकलाई कारबाही गरी विद्यालय व्यवस्थापनमा सुधार गर्न माग गरेका छन्। यदि समयमै सुधारात्मक कदम चालिएन भने यसले विद्यार्थीहरूको भविष्यमा गम्भीर असर पार्ने स्थानीयहरूको दाबी छ।