राजनीतिसमाचार

अपराध गर्नेलाई समात्दा अनावश्यक दबाव आएको भन्दै गृहमन्त्री श्रेष्ठको असन्तुष्टि

गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराध गर्ने नेता, कर्मचारी र व्यवसायीलाई कारबाही गर्दा दबाब आउने गरेको बताएका छन्।

‘कुनै अपराधको काममा, ठगीको काममा, जालसाजीमा, लुटमा कोही राजनीतिक पृष्ठभूमिका मान्छे पक्राउ परे भने राजनीतिक पार्टीका मान्छे कराउन थाल्छन्, यो त हाम्रो नेता हो, हाम्रो पार्टीको हो, गठबन्धनको हो, प्रतिपक्षको हो भनेर,’ उनले भने।अपराधमा संलग्न कर्मचारीलाई कारबाही गर्दा कर्मचारी संगठन र व्वयसायीलाई कारबाही गर्दा पनि दबाब आएको उनले बताए।

‘यो देशका कर्मचारीले गल्ती गरेर कारबाही गर्न थाल्यो भने कर्मचारी कराउन थाल्छ, कर्मचारीलाई त्यसो गर्न भएन नि भनेर कर्मचारी संगठन आउँछ,’ उनले भने, ‘गल्ती अपराध गर्ने व्यवसायीलाई कारबाही थाल्यो भने वक्तव्यबाजी सुरू हुन्छ।’

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बिहीबार व्यवसायी अरूण चौधरीलाई पक्राउ परेको थियो। सरकारी जग्गा हडपेको आरोपमा चौधरी पक्राउ परेपछि उद्योगी, व्यवसायीले अपराध प्रमाणित नहुँदै अपराधीलाई जस्तो व्यवहार गरेको भन्दै विरोध जनाएका थिए।

गृहमन्त्री श्रेष्ठले निजी क्षेत्रको साथ र सहयोगबाट मात्र देशको अर्थतन्त्र सुधार हुने भन्दै अपराध गर्ने छुट कसैलाई नभएको बताए।

‘कसैलाई पनि जालसाजी गरेर ठग्ने छुट दिन सकिँदैन, अपराध गर्ने छुट दिन सक्दैनौं,’ उनले भने।

Related Articles

Back to top button