समाचार

गणेशप्रसाद तिमिल्सिना र बेल्जियम सिनेटका सभामुख स्टेफिन डि होर्सबीच भेटवार्ता

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेल्जियम सिनेटका सभामुख स्टेफिन डि होर्सबीच भेटवार्ता भएको छ ।

अन्तरव्यवस्थापिका सङ्घ (आइपियु) को १४७ औं महासभाका क्रममा एङ्गोलाको राजधानी लुवाण्डामा बिहीबार दुबैजनाबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र बेल्जियमबीचको आपसी सम्बन्ध सद्भाव, विश्वास र पारस्परिक सम्मानले सम्बन्ध प्रगाढ रहेको बताउनुभयो ।

दुवै मुलुकले अन्तर्राट्रिय मञ्चहरुमा साझा धारणा राख्दै आएको उहाँले स्मरण गनुभयो । उहाँले बिभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा एकअर्का देशलाई समर्थन गर्दैआएको कुरामा जोड दिंदै बेल्जियमले नेपालको विकास प्रयासमा विभिन्न दातृ निकायमार्फत गरेको योगदानका लागि धन्यवाद दिनुभयो ।नेपाल र बेल्जियमबीचको सम्बन्ध प्रगाढ बनाउन दुई देशका संसदको महत्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो । नेपालमा हिमाल आरोहण र पदयात्रा पर्यटनमा बेल्जियमका नागरिकका बीचमा लोकप्रिय भएकाले उल्लेख्य सङ्ख्यामा पर्यटकलाई नेपाल आउने वातावरण बनाउन सक्दा त्यसबाट नेपालको आर्थिक र सामाजिक क्षेत्रमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

भेटवार्ताका क्रममा बेल्जियमकी सभामुख स्टेफिन डि होर्सले नेपाल र बेल्जियमका बीचमा धेरै समनताहरु रहेको बताउँदै जलवायु परिवर्तनको असर कम गर्न र मानवअधिकारको प्रवर्धन गर्न सहकार्य गर्न सकिने बताउनुभयो । कोभिडका समयमा नेपालमा सहयोग गरेको स्मरण गर्दै जलवायु परिवर्तनबाट हुने प्राकृतिक विपत्तिका घटना कम गर्न आगामी दिनमा सहयोग गर्दै जाने प्रतिबद्धता पनि जनाउनुभयो ।

Related Articles

Back to top button