समाचार

जिल्ला समन्वय समितिको प्रमुखमा फुयाँल,उपप्रमुखमा थिङ्ग निर्बिरोध निर्वाचित

ललितपुर ,नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले जिल्ला समन्वय समिति गठनमा पनि भागबण्डा गरेर तालमेल गरेको छ। स्थानीय तहको निर्वाचनमा तालमेल गरेको सत्ता गठबन्धन दलले आउँदो संघ र प्रदेशको चुनावसम्मै तालमेल गरेर जाने सहमति अनुसार नै जिल्ला समन्वय समिति गठनमा तालमेल भएको कांग्रेसका एक नेताले बताए।

जिल्ला समन्वय समिति गठनमा पनि दलका शीर्ष नेताहरुको निर्देशन अनुसार जिल्ला समन्वय समिति ललितपुरमा कांग्रेस र माओवादीले गठबन्धन गरेर उम्मेदवारी दर्ता गरेका छन्।चार वटा पालिकामा प्रमुख,तीन वटा पालिकामा उप प्रमुख र ७१ वडा मध्ये ३८ वटा वडामा नेपाली कांग्रेसले जीत हासिल गरेको थियो। सोही अनुसार ठूलोको रूपमा नेपाली कांग्रेसले जिसस ललितपुरको प्रमुख पाएको छ भने नेकपा (माओवादी केन्द्र)ले उपप्रमुख पाएको छ।प्रमुखमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरका सह सचिव एवं भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा महाँकाल गाउँपालिका वडा नं ३ बाट अत्यधिक मतका साथ सदस्य पदमा निर्वाचित भएका ऋषिदेव फुयाँल प्रमुखमा निर्विरोध निर्वाचित भएका छन् भने उपप्रमुखमा माओवादी केन्द्रबाट बागमती गाउँपालिकाका रामलाल थिङ निर्वाचित भएका छन्।

त्यस्तै खुल्ला सदस्यमा कांग्रेसका दिनेश घोर्साइने, हरिहर कार्की र माओवादीका साधुराम श्रेष्ठ निर्वाचित भएका छन्। अल्पसंख्यकमा कांग्रेसकै सुबेरबहादुर पहरी,महिला सदस्यमा माओवादी केन्द्रकी शोभा महर्जन,कांग्रेसकी गीता खड्का र शोभा कार्की निर्वाचित भएको नेपाली कांग्रेस ललितपुरका प्रवक्ता सन्तोष राज केसीले जानकारी दिए । उनीहरू सबै निर्विरोध निर्वाचित भएका हुन्। निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई आज जिल्ला निर्वाचन कार्यालयले निर्वाचित भएको प्रमाण पत्र प्रदान र सपथ ग्रहण गराउने भएको छ।श्रोत:मिडिया संचार

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button