ललितपुर , गोदावरी नगरपालिका–११ मा अवस्थित भ्याली सेकेन्डरी स्कुलले आफ्नो ३४औं स्थापना दिवस तथा अभिभावक दिवस भव्य रुपमा सम्पन्न गरेको छ। उक्त अवसरमा एक विशेष कार्यक्रमको आयोजना गरि विद्यालयले शिक्षा क्षेत्रमा पुर्याउँदै आएको योगदानलाई स्मरण गर्दै विविध प्रस्तुतीमार्फत् विद्यार्थीहरूको प्रतिभा उजागर गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका उप–प्रमुख मुना अधिकारी रहनुभएको थियो। प्रमुख अतिथिका रूपमा उहाँले विद्यालयको निरन्तर प्रगतिमा संस्थापक तथा सम्पूर्ण शिक्षक–शिक्षिका, अभिभावक र विद्यार्थीको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ गुणस्तरीय शिक्षाको आवश्यकता औँल्याउनुभयो।
त्यसैगरी, प्याब्सनका केन्द्रीय उपाध्यक्ष तथा विद्यालयका संस्थापक प्रधानाध्यापक रबिन्स शर्माले भ्याली स्कुलको स्थापना देखिको यात्राबारे विवरण प्रस्तुत गर्दै विद्यालयको भावी योजनाबारे जानकारी गराउनुभयो। उहाँले विद्यालयको सेरोफेरोमा गुणस्तरीय र प्रविधियुक्त शिक्षाको पहुँच विस्तार गर्ने लक्ष्य रहेको बताउनुभयो।
कार्यक्रममा अन्य विशिष्ट अतिथिहरूको रूपमा गोदावरी शिक्षासाखा प्रमुख दिलनाथ पंन्थी, जनभावना क्याम्पसका प्रमुख सिवराज संञ्जेल, वडा नं. ११ का वडा अध्यक्ष निलबहादुर देसार, वडा सदस्य बद्री देसार, विद्यालय व्यवस्थापन समितिका सदस्य रिजना श्रेष्ठ,संचालक समिती सदस्य नवीन जोसि लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। साथै, अभिभावकहरूको उल्लेखनीय सहभागिता कार्यक्रमको आकर्षण बनेको थियो।
कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुतीहरू प्रस्तुत गरेका थिए। शारीरिक नृत्य, सन्देशमूलक नाटक, गायन र कविता वाचनजस्ता प्रस्तुतीले उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध बनायो। परीक्षामा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरूलाई विशेष पुरस्कार तथा प्रमाणपत्र वितरण गरियो। साथै, शिक्षा सेवा आयोगबाट नाम निकाल्न सफल गंगा महर्जन र निराजन घिमिरेलाई विद्यालय परिवारको तर्फबाट सम्मान गरियो।
कार्यक्रमले विद्यालय, अभिभावक, विद्यार्थी तथा स्थानीय समुदायबीचको सम्बन्धलाई थप मजबुत बनाएको सहभागीहरूको प्रतिक्रिया रहेको थियो। कार्यक्रमको अन्त्यमा विद्यालयले सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा अझ उत्कृष्ट कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो।