समाचार

मेयर चिरिबाबुको सहरबाट स्काउट बेपत्ता

ललितपुर ,सामाजिक हितका लागि सञ्चालित नेपाल स्काउटलाई मानव तस्करीको माध्यम बनाइएको खुलासा भएको छ ।पछिल्लो समयमा ललितपुर माहानगर स्काउट बाट वर्ल्ड स्काउट ज्याम्बुरी’ (विश्व स्काउट उत्सव)मा उडेकी रोसिला राई कोरियामै बसेकी छिन ।

प्रत्येक ४ वर्षमा हुने ‘वर्ल्ड स्काउट ज्याम्बुरी’ (विश्व स्काउट उत्सव) कार्यक्रमलाई मानव तस्करी गर्ने माध्यम बनाउने गरिएको पाइएको हो । कलियुग न्युजलाई प्राप्त प्रमाणअनुसार स्काउट उत्सवमा सहभागी गराउन भन्दै उत्सव आयोजना हुने देशमा नेपालीलाई लैजाने र अवैध रुपमा छोड्ने गरिएको पाइएको छ । स्काउटलाई माध्यम बनाएर सम्बन्धित देशमा पुगेर लुक्नेहरुले त्यहाँ अवैध आप्रवासीका रुपमा रोजगारी गरेर बस्ने गरेको खुलेको हाे ।

प्रमाण अनुसार सन् २०२३ अगष्ट १ देखि १२ सम्म कोरियामा भएको पछिल्लो वर्ल्ड स्काउट ज्याम्बुरीमा सहभागी हुन पुगेका ४ जनालाई कोरिया पुर्‍याएर अवैध रुपमा लुकाइएको पाइएको हो । उक्त कार्यक्रममा भाग लिन १६८ जना नेपाली कोरिया पुगेका थिए । ती मध्ये ५९ जना व्यस्क र १०५ जना स्कुले बालबालिका थिए । व्यस्क मध्ये ४ जना भने कोरियामै अवैध आप्रवासी कामदारका रुपमा लुकेर बसेका हुन् ।

उक्त स्काउट उत्सवलाई माध्यम बनाई कोरिया पुगेर अवैध रोजगारीका लागि लुक्नेहरुमा दोलखा जिल्लास्थित एक विद्यालयका प्रधानाध्यापक सचिन ठोकर, काभ्रेको तेमाल गाउँपालिकाका स्काउट संयोजक पाल्देन तामाङ, कैलालीकी मेघाकुमारी रेउले र ललितपुरकी रसिला राई रहेका छन् । यी मध्ये रसिला राईले रोजगारीका लागि कोरिया जान पटक पटक प्रयास गरे पनि सकेकी थिइनन् ।

वैदेशिक रोजगारीमा जान तथा विदेश भ्रमणमा जान तीव्र चाहना देखाइरहेकाहरुलाई स्काउटको सदस्य बनाउने र स्काउट उत्सवमा सहभागी गराउने भन्दै विदेश लगेर छोड्ने विकृती नेपाल स्काउटमा देखिएको छ । यसमा मोटो रकमको चलखेलसमेत हुने गरेको खुलेको छ ।

Related Articles

Back to top button