समाचार

टेलिभिजनमा ‘बार्गेनिङ पत्रकारिता’, उद्योगी व्यापारी र बैंकलाई ब्ल्याकमेलिङ गरेको भन्दै उजुरी

काठमाडौ , पत्रकार महासंघ चितवन शाखाले ३ वैशाखमा विज्ञप्ति जारी गर्दै ‘बार्गेनिङ पत्रकारिता मौलाएको’ भन्दै त्यसो नगर्न पत्रकारलाई ध्यानाकर्षण गरेको थियो ।

‘‘विज्ञापन नदिए नकारात्मक कुरा प्रसारण गरिदिन्छु भन्दै गैरव्यावसायिका काम गरेको भन्दै औद्योगिक व्यापारिक संस्थाबाट उजुरी आएको छ । तसर्थ पेशागत मर्यादाको ख्याल गरी पत्रकारिता गर्नुहोला’’ चितवन शाखाले भनेको थियो ।

केही पत्रकारले धम्क्याएको भन्दै उजुरी परेपछि चितवन शाखाका सचिव दीपेन्द्र अधिकारीले बाध्य भएर सार्वजनिक रुपमा सूचना प्रकाशन गरेका थिए ।

०००

उद्योगी व्यापारीले प्रायः गुनासो गर्छन्– ‘‘सञ्चार माध्यम तथा सम्वद्ध व्यक्तिले बार्गेनिङ गर्छन्, विज्ञापन नदिए जथाभाबी समाचार लेख्छन् ।’’
यसपटक भने पत्रकार महासंघ चितवन शाखाले नै वक्तव्य जारी गरेपछि ‘बार्गेनिङ’को विषयले झन् चर्चा पाएको छ ।
मिडियाको नियामक निकाय प्रेस काउन्सिल नेपालले पनि ‘मिडियाले बार्गेनिङ गरेको गुनासो आएको’ भन्दै आचारसंहिता विपरीत काम नगर्न सचेत गराउँदै आएको छ ।
केहीअघि काउन्सिलले निकालेको वक्तव्यमा भनिएको थियो, ‘‘प्रचलित कानुन र आचार संहिता विपरीत पत्रकारिताको दुरुपयोग गर्दै समग्र प्रेसलाई धुमिल्याउने त्यस्ता गतिविधि नगर्न र नगराउन तथा हुन नदिनेतर्फ प्रेस काउन्सिलले सजगता अपनाउन सम्बद्ध सबैको ध्यानाकर्षण गराउनु चाहन्छौँ ।’’

०००
पत्रकार महासंघ चितवन शाखा र प्रेस काउन्सिलको वक्तव्यले नेपाली मिडियामा विज्ञापनका लागि ‘बार्गेनिङ’ गर्ने र तथ्यहीन समाचार लेख्ने प्रवृत्तिको पुष्टि गरिरहँदा उस्तै प्रकृतिको घटना भएको उजुरी पत्रकार महासंघ केन्द्रीय कार्यालयमा परेको छ ।

विज्ञापन नदिने उद्योग बैंकलगायतका संस्थाका बारेमा तथ्यहीन सामग्री प्रकाशन र प्रसारण गर्न टेलिभिजन सञ्चालकबाट दबाब आएको र थेग्न नसकेको भन्दै समाचार शाखाको नेतृत्व गरेकै ‘न्यूज चिफ’बाटै उजुरी परेको हो ।

यी घटनाले मिडियाको विश्वसनीयतामा प्रश्न लगाइदिएको छ । आमजनले मिडियामा आउने सामग्री सही हुन् वा होइनन् भनेर सोच्नुपर्ने अवस्था सिर्जना भएको पछिल्लो घटना भने ‘बाग्मती टेलिभिजन’को हो ।

त्यहाँका तत्कालीन समाचार प्रमुख (हालै काम छाडेका) पत्रकार चेतन पाण्डेले ‘‘ टेलिभिजनलाई ‘कमाऊ धन्दा’ बनाउन गलत समाचार प्रकाशन÷प्रसारण गरेर व्यक्ति र संस्थाको चरित्र हत्या गर्ने, बार्गेनिङ गर्ने, धम्क्याउने जस्ता गैर–व्यावसायिक काम भएको र केही ठाउँबाट पैसा समेत असुल गरेको आरोप लगाएका छन् ।

