ललितपुर - नेपालको संविधानले बालविवाहलाई पूर्णतया अवैध र दण्डनीय ठहर गर्दै बालबालिकाको अधिकारलाई सुरक्षित राख्न विशेष व्यवस्था गरेको छ। संविधानको धारा ३९(५) ले "कुनै पनि बालबालिकालाई बालविवाह, गैर कानुनी ओसारपसार, अपहरण वा बन्धक राख्न पाइने छैन" भनी स्पष्ट रूपमा बालबालिकाको मौलिक अधिकारलाई सुनिश्चित गरेको छ। यससँगै, सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्यसहित नेपाल सरकारले तयार पारेको राष्ट्रिय रणनीति, २०७२ र दिगो विकास लक्ष्यले बालविवाह न्यूनीकरणको प्रतिबद्धता जनाएको छ।
यसै सन्दर्भमा, बालविवाह अन्त्यका लागि बागमती गाउँपालिकामा परिवर्तनका लागि सहकार्य नेपालको सहकार्यमा एउटा प्रभावकारी रणनीति योजनाको मस्यौदा तयार पारिएको छ। यो मस्यौदा रणनीति श्री तारक धितालको नेतृत्वमा तयार गरिएको हो, जसले बाल अधिकारका क्षेत्रमा ३३ वर्षसम्म काम गर्दै नीति निर्माण, तालिम, र कार्यशालाहरूमा योगदान पुर्याएका छन्। श्री धितालले केन्द्रीय बाल कल्याण बोर्ड र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा कार्यकारी निर्देशकका रूपमा समेत सेवा गरेका छन्।
रणनीति योजनाको मस्यौदा अन्तिम प्रस्तुतिका लागि बागमती गाउँपालिकामा एक विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा गाउँपालिकाका अध्यक्ष श्री वीर बहादुर लोप्चान र उपाध्यक्ष श्री भक्त बहादुर दर्लामी रहेका थिए। गाउँपालिकाका विभिन्न शाखा प्रमुख तथा अन्य ३१ जना सङ्घसंस्था प्रतिनिधिहरूले सहभागिता जनाए।
कार्यक्रममा बालविवाह अन्त्यका लागि रणनीति योजनाको लक्ष्य, उद्देश्य, र कार्यान्वयन प्रक्रियाबारे व्यापक छलफल गरियो। आर्थिक वर्ष २०८५/२०८६ सम्म बागमती गाउँपालिकालाई बालविवाह मुक्त क्षेत्र घोषणा गर्ने महत्त्वाकाङ्क्षी लक्ष्यका साथ रणनीति तयार पारिएको हो।
रणनीति योजनाको अन्तिम प्रस्तुतीकरणपछि, परिवर्तनका लागि सहकार्य नेपालकी कार्यकारी निर्देशक श्रीमती इन्दिरा घलेले यसलाई कार्यान्वयनका लागि गाउँपालिकाका अध्यक्षलाई हस्तान्तरण गर्नुभयो। कार्यान्वयनका लागि आवश्यक प्रतिबद्धता जनाउँदै गाउँपालिकाले यो योजना हालसालै पारित गरेको छ।
रणनीति पारित गरिएपछि, बागमती गाउँपालिकाले यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै बालविवाह अन्त्यका लागि विभिन्न चेतना कार्यक्रम, निगरानी प्रणाली, र कानुनी सहायताका कार्यहरू अघि बढाउने योजना बनाएको छ।
बालविवाह समाजको गम्भीर समस्या हो, जसले बालबालिकाको भविष्यलाई प्रतिकूल असर पुर्याउँछ। यसलाई अन्त्य गर्न सामूहिक प्रयास अपरिहार्य छ। परिवर्तनका लागि सहकार्य नेपालले रणनीति कार्यान्वयनमा गाउँपालिकाको नेतृत्वमा ऐक्यबद्धता जनाउँदै सम्पूर्ण पालिकावासी, बुद्धिजीवी, सम्बन्धित निकाय, र अन्य सरोकारवालाहरूसँग सक्रिय सहभागिता जनाउन अपिल गरेको छ।
रणनीतिक योजनाको सफल कार्यान्वयनले बागमती गाउँपालिकालाई बालविवाह मुक्त क्षेत्र बनाउन मात्र नभई दिगो विकास लक्ष्य हासिल गर्न समेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ। साथै, यसले राष्ट्रिय स्तरमै बालविवाह अन्त्यका लागि उदाहरणीय भूमिका निर्वाह गर्ने विश्वास परिवर्तनका लागि सहकार्य नेपालले लिएको छ।
बागमती गाउँपालिकाले बालविवाह अन्त्यको महत्त्वपूर्ण पहल गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय लक्ष्यप्रति आफ्नो प्रतिबद्धता देखाएको छ। यस रणनीति योजनाको प्रभावकारी कार्यान्वयनमार्फत बालबालिकाको अधिकार सुनिश्चित गर्दै उनीहरूको उज्ज्वल भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।