अर्थतन्त्रसमाचार

दुई महिनामा उनन्चालिस अर्बको इन्धन आयात

दुई महिनाको अवधिमा चार लाख किलोलिटर पेट्रोलियम पदार्थ आयात भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको दुुई महिना (साउन, भदौ) मा इन्धन (डिजेल, पेट्रोल, मटितेल, हवाई इन्धन, ग्यास) को आयात १९ प्रतिशतले बढेर ३९ अर्ब १२ करोड रुपियाँ बराबरको चार लाख १९० किलोलिटर इन्धन आयात भएको हो ।

अघिल्लो वर्ष सो अवधिमा तीन लाख ८९ हजार ८२० किलोलिटर इन्धन आयात भएको थियो । बजारमा इन्धनको खपत बढेसँगै आयातमा वृद्धि भएको हो । नेपाल आयल निगमको तथ्याङ्क अनुसार दुई महिनाको अवधिमा सबैभन्दा धेरै डिजेल एक लाख ७० हजार १११ किलोलिटर आयात भएको छ । यस्तै पेट्रोल एक लाख १३ हजार ३०४, हवाई इन्धन २६ हजार ८८४ किलोलिटर आयात भएको छ । यस्तै मटितेल एक हजार ६२० किलोलिटर र खाना पकाउने एलपी ग्यास ८८ हजार २७१ मेट्रिक टन आयात भएको छ । गत वर्षको तुलनामा डिजेल, पेट्रोलको आयात सामान्य बढे पनि हवाई इन्धन र ग्यासको आयात उच्च छ ।

हाल मासिक बजारमा ५१ हजार १४६ किलोलिटर पेट्रोल, एक लाख दुई हजार २०७ किलोलिटर डिजेल, हवाई इन्धन १५ हजार ६४ किलोलिटर, मटितेल ८९९ किलोलिटर र ग्यास ४२ हजार १०५ मेट्रिक टन खपत हुने गरेको छ ।

 

Related Articles

Check Also
Close
Back to top button