शिक्षा ज्ञान, नैतिकता, र अनुशासनको आधारशिला हो। कुनै पनि राष्ट्रको भविष्य शिक्षामा निर्भर रहन्छ। तर, वर्तमान अवस्थामा नेपालको शिक्षा प्रणाली मौलिकता गुमाउँदै भौतिकवादतर्फ उन्मुख भइरहेको छ। शिक्षालाई अब ज्ञान प्राप्तिको पवित्र यात्रा होइन, केवल व्यापारिक वस्तुका रूपमा लिइन थालिएको छ। विद्यालय र विश्वविद्यालयहरू शिक्षालाई ज्ञानस्रोत होइन, क्रय-विक्रयको वस्तु बनाउँदै छन्।
गुरु-शिष्य परम्पराले सदियौँदेखि नेपाली समाजमा गहिरो स्थान ओगटेको थियो। 'गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः' भन्ने शास्त्रीय भनाइलाई आत्मसात् गर्दै गुरुलाई सम्मान र श्रद्धा अर्पण गर्ने परम्परा थियो। तर, आधुनिकतासँगै यो संस्कृति धमिलिँदै गएको छ। अहिलेको पुस्ता 'गुड मर्निङ' र 'हाई-हेल्लो' सम्म सीमित हुँदै गुरु-शिष्य सम्बन्धलाई औपचारिकताको खोल ओढाउँदैछ।
शिक्षाका मठमन्दिर मानिएका विद्यालयहरू अब ज्ञानको दीप बाल्ने सन्तरूप गुरुहरूसँग होइन, मोडलिङ, क्याटवाक, र र्याम्प शो जस्ता भौतिक प्रदर्शनसँग परिचित गराउन उद्यत देखिन्छन्। विद्यालय र कलेजहरूमा पठनपाठनभन्दा फेसन परेड, तडक-भडक, र ब्रान्डिङको प्रतिस्पर्धा तीव्र रूपमा बढेको छ। विद्यार्थीहरूको वैचारिक परिपक्वता विकास गर्नुको सट्टा उनीहरूलाई ग्ल्यामर र आकर्षक जीवनशैलीतर्फ आकर्षित गराइँदै छ।
शिक्षा प्रणालीको व्यापारिकरणले समाजलाई ठूलो असर पुर्याएको छ। विद्यालयहरू अभिभावकका लागि एउटा असह्य आर्थिक भार बनेका छन्। अब शिक्षा पाउने अधिकार पनि वर्गीय विभाजनमा सीमित हुन पुगेको छ। जोसँग आर्थिक सम्पन्नता छ, उसले मात्र गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने अवस्था सिर्जना भएको छ। विद्या मन्दिरहरू अब ज्ञानका साधन होइन, व्यापारीहरूको बजार बनेका छन्।
शिक्षाले केवल पाठ्यक्रमका अक्षरहरू पढाउने होइन, संस्कार, नैतिकता, र अनुशासन सिकाउनुपर्छ। पुस्तौं पुस्तासम्म रहन सक्ने ज्ञान प्रदान गर्नुपर्ने विद्यालयहरू अब केवल डिग्रीका लागि प्रतिस्पर्धा गरिरहेका छन्। यदि हाम्रो शिक्षा प्रणालीले मूल उद्देश्य बिर्सेर भौतिक चमक-धमकतर्फ मात्र ध्यान दिन थाल्यो भने भविष्यमा समाज दिशाहीन र नैतिक रूपमा खोक्रो बन्नेछ। अतः शिक्षालाई पुनः मूल मर्मतर्फ फर्काउन आवश्यक छ, जसले समाजलाई सुसंस्कृत, जिम्मेवार, र नैतिकवान नागरिक प्रदान गरोस्।