आफू त्यो धन्दामा सहभागी हुन नमानेपछि केही महिनाको तबल र शेयरबापतको पैसा समेत नदिएको गुनासो गर्दै उनी पत्रकार महासंघलाई गुहार्न पुगेका छन् ।
२०८० साउन असारयता ८ महिनाको तलब नपाएको भन्दै र दिने भनेको १० प्रतिशत शेयरको पैसा नदिएको उनको भनाइ छ ।
बाग्मती टेलिभिजन मकवानपुर हेटौँडामा वाबा वैद्यनाथ खाद्यान्न भण्डार तथा अन्य व्यवसाय सञ्चालन गर्दै आएका सुदर्शन खरेललगायतको हो । काभ्रेका खरेल सो कम्पनीमा अध्यक्ष र प्रबन्ध निर्देशक छ ।
उनले गोदावरी स्टिल कम्पनीका साझेदारसमेत रहेका मकवानपुर हेटौँडाका शुसिप्रसाद सिनुरिया बनियाँसँग मिलेर टेलिभिजन चलाइरहेका छन् । बागमती टेलिभिजन नेटवर्क प्रा.लि. कम्पनीले चलाएको टेलिभिजनको कार्यालय काठमाडौंको रातोपुलमा छ ।

३ दशक लामो पत्रकारिता गरेको पाण्डे २ महिनाअघिसम्म बागमती टेलिभिजनमा समाचार प्रमुख थिए । तर, सञ्चालकको दबाब आफूले नमानेको उनले बताएका छन् ।
पत्रकार महासंघमा परेको ९ पेज लामो उजुरीमा अध्यक्ष खरेल र सीइओ मनोज न्यौपानेले व्यापारी, उद्योगपति, बैंकर, नेता, कर्मचारीलाई तर्साउने र ब्ल्याकमेलिङ गर्न मिल्ने कार्यक्रम उत्पादन र प्रसारण गर्न थप दबाब दिएको आरोप लगाइरहेको छ । आफूलाई गुमराहमा पारेर केही त्यस्ता कार्यक्रम पनि टेलिभिजनबाट प्रसारण गरिएको र पैसा असुलिएको समेत पत्रकार पाण्डेले खुलासा गरेका छन् ।

अध्यक्ष र सीइओ दुई जनाको मिलेमतोमा केही व्यक्तिसँग रकम उठाइएको पनि सुनेको उल्लेख गर्दै पत्रकार पाण्डेले उजुरीमा लेखेका छन्,
‘‘उता, अध्यक्ष खरेल (सुदर्शन खरेल)र सीइओ न्यौपाने (मनोज न्यौपाने)ले मलाई व्यापारी, उद्योगपति, बैंकर, नेता, कर्मचारीहरूलाई ब्ल्याकमेलिङ गर्ने खालका समाचार तथा रिपोर्ट बनाउन दबाब दिन पनि सुरु गरे । मैले पत्रकारिताको धर्म बाहिर गएर कुनै पनि हालतमा त्यस्तो काम नगर्ने अडान लिएपछि म विरुद्ध षडयन्त्रको सुरुवात भयो । त्यसको गन्ध पाएरै निर्माण कार्य समेत पूर्ण रुपमा सम्पन्न नहुँदै मैले २०८०।०६।०३ गतेदेखि बागमती टेलिभिजनको लोगो परिवर्तन गर्दै न्युज च्यानलका रुपमा नयाँ शैलीमा सञ्चालन गर्न थालेँ । म स्वयंले पनि इनफ इज इनफ नामक कार्यक्रम साताको ६ दिन सञ्चालन गर्न थालेँ । त्यससँगै बागमती टिभीको लोकप्रियतामा केही सुधार आउन समेत थालेको थियो । नयाँ शैलीमा प्रसारण हुन थालेपछि बागमती टेलिभिजनले आफूलाई स्थापित गर्न सक्ने केही छाँट देखिइरहेको त्यो अवस्थामा अध्यक्ष खरेल र सीइओ न्यौपानेले ममाथि व्यापारी, उद्योगपति, बैंकर, नेता, कर्मचारीलाई तर्साउने र ब्ल्याकमेलिङ गर्न मिल्ने कार्यक्रम उत्पादन र प्रसारण गर्न थप दबाब बढाउन थाले । सीइओ न्यौपाने कै पहलमा र मलाई गुमराहमा पारेर एकाध वटा त्यस्ता कार्यक्रम पनि बागमतीमा प्रसारण गरियो । अध्यक्ष र सीइओ दुई जनाको मिलेमतोमा केही व्यक्तिसँग रकम उठाइएको पनि सुनेको थिएँ ।’’

ऋण नपाएपछि बैंकलाई ब्ल्याकमेलिङ

खाद्यान्न, जग्गा दलाली तथा अन्य कमाऊ व्यवसाय गरेर नाफा कमाउन पल्किएका खरेलको व्यवसाय पछिल्लो समय चौपट छ ।

जानकारका अनुसार टेलिभिजनका अध्यक्ष खरेलले व्यवसायको लागि बैंकबाट ५० औँ करोड ऋण लिएको र तिर्नको लागि अनेक बैङ्कमा ऋण लिन खोज्दा पाइरहेका छैनन् । एकपछि अर्को बैंकले ऋण नपत्याउँदा नेपाल राष्ट्र बैङ्क र सम्बन्धित बैंकविरुद्ध समाचार खोज्न उर्दि जारी गर्ने गरेको उजुरीमै उल्लेख छ ।

उजुरीमा छ, ‘‘कार्यक्रम तथा समाचार उत्पादनको जिम्मा आफूसँग भएकै कारण मैले सधैँ उनको उर्दिलाई बेवास्ता गरेँ । अनि पत्रकारिताको धर्म र नैतिकताबाट बाहिर गएर टेलिभिजन सञ्चालन गर्ने विषयमा मैले कहिल्यै सहमति जनाइन ।’’

आफूले ब्ल्याकमेलिङ गर्न नमानेपछि सीइओ न्यौपानेको सल्लाहमा अध्यक्ष खरेलले बारम्बार ‘इनफ इज इनफ ’कार्यक्रम संचालनको जिम्मा समेत अन्य व्यक्तिलाई दिन खोजेको पाण्डेले बताएका छन् ।

‘‘सोही कार्यक्रममार्फत बैङ्क, व्यापारी उद्योगपतिलाई ब्ल्याकमेलिङ गर्न बारम्बार आग्रह गरिरहे । उनीहरु मलाई सधैँ नै टेलिभिजन इमानदार व्यक्ति र इमान्दारितापूर्वक चलाउन सकिँदैन भन्ने बताउने गर्थे । अरूलाई नठोकि टेलिभिजन सञ्चालन गर्छु भन्नु मूर्खता मात्र हो भन्ने बलियो धारणा उनको थियो । शायद अहिले पनि त्यही नै छ होला । तर, मैले ३ दशकभन्दा लामो समयसम्म निभाएको पत्रकारीताको धर्मलाई एउटा व्यक्तिको हठ वा एउटा संस्थाको मालिक बन्ने लालचमा त्याग्नु हुँदैन भन्ने थियो र त्यागिन पनि ’’ पत्रकार महासंघमा दर्ता भएको उजुरीमा भनिएको छ ।

बैङ्क, व्यापारी उद्योगपतिलाई ब्ल्याकमेलिङ गर्न बारम्बार दबाब दिँदा समेत आफूले नमानेका कारण अन्तमा शेयरबापत पाउनुपर्ने पैसा र पारिश्रमिक समेत नदिई टेलिभिजन बेचिएको पत्रकार पाण्डेको गुनासो छ ।

०००

यस्ता घटना पत्रकारिताको विश्वसनीयता माथिको ठुलो शङ्का रहेको भन्दै ‘समाजको ऐना’ का रुपमा रहेको प्रेसमाथि लागेको ‘कालो धब्बा’ भएको जाकनारहरुको टिप्पणी छ ।

उनीहरु भन्छन्, ‘‘यस्ता ‘बार्गेनिङ पत्रकारिता’ गर्ने काम, कर्तव्यच्यूत भएर व्यापारिक स्वार्थका लागि तथ्यहीन समाचार प्रवाह हुनु प्रवाह गर्न न्यूजरुमलाई दबाब दिनु पत्रकारिताको विश्वसनीयता माथिको ठुलो शङ्का हो । साथै, ‘समाजको ऐना’ का रुपमा रहेको प्रेसमाथि लागेको ‘कालो धब्बा’ पनि हो ।’’

Related Articles

Back to top button