शिक्षा राष्ट्रको मेरुदण्ड हो भन्ने भनाइ आजको दिनमा पनि उत्तिकै सान्दर्भिक छ। गुणस्तरीय शिक्षा बिना देशको समृद्धि र प्रगति सम्भव छैन। तर, नेपालको शिक्षाक्षेत्रमा समयसापेक्ष सुधारको खाँचो अझै गम्भीर रूपमा देखिन्छ। शिक्षालयहरूमा कार्यरत शिक्षकहरूमा दक्षता, निष्ठा र उत्तरदायित्वको अभाव हुँदै गएको छ। यस्तो अवस्थामा शिक्षाक्षेत्रमा ‘हायर एन्ड फायर’ अर्थात् योग्य व्यक्तिलाई नियुक्ति (हायर) गर्ने र अयोग्य, काम नगर्ने, लापरवाह शिक्षकलाई बर्खास्त (फायर) गर्ने नीति आवश्यक भएको देखिन्छ।
आजको प्रतिस्पर्धात्मक युगमा शिक्षा संस्था मात्र नभई निजी कम्पनी, अन्तर्राष्ट्रिय संस्था, अस्पताल, बैंक आदि धेरै क्षेत्रमा परिणाममुखी कार्यशैली अपनाइएको छ। कर्मचारीको मूल्याङ्कन नतिजा, दक्षता, व्यवहार र योगदानको आधारमा गरिन्छ। तर, शिक्षामा भने ‘एक पटक नियुक्ति भयो भने जिन्दगीभर जागिर सुरक्षित’ भन्ने मनोवृत्तिले लापरवाही बढाएको छ। न पढाउने शिक्षकले पनि तलब र सेवा सुविधा उपभोग गरिरहेका छन्, जुन शिक्षा प्रणालीमै गम्भीर प्रश्न उठाउने विषय हो।
‘हायर एन्ड फायर’ को नीति लागू गर्दा शिक्षकहरूले आफ्नो कामप्रति गम्भीर बन्नेछन्। योग्य शिक्षकको सम्मान हुनेछ भने अयोग्य शिक्षकलाई हटाइँनेछ। यसले शिक्षा क्षेत्रलाई जिम्मेवार, उत्तरदायी र गुणस्तरीय बनाउँछ। विद्यार्थीले राम्रो शिक्षा पाउनेछन्, अभिभावकको विश्वास बढ्नेछ र सम्पूर्ण शिक्षा प्रणालीमा सुधार आउनेछ।
यद्यपि, यो नीति कार्यान्वयन गर्दा मनोमानी हटाउने, राजनीतिक हस्तक्षेप गर्ने वा व्यक्तिगत रिसिइवीको आधारमा शिक्षक हटाउने जस्ता गलत प्रवृत्तिबाट जोगिनुपर्छ। निष्पक्ष मूल्याङ्कन, पारदर्शी प्रक्रिया, शिक्षकको नियमित प्रशिक्षण, प्रोत्साहन र सुधारको अवसर सुनिश्चित गर्न आवश्यक छ।
अन्ततः, शिक्षा क्षेत्रमा ‘हायर एन्ड फायर’ को अवधारणा लागू गर्नु समयको माग हो। यसले शिक्षालाई परिणाममुखी बनाउँछ, योग्य शिक्षकको कदर गर्छ र विद्यार्थीलाई उत्कृष्ट शिक्षा दिन प्रेरित गर्दछ। शिक्षा प्रणालीमा गुणस्तर ल्याउन यो एक साहसी तर आवश्यक कदम हो। सरकार, विद्यालय प्रशासन र शिक्षक संघ-संस्थाले मिलेर यसको उचित कार्यान्वयन गर्नु अहिलेको आवश्यकता हो।