समाचार

चिनियाँ कम्पनीसँगको ठेक्का रद्द गर्दै मेलम्ची खानेपानी

सरकारले मेलम्ची खानेपानी आयोजनाको काम गर्ने ठेकेदार चिनियाँ कम्पनीसँग ठेक्का रद्द गर्ने भएको छ ।

खानेपानी मन्त्रालयअन्तर्गतको मेलम्ची खानेपानी विकास समितिले चिनियाँ कम्पनी सिनो हाइड्रोसँग ठेक्का रद्द गर्ने भएको हो । काठमाडौँ उपत्यकावासीलाई खानेपानी नआइरहेको बेला खानेपानी मन्त्री महेन्द्रराय यादव त्यसको अनुगमनमा मेलम्ची पुगेका छन् । मन्त्री यादव दुई दिनदेखि त्यही मेलम्चीमा रहेका छन् ।काठमाडौँ उपत्यकालाई पानी पठाउन सिनो हाइड्रोको लापरबाही देखिएको कारण ठेक्का तोड्न लागिएको बताइएको छ । खानेपानी मन्त्रालयका सचिव रामआधार साहले ठेकेदार कम्पनीले विभिन्न बहाना गरेर मर्मतको काम नसकाएको कारण पानी पठाउन नसकिएको बताए ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जाकिर अहमद अन्सारीले पनि ठेक्का रद्द गर्ने विषयमा छलफल चलिरहेको बताए । उनले भने, ‘अहिले हामी छलफलमै छौँ, केही दिनमा यसको टुङ्गो लाग्छ ।’सिनो हाइड्रो कम्पनीले मेचम्चीमा इन्टेक र सुरुङको गरी दुइटा ठेक्का पाएको छ । उसको दुवै गरी १० करोड धरौटी रहेको छ । त्यही धरौटी फिर्ता लिनका लागि कम्पनीले सरकारलाई दबाब दिइरहेको छ ।

आयोजना निर्माण गरेको कम्पनीले नै मर्मत सम्भार गर्नुपर्ने सम्झौतामा उल्लेख छ तर सिनो कम्पनीले मर्मत सम्भार गर्न नचाहेको दाबी गरिएको छ ।

Related Articles

Back to top button