समाचार

बारामा शिक्षक-कर्मचारी र प्रहरीबीच झडप, हवाई फायर

बाराको सिम्रौनगढ नगरपालिकामा आन्दोलनरत शिक्षक–कर्मचारी र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा एक जना घाइते भएका छन् ।

प्रहरीले झडपलाई नियन्त्रणमा लिन हवाई फायर गर्दा घाइते भएका एक जनालाई उपचारका लागि नारायणी अस्पताल पुर्‍याइएको छ । नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूले लामो समयदेखि तलब नपाएको भन्दै दुई महिनायता आन्दोलन गर्दै आएका छन् ।नगरपालिकामा नगरसभाका विषयमा भएको जनप्रतिनिधि बीचको विवादले कर्मचारीहरूले तलबभत्ता समेत पाउन सकेका छैनन् ।

आज नगरपालिका कार्यालय पुगेका मेयर किशोरी साह कलवार र प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई आन्दोलनरत कर्मचारी र शिक्षकले आक्रमणको प्रयास गरेका थिए । उनीहरूले मेयरको गाडीमा तोडफोड समेत गरिएको थियो ।सोही क्रममा प्रहरी र आन्दोलनरत कर्मचारी र शिक्षकहरूबीच ठेलमठेलको समेत स्थिति सिर्जना भएको थियो, प्रहरीले लाठीचार्ज गरेर स्थिति नियन्त्रणमा लिएको थियो ।

तर पछि आन्दोलनकारीहरूले थप दबाब बढाएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन टियर ग्यास र हवाई फायर गरेको एसपी सुरेन्द्रप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

Related Articles

Back to top button