राजनीतिसमाचार

चाँडै मिसन ८० सार्वजनिक गर्छौं : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चाँडै मिसन ८० सार्वजनिक गर्ने बताएका छन् । शनिबार रास्वपा काठमाडौँ क्षेत्र नम्बर ९ ले नैकापमा आयोजना गरेको खुला सभामा लामिछानेले रास्वपाको मिसन ८४ मा दलहरूको आँखा लागेकाले चाँडै मिसन ८० सार्वजनिक गर्ने बताएका हुन् ।

उनले मिसन २०८४ लाई जनताले साथ दिए एकैपटक बेतिथिलाई अन्त्य गर्न सक्ने दाबी समेत गरे । उनले मिसन २०८४ मा अन्य दलको दावा हो भने ८४ सम्म रास्वपालाई सरकार चलाउन दिए ८४ मा प्रचार नगरी निर्वाचन लड्ने जिकिर गरे । उनले हरेक दिन एउटा एउटा काण्ड आउने गरेकाले विरोध र आन्दोलन गरेर साध्य नहुने बताए ।

लामिछानेले रास्वपा एक्लै निर्वाचन लड्ने भन्दै अन्य दलहरूले आगामी राष्ट्रिय सभा निर्वाचनमा एक्लै चुनाव लड्ने आट गर्न नसकेको जिकिर गरे । ठूला भनिएका दलहरूले मदन-वीपीको नाम बेच्ने गरेको बताउँदै लामिछानेले आफूहरूसँग सुशासनको एजेण्डा मात्र भएको बताए ।

सभापति लामिछानेले नेताहरूले आफन्तलाई भागबन्डा गरेर देश डुबाएको आरोप लगाउँदै अब ठूला दलका कुनै नेताले देश बनाउँछ भनेर विश्वास गर्न नसकिने धारणा राखे ।

उनले आगामी निर्वाचनमा जनताले चुनेरै पठाएका व्यक्तिलाई उम्मेदवार बनाउने घोषणा गर्दै आफ्नै एजेण्डा र मुद्दा बोकेर अगाडि बढ्ने स्पष्ट पारे ।

Related Articles

Back to top button