ललितपुर - बागमती गाउँपालिकाले पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि चालिएका कदमहरूमध्ये बजेट विनियोजनमा देखिएको प्राथमिकता र कार्यान्वयन प्रक्रियाले स्थानीय तहको दूरदर्शितामा गम्भीर प्रश्न खडा गरेको छ। सम्भाव्यता अध्ययन र कार्यविधि नबनाईकन गरिएको लगानीले अपेक्षित प्रतिफल दिन नसकेको कुरालाई नकार्न सकिन्न
बागमती गाउँपालिकाले ग्रामीण पर्यटनको लागि विभिन्न क्षेत्रमा बजेट विनियोजन गरे पनि त्यसको उपयोगिता र दीर्घकालीन प्रभावका बारेमा अध्ययन नगरी हचुवाको भरमा गरिएका लगानी बालुवामा पानी खन्याएको जस्तो भइरहेको छ। "कसरी र कहाँ लगानी गर्दा दीर्घकालीन प्रतिफल प्राप्त गर्न सकिन्छ" भन्ने विषयको सामान्य ज्ञानलाई समेत मध्यनजर गर्न नसक्नुले बेथिति बढ्दै गएको कुरालाई नकार्न सकिन्न।
बागमती गाउँपालिकाले ग्रामीण पर्यटनको लागि भट्टेडाँडाको राडार क्षेत्रलाई मात्र एकतर्फी महत्त्व दिनुले अन्य सम्भावित क्षेत्र ओझेलमा परेका छन् । माल्टा फाँट, सिद्धेश्वर महादेव, महाङ्कालस्थान मन्दिर, इकुडोलको माझ खण्ड बुद्ध विहार, आश्राङको घ्याम्पे दह, गिम्दीको चमेरो गुफा,प्युटारको तलतले डाँडा जस्ता स्थानहरू छन्। जसले ग्रामीण पर्यटन विकासमा महत्त्वपूर्ण योगदान दिन सक्नेछन्। यी ठाउँहरू ऐतिहासिक, धार्मिक, र प्राकृतिक रूपमा विशिष्ट मानिन्छन्। तर, स्थानीय सरकारले यस्ता सम्भावनालाई प्रोत्साहित गर्न पर्याप्त ध्यान दिन सकेको छैन। सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्ने लक्ष्यका साथ, यी ठाउँहरूको समुचित विकास र प्रचारप्रसार गर्न नसक्नु दुर्भाग्यपूर्ण छ।
पर्यटन विकासको नाममा विभिन्न योजनाहरूमा लगानी गरिए पनि, ती योजनाको वातावरणीय प्रभाव, दीर्घकालीन लाभ र विपद् व्यवस्थापनजस्ता पक्षमाथि पर्याप्त अनुसन्धान नगरिएको देखिन्छ। बाटोहरूको कमजोर अवस्था, संरचना निर्माणको गुणस्तर, र सम्भावित प्रकोपहरूको असरलाई बेवास्ता गर्दै लगानी गर्दा परियोजनाहरू सफल हुन नसक्ने सम्भावना उच्च छ। दीर्घकालीन सोचको अभावमा छोटो अवधिको फाइदा मात्र हेर्ने प्रवृत्तिले लगानीलाई अनुत्पादक बनाइरहेको छ।
स्थानीय सरकारको लगानीका प्राथमिकतामा देखिएको असन्तुलनले व्यवस्थापकीय कमजोरी उजागर गरेको छ। कस्तो ठाउँमा लगानी गर्दा कस्तो प्रतिफल प्राप्त हुन सक्छ भन्ने विषयमा सामान्य ज्ञानको समेत हेक्का नराखी लगानी गरेका केही ठाउँ हरू लथालिङ्ग अवस्थामा छ।आर्थिक, सामाजिक, र पर्यावरणीय आयामलाई ध्यानमा राखी योजनाहरू तयार नगर्दा स्रोतसाधनको दुरुपयोग भइरहेको छ। सम्भावनायुक्त क्षेत्रहरूको उपेक्षा गर्दै, न्यून सम्भावना भएका क्षेत्रमा हचुवाको भरमा गरिएको लगानीले समग्र पर्यटन प्रवर्द्धनमा नकारात्मक असर पारिरहेको छ।
पर्यटन क्षेत्रलाई दिगो विकासको माध्यम बनाउन स्थानीय सरकारले स्पष्ट नीति, दीर्घकालीन योजना र प्रभावकारी कार्यान्वयन प्रक्रिया अघि बढाउनुपर्छ। सम्भाव्यता अध्ययनको आधारमा बजेट छुट्टाउने, वातावरणीय प्रभाव र जोखिमको पूर्वानुमान गर्ने तथा स्थानीय स्रोतसाधनको उचित व्यवस्थापन गर्दै ग्रामीण पर्यटनको प्रवर्द्धन गर्नुपर्ने आवश्यकता छ। यी उपायहरूलाई लागू नगर्दासम्म, बागमती गाउँपालिकाको पर्यटन विकासले अपेक्षित उपलब्धि हासिल गर्न सक्दैन।