खेलकुदसमाचार

पुरुष क्रिकेटको उपाधि स्याङ्जालाई

स्याङ्जाले गण्डकी प्रदेश पिएम कप पुरुष एकदिवसीय क्रिकेट छनोट प्रतियोगिताको उपाधि जितेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा तनहुँलाई ८१ रनले हराउँदै स्याङ्जाले उपाधि हात पारेको हो । टस जितेर ब्याटिङ रोजेको स्याङ्जाले ३९ ओभर खेल्दै १० विकेटको क्षतिमा १८२ रन जोडेको थियो । १८३ रनको विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रेको तनहुँ २७.४ ओभरमा अलआउट हुँदै १०१ रनमा समेटियो ।

स्याङ्जाको जितमा ओपनर करण पंगेनीले अर्धशतक पूरा गर्ने क्रममा ९६ बलमा नौ चौका र तीन छक्कासहित ८२ रन जोडेका थिए । मिलन क्षेत्रीले १७ बलमा पाँच चौकाको सहयोगमा २७ रनको योगदान दिए । अर्का ओपनर ईश्वर क्षेत्रीले २१ बलमा दुई चौकासहित १३ र अंकित न्यौपानेले २६ बलमा १२ रन जोडेका थिए । टोलीका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । तनहुँका ओपनर समिर कँडेलले ४१ बलमा चार चौकाको सहयोगमा २७ रन जोडे ।

उत्सव श्रेष्ठले ५० बलमा तीन चौका सहित २६ र प्रदीप अर्यालले दुई चौका र एक छक्कासहित १४ रन बनाए ।

Related Articles

Back to top button