अर्थतन्त्रसमाचार

घट्यो दुग्धजन्य पदार्थहरुको मूल्य

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुध तथा दुग्धजन्य पदार्थहरुको मुल्य कटौती गरेको छ ।

मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री डा. बेदुराम भुसालले दुग्ध विकास संस्थानबाट उत्पादित दुग्धजन्य पदार्थहरुमा सहुलियत दरमा आम उपभोक्ताहरुलाई उपलब्ध गराउने उदेश्यले मुल्य कटौती गरिएको जानकारी दिए ।

मन्त्रालयका अनुसार स्ट्यान्डर्ड दुध १ लिटरमा २ रुपैँयाले कटौती गरिएको छ । यसअघि ९७ रुपैयाँ प्रतिलिटर रहेको स्ट्यान्डर्ड दुधको मूल्यमा २ रुपैयाँ कटौती गर्दै ९५ रुपैँया कायम गरिएको हो ।यस्तै दहीमा २० रुपैयाँ कटौती गर्दै १ सय ७० प्रति लिटर कायम गरिएको छ । पनिरमा १ सय रुपैयाँ कटौती गर्दै ९ सय कायम गरिएको छ । नौनीमा प्रति किलो १ सय कटौती गर्दै १ हजार कायम गरिएको छ ।

टेबल बटर २५० ग्रामको ४ सय मूल्य रहेकोमा ५० रुपैयाँ कटौती गरिएको छ । घिउ प्रतिलिटर ११ सयमा उपलब्ध हुनेछ भने मिठाइमा प्रति प्याकेट १० रुपैयाँ, याक नौनी प्रति किलो १ सय ५०, याक चीज ५ सय ग्राममा ५० र फ्रेस मिल्क २ सय मिलिलिटरमा ७ रुपैयाँ कटौती गर्दै ७५ कायम रहेको मन्त्रालयले जनाएको छ ।सो क्रममा म्याद गुज्रेका तथा प्रतिकूल गरी करिब दुई लाख बराबरको सामग्री जफत गरी नष्ट गरी कारबाही गरिएको मन्त्रालयले जनाएको छ ।

यस्तै खाद्य ऐन प्रतिकूल उत्पादन गर्ने २ वटा उद्योग सिलबन्दी गरी कारबाही तथा खाद्य ऐन तथा दाना पदार्थ ऐन प्रतिकूल नमुनाउपर १९ वटा मुद्दा दायर गरिएको जनाइएको छ ।

मन्त्रालयले पशुपन्छी, पशुपन्छीजन्य बजार अनुगमन तथा कार्ययोजना पनि तयार गरेको छ । जसअनुसार बजार अनुगमन कार्ययोजना एव‌ं टिम व्यवस्थापन, चेकपोष्ट-नाका स्थापना, पशु स्वास्थ्य परीक्षण एव‌ं नमुना संकलन, प्राविधिक जनशक्ति परिचालन, लजिस्टिक व्यवस्थापन, जनचेतना अधिवृद्धि कार्यक्रम-मिडिया बिफ्रिङ गरिएको जनाइएको छ ।

यसको अनुगमन गर्नका लागि काठमाडौं उपत्ययकाका कलंकी खसी बजार र आसपासका क्षेत्र, धापाखेल र चापागाउँ खसी बजार, टुकुचा खसी बजार र खाद्य संस्थान, थापाथली, टोखा, सुकेधारा, कपन, लोकन्थली खसीबजार, सल्लाघारी च्याङ्ग्रा बजार, चोभार, चाल्नाखेल राँगा बजार, चन्द्रागिरी (थानकोट-दहचोक-दाउरा डिपो), बालाजु, बाइपास खसी बजार, कलंकी-कालिमाटी-बल्खु माछा बजार, मूलपानी चौर लगायतका स्थानमा ५८ जना जनशक्ति परिचालन गरिएको छ ।

विभागले असोज २८ गते ३ हजार ३ सय २२ खसी, ३ सय ८४ बोका, १४ बाख्रा, ४९ राँगाभैसी, र ४ सय ६६ च्याङ्ग्रा गरी जम्मा पशु ४ हजार २ सय ८४ र माछा ५ सय किलोको बजार अनुगमन तथा स्वास्थ्य परीक्षण गरिएको छ ।पशु स्वास्थ्य परीक्षण एव‌ं नमूना संकलनका लागि स्वास्थ्य परीक्षणको समय बिहान ७ देखि १० तथा दिउँसो २ देखि ५ बजेसम्म रहने मन्त्रालयले जनाएको छ ।

स्वस्थ पशुलाई हरियो रंगले चिनो लगाउने, बिरामी/रोगी पशुलाई रातो चिनो लगाउने र तुरुन्तै समूहबाट आइसोलेट गर्न लाउने एव‌ं बिक्रीवितरणमा रोक लगाउने तथा उपचारको लागि सल्लाह दिने एवं रोगको यकिन गर्न नमुना संकलन गर्ने कार्य भइरहेको छ ।

Related Articles

Back to top button