ललितपुर - ललितपुरको बागमती गाउँपालिका–४, प्युटारमा आयोजित वडा अध्यक्ष कप रनिङ शिल्ड ब्याडमिन्टन प्रतियोगिता मङ्सिर २१ देखि २३ गतेसम्म सफलतापूर्वक सम्पन्न भएको छ। प्युटार खेलकुद समितिको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा ललितपुरका तीन गाउँपालिका र मकवानपुरको बकैया गाउँपालिका, मन्थली–१० सहित २३ टिमले सहभागिता जनाएका थिए।
तीन दिनसम्म चलेको प्रतिस्पर्धामा बागमती गाउँपालिकाको गिम्दि टिमले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्यो। महाकाल गाउँपालिका दोस्रो र तेस्रो स्थानमा रहँदा कोन्ज्योसोम गाउँपालिका चौथो स्थानमा सीमित भयो।
प्रतियोगिताको प्रमुख अतिथि बागमती गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चान थिए। उनले नेपालले क्रिकेटमार्फत विश्वसामु आफ्नो पहिचान बनाउन सफल भएको उल्लेख गर्दै ब्याड्मिन्टनले पनि नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
विशेष अतिथि उपाध्यक्ष भक्त बहादुर दर्लामी मगरले खेलकुदले गाउँपालिकाको पहिचान र आपसी भाइचारालाई मजबुत बनाउने बताए। साथै, उनले यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिन गाउँपालिकाले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए।
कार्यक्रमका सभापति वडा अध्यक्ष रामकुमार लामाले प्रतियोगिताको उद्देश्य स्थानीय खेलाडीको क्षमता अभिवृद्धि गर्नु रहेको बताए। उनले खेलकुद क्षेत्रको विकासका लागि वडा तहबाटै पहल सुरु गर्न आवश्यक रहेको पनि जोड दिए।
प्रतियोगितामा खेलाडीहरूबिच कडा प्रतिस्पर्धा देखिनुका साथै दर्शकहरूको उत्साहजनक उपस्थिति रहेको थियो। विशेष गरी, स्थानीय युवाहरूमा यस्तो कार्यक्रमले सकारात्मक ऊर्जा थपेको सहभागीहरूले बताए।
प्रतियोगिताको सफलतापछि आयोजक प्युटार खेलकुद समितिले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने र राष्ट्रिय स्तरका प्रतियोगिता आयोजनाको पहल गर्ने योजना रहेको बताएको छ।
खेलकुदप्रति स्थानीय तहको यो सक्रियताले समग्र गाउँपालिकाको खेलकुद विकासमा टेवा पुर्याउने देखिएको छ। प्रतियोगिताले स्थानीय युवाहरूलाई खेलकुदतर्फ प्रेरित गर्न थप ऊर्जा थप्ने विश्वास गरिएको छ।