ललितपुर ,बागमती गाउँपालिका-५, इकुडोल माझखण्डस्थित श्री शारदा शिक्षा सदन माध्यमिक विद्यालय चरम लापरवाही, आर्थिक अनियमितता, र अनुशासनहीनताको केन्द्र बन्दै गएको छ। विद्यालय प्रशासनको गैरजिम्मेवारीपनका कारण विद्यार्थीहरूको भविष्य नै संकटमा पर्न थालेको स्थानीय अभिभावक, विद्यार्थी, र जनप्रतिनिधिहरू बताउँछन्।
विद्यालयमा परीक्षा सञ्चालन गर्ने प्रक्रियामा नै लापरवाही देखिएको छ। नियमानुसार बिहान ११ बजे सुरु हुनुपर्ने परीक्षा १२:४५ बजे मात्र सुरु भयो। सहायक प्रधानाध्यापक राजु दर्लामीले प्रश्नपत्र चापागाउँबाट ल्याउने क्रममा बीच बाटोमै हराएको भन्दै गैरजिम्मेवार जवाफ दिएका छन्। गाउँपालिकाका परीक्षा संयोजक थलप्रसाद तिमल्सिनाले भने प्रश्नपत्र सुरक्षित रूपमा विद्यालय पुर्याउने जिम्मेवारी विद्यालय प्रशासनकै भएको स्पष्ट पारेका छन्।
विद्यालय प्रशासनको आर्थिक पारदर्शिता पनि प्रश्नको घेरामा परेको छ। सामाजिक परीक्षण समयमै नगरिएको, फर्जी बिल-भरपाईका आधारमा आर्थिक अनियमितता भएको आरोप उठेको छ। विद्यालय व्यवस्थापन समितिले समेत यसबारे ठोस जवाफ दिन नसकेको स्थानीयहरूको गुनासो छ।
विद्यालयका प्रधानाध्यापक सुनिता खाती लामा र सहायक प्रधानाध्यापक राजु दर्लामीबीच अस्वाभाविक सम्बन्ध रहेको चर्चा चलेको छ। प्रधानाध्यापक खाती र दर्लामी बिचको सम्बन्धलाई सामाजिक संञ्जालमा हुने क्रियाकलाप बाट पनि प्रस्ट देखिन्छ।त्यसो त कतिपय कुरामा अभिभावक तथा जनप्रतिनिधिहरुले बिधालयमा हुने गतिविधिको गुनासो लिएर जादा बागमती प्रदेश मुख्यमन्त्रीको पावर लगाएर थर्काउने गरेको तथ्य कलियुग मिडियाले फेला पारेको छ।
विद्यालयका कतिपय शिक्षकहरू शिक्षण पेशाभन्दा बाहिरका गतिविधिमा बढी सक्रिय छन्। शिक्षकहरूले कक्षामा ध्यान दिनुको सट्टा मेला र जात्रामा रमाउने गरेका छन्। झन् चिन्ताजनक कुरा के छ भने, ती शिक्षकहरूले विद्यार्थीहरूलाई समेत मदिरा सेवन गर्न उक्साउने गरेको एक विद्यार्थी बताउछन् ।
बागमती गाउँपालिकाका अध्यक्ष वीर बहादुर लोप्चनले विद्यालय प्रशासनको लापरवाही असह्य रहेको बताउँदै छानबिन गरी कडा कारबाही गरिने बताएका छन्। वडाध्यक्षले समेत विद्यालयको व्यवस्थापन सुधार्न कडा कदम चाल्नुपर्ने बताएका छन्।
गत वर्षको एसईई परीक्षामा विद्यालयका कुनै पनि विद्यार्थी उतीर्ण हुन सकेनन्। यदि शीघ्र सुधारका उपायहरू नअपनाइए विद्यालयको अवस्था झन् दयनीय बन्ने निश्चित छ। अब प्रश्न उठ्छ – विद्यालय सुधार्ने कि विद्यार्थीको भविष्य बर्बाद गर्ने? निर्णय अब सम्बन्धित निकायहरूको हातमा छ।
(जनसंवाद डटकम बाट सम्पादित अंसको समाचार